काठमाडौँ- संसदीय जिम्मेवारीमा नरहे पनि केही नेतृहरू पार्टी राजनीतिमा सक्रिय देखिएका छन्। निर्वाचनमा पराजित भएका उनीहरू संगठन सुदृढीकरण र जनताका आवाजलाई नेतृत्वसम्म पुर्याउन व्यस्त भएका हुन्।
पार्टीको संगठन विस्तारका साथै जनताका आवाज सुनेर सरकार र नेतृत्वको ध्यानाकर्षण गराउन व्यस्त नेतृहरू हुन्- मानुषी यमि भट्टराई, रञ्जु दर्शना, पुष्पा भुसाल, डिला संग्रौला र शान्ता चौधरी। उनीहरूको खटाइ उदाहरणीय छ।
महिलाका मुद्दामा जोड दिँदै आएका उनीहरू दलको नेतृत्वमा महिला पुग्न नसकेकोमा चिन्तित छन्। सामाजिक संरचना र पुरुषसत्तात्मक सोचकै कारण दलमा अगाडि बढ्न कठिन भएको बुझाइ उनीहरूको छ। यद्यपि संघर्ष गरेरै भए पनि समानताका लागि आवाज उठाइरहने उनीहरू बताउँछन्।
आफूहरूको मूल चासो नेतृत्वमा महिलालाई स्थापित गराउनु रहेको उनीहरू बताउँछन्। त्यसका लागि सजिलो भने नरहेको उनीहरूको धारणा छ। जनताका मुद्दालाई अघि सार्न सांसद नै बन्नुपर्छ भन्ने नरहेको ती नेतृहरू बताउँछन्। राजनीति सत्ताकेन्द्रित हुँदा जनताका मुद्दा ओझेलमा परेको गुनासो उनीहरूको छ। चुनावमा पराजय भए पनि जनजीविकाका सवाल उठाइरहेका नेतृहरूको संविधान संशोधनमा पनि उत्तिकै चासो छ।
विधान अधिवेशन र महाधिवेशनको तयारीमा व्यस्त मानुषी
नेपाल समाजवादी पार्टी (नेसपा) प्रचारप्रसार तथा सूचना प्रविधि विभाग प्रमुख मानुषी ०७९ मंसिरको चुनावमा काठमाडौँ-७ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन्। उनी यति बेला सांगठनिक गतिविधिमा व्यस्त छिन्।
कात्तिक १ र २ गते कास्कीमा हुने पार्टीको विधान अधिवेशन र माघमा हुने महाधिवेशनको तयारीमा व्यस्त रहेकी मानुषी भन्छिन्, ‘राजनीतिसँगै हरेक तह र तप्कामा महिलाको प्रतिनिधित्व संख्यामा भन्दा अब गुणस्तरमा ध्यान दिनुपर्ने बेला भएको छ। हाम्रो ध्यान त्यसमा जानुपर्छ।’
महिलालाई विभिन्न क्षेत्रमा वञ्चित गरिएकै कारण अगाडि आउन समय लाग्ने मानुषीको भनाइ छ। ‘गएको दशकमा हामीले तीव्र आफ्नो उपस्थिति जनाएकै हौँ। अब गुणात्मक उपस्थिति हुनपर्यो, संख्यात्मक उपस्थितिको मात्र भएन, आलंकारिक उपस्थिति हो या साँच्चिकै उपस्थिति हो? फरकपन ल्याउन हाम्रो उपस्थिति हो भन्नेमा हामी जानुपर्छ,’ उनले भनिन्। आफू यसकै लागि खटिइरहेको जानकारी मानुषीले दिइन्।
सत्ताकै कारण देशको राजनीति संकटमा भएको मानुषीको विश्लेषण छ। उनी भन्छिन्, ‘अहिले राजनीति संकटमा छ। म्युजिकल चियरजस्तो घुमाइफिराइ सत्ताकेन्द्रित राजनीति छ। सरकार परिवर्तनजस्तो भए पनि जनताले सरकार भएको महसुस गर्न पाएका छैनन्।’
मानुषीले विभिन्न विषय अध्ययन गर्ने, बनिरहेका गरेका, बन्नुपर्ने काननु र विधेयकबारे चासो राख्ने गरेको बताइन्। संविधान संशोधको एजेन्डामा पनि उनको चासो छ। ‘संविधानमा कतिपय सकारात्मक पक्षहरू छन्। कतिपय अधुरो, अपुग कुराहरू छन्। त्यसैले हामीले आधा गिलास खाली आधा भरी भनेका हौँ,’ मानुषी भन्छिन्।
संविधान संशोधन गर्ने हो भने नागरिकता, शासकीय स्वरूप, निर्वाचन प्रणालीमा हुनुपर्ने उनी बताउँछिन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक व्यवस्थापिका हुनुपर्ने र समावेशीका नाममा आएको विकृतिलाई हटाउनुपर्ने पनि उनको जोड छ।
उनले भनिन्, ‘संविधान संशोधन गरेर कमजोर बनाउने होइन। अझै प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने हो। अहिले निर्वाचन ऐन पनि प्रस्तावित छ। त्यहाँ कतिपय बुँदा राखेर समावेशिताका नाममा हुने दुरुपयोग हटाउन सक्छौँ।’
पार्टी पुनर्जागरणमा रञ्जु दर्शना
विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शना २०७९ को चुनावमा काठमाडौँ-५ मा स्वतन्त्र उम्मेदवार थिइन्। उनी निर्वाचित हुन सकिनन्। नयाँ शैली, सोच, ढाँचा, प्रणालीबाट राजनीति गर्नुपर्छ भन्ने रञ्जु अहिलेचाहिँ विवेकशील साझा पार्टीको महासचिवको भूमिकामा छिन्। संगठन विस्तारमा सक्रिय उनी भन्छिन्, ‘विवेकशील साझा पार्टीलाई पुनर्जागरण गराउन लागेका छौँ। यसका लागि आन्तरिक प्रशिक्षण, अगुवा साथीहरू र जनतासँग भेटघाट गरिरहेका छौँ।’
पार्टी कामबाहेक रञ्जुको समय अध्ययन र मानसिक स्वास्थ्यसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रममा बित्छ। उनी राजनीतिमा महिला, महिला सशक्तीकरणजस्ता गतिविधिमा संलग्न हुने गरेको बताउँछिन्।
नेपाली राजनीतिमा वैकल्पिक पार्टी भनेर उदाएको विवेकशील टुटफुट र जोडजाडको सामना गर्दै अहिले विवेकशील साझा पार्टी बन्न पुगेको छ। रञ्जुलाई राजनीतिका आफ्ना पुराना साथीहरू एउटै पार्टीमा नहुँदा भने खल्लो लाग्छ। उनी भन्छिन्, ‘बेलाबेलामा पुराना राजनीतिक साथी नहुँदा के भयो, उहाँहरू कहाँ जानुभयो भन्ने महसुस हुन्छ।’
ठूला पार्टीको नेतृत्वमा र राज्यका निकायमा महिलाको न्यून सहभागिताप्रति रञ्जुको गुनासो छ। त्यसो हुनुमा पुरुषसत्तात्मक सोच मुख्य कारण भएको उनको बुझाइ छ। कानुनले गर्दा ठूला दलले बाध्यकारी रूपमा महिला सहभागिता गराएको रञ्जु बताउँछिन्।
उनी भन्छिन्, ‘राजनीति पार्टीमा महिला नेतृत्वको न्यून सहभागिता पुरुषसत्तात्मक सोच हो। समाजमा जस्तोखालको संरचना छ राजनीतिक दलमा पनि त्यो देखियो। राजनीतिक दल भनेको राज्य र जनताबीचको मियो हो। नेतालाई सबैलाई बाटो देखाउने अगुवा भनेर चिनिन्छ।’
समाजको दबाब थेग्न नसक्दा मात्र राजनीतिमा महिलालाई सहभागिता गराइएको रञ्जु बताउँछन्। उनी भन्छिन्, ‘अब यसरी हुँदैन। स्वविवेकले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्छ। हामी त्यसमै सक्रिय छौँ।’
उनले राजनीति अस्थिर हुँदा जनतामा निराशा बढेको बताइन्। ‘शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा जनतामा आशाको सञ्चार हुने कार्यक्रम ल्याइएको छैन। गाउँगाउँमा सिंहदरबार भने पनि व्यवहारमा त्यो छैन। अहिलेको राजनीति भद्दा मजाक देखिएको छ,’ पछिल्लो राजनीतिक अवस्थाबारे रञ्जुको टिप्पणी छ।
उनले देशको भविष्य र राजनीतिक स्थायित्वका लागि भन्दा दुई ठूला दलको स्वार्थका निम्ति संविधान संशोधन गर्न खोजी तर्क गरिन्। संविधान संशोधन गर्ने हो भने राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागितालाई बढाएर ४०-५० प्रतिशत व्यवस्था गर्नुपर्ने बताइन्। ३३ भन्दा बढी प्रतिशत महिलालाई चुनावमा प्रत्यक्षको टिकट दिने सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
संविधान संशोधन गर्दा शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने सुझाव उनको छ। समानुपातिक निर्वाचन प्रणाली आफन्तलाई सांसद बनाउने हतियार बनेको बताउँदै रञ्जुले यसबारे विचार गर्न आग्रह गरिन्। उनले सांसद मन्त्री हुँदा राजनीति झन् विकृत भएको पनि बताइन्। ‘सांसद मात्रै मन्त्री हुने होइन विज्ञ व्यक्तिलाई मन्त्रीमा ल्याउनुपर्छ। सांसद संसदीय कार्यक्षेत्रमा मात्र सीमित हुने खालको संशोधन भयो भने देशले निकास पाउन सक्छ’, महासचिव रञ्जुले भनिन्।
मतदाताकहाँ पुगिरहने पुष्पा
कांग्रेसकी पुष्पा भुसाल परिपक्व नेतृ मानिन्छिन्। उपसभामुखदेखि सांसदको अनुभव लिइसकेकी भुसाल संसद्मा हुँदा प्रखर वक्ताका रूपमा प्रस्तुत हुन्थिन्। गत चुनावमा अर्घाखाँची-१ बाट पराजित भुसाल हाल कांग्रेसको महिला विभाग प्रमुख छिन्। संसदीय चुनावमा निर्वाचित नभए पनि उनी मतदाताकहाँ पुगिरहन्छन्।
भुसाललाई पराजित गरेका नेकपा एमाले नेता टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन्। आफ्नो निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीनजस्तै भएकाले चुनावी क्षेत्रमा सक्रिय हुनुपरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘बर्खापछि सकिएलगत्तै अर्घाखाँची जाने तयारीमा छु।’
भुसाल राजनीतिमा महिला सभागिता बढीभन्दा बढी कसरी गराउने भन्ने बहस तथा छलफलमा जुट्ने गर्छिन्। ‘पार्टी नेतृत्वमा महिलालाई कसरी अगाडि बढाउने, महिलाका मुद्दा कसरी उठाउनेलगायतका काममा व्यस्त छु। नागरिक समाज, सरोकारवालासँग महिलाका मुद्दामा बहस, छलफल भइरहेको छ’, उनले भनिन्।
भुसालले निर्वाचनमा महिला नेतृले उम्मेदवारी दिनुमात्र ठूलो कुरा नभई परिणाम ल्याउने वातावरण हुनुपर्ने बताइन्। उनले भनिन्, ‘निर्वाचनमा उम्मेदवारी दिनु मात्र ठूलो होइन। प्रत्यक्ष चुनाव लडेर परिणाम ल्याउन सक्छन् कि सक्दैनन्? त्यो वातावरण कसरी हुनसक्छ? यो साझा मुद्दा हो।’
नेतृ भुसाल जिल्लामा पार्टी संगठनलाई थप बलियो बनाउने आफ्नो प्राथमिकता भएको बताइन्। उनले भनिन्, ‘पटकपटक निर्वाचन लडेका कारण पनि जिल्लामा संगठन बलियो बनाउन मेरो प्राथमिकता छ। यसमा म गम्भीर छु। विचार र संगठनका माध्यमबाटै पार्टी अगाडि बढाउने हो। केन्द्रमा आफ्नो जिम्मेवारी छँदैछ।’
विगतमा पार्टीका उम्मेदवारले चुनाव हार्नुको मुख्य कारण भने गुट रहेको उनले बताइन्। उनले भनिन्, ‘२०७९ को निर्वाचन परिणाम हेर्ने हो भने २५-३० आन्तरिक गुटले कांग्रेसका उम्मेदवार पराजित भएको तथ्य छ। गुटबाट मुक्त र संगठन बलियो नगराएसम्म कांग्रेस पार्टीको सुखद परिणाम आउँदैन।’
महिलाले प्रत्यक्ष टिकट पाउनुपर्ने अभियानमा डिला
पार्टी राजनीतिमा सक्रियमध्ये अर्की नेत्री हुन् डा.डिला संग्रौला। उनी महिलाले प्रत्यक्ष उम्मेवारको टिकट पाउनुपर्ने अभियानमा छिन्। उनी भन्छिन्, ‘मैले पहिला पनि प्रत्यक्षमै चुनाव लड्नमा जोड दिएको हुँ। महिलाले प्रत्यक्षको टिकट पाउनुपर्छ।’ उनी कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभाग प्रमुख हुन्।
संविधान संशोधनमार्फत ३३ प्रतिशत महिलाले प्रत्यक्षको टिकट पाउने व्यवस्था ल्याउनुपर्ने उनको जोड छ। संग्रौला भन्छिन्, ‘अहिले संविधान संशोधनको कुरा आएको छ। ३३ प्रतिशत महिलाले प्रत्यक्षमा टिकट पाउनुपर्छ भन्नेमा अडिग छु। जबसम्म महिला प्रत्यक्ष चुनावमा जाँदैनन् तबसम्म जनतासँग सम्बन्ध बन्दैन।’
डिला अहिले पार्टी राजनीतिमै व्यस्त छिन्। सोही कारण उनले चारभन्दा बढी प्रदेशमा पुगेर पार्टी गतिविधि सञ्चालन गरेको उनले बताइन्। फुर्सदको समय अध्ययन, लेखन गरेर बिताउँछिन्।
संसदीय भूमिकामा नदेखिए पनि आफू राजनीतिबाट छायामा भने नपरेको बताइन्। उनले भनिन्, ‘अहिले पार्टी संगठनकै काम गरिरहेको छु। प्रदेशमा पार्टीको राजनीतिक कार्यक्रममा सहभागी भएँ। पार्टीको संगठन विस्तारमा लागेँ। फुर्सदको समयमा पढ्ने लेख्ने काम पनि भइरहेको छ।’
अस्थिर राजनीतिले गर्दा साना दललाई सत्ताको रजाइँ भएको उनको टिप्पणी छ। डा. संग्रौलाले भनिन्, ‘साना दल सत्ताको बार्गेनिङ गरेर सत्तामा पुगेका छन्। जनताले केही नपाउने अवस्था थियो। प्रदेशमा वितृष्णा। यसबाट मुक्तिका लागि दुई ठूला दल एक ठाउँमा उभिएका हुन्।’
व्यवसाय र राजनीतिमा सँगसँगै शान्ता चौधरी
नेकपा एमालेकी पोलिटब्युरो सदस्य शान्ता चौधरी २०७९ को आमनिर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट पराजित भएकी हुन्। एमाले पोलिटब्युरो सदस्य रहेकी उनी यति बेला पार्टी काम र आफ्नो व्यवसाय सँगसँगै अगाडि बढाइरहेकी छन्। उनलाई पार्टीले उक्त क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएको छ। साथै उनी भूमिअधिकार तथा कृषि श्रमिक फाँटकी पनि इन्चार्ज हुन्।
चौधरीको आफ्नै अचार उद्योग छ। राजनीतिसहित उद्योगमा पनि समय दिइरहेको चौधरीले बताइन्। उनी भन्छिन्, ‘पार्टीको जिम्मेवारीअनुसार काम गरेको छु। व्यवसाय र राजनीतिलाई सँगसँगै अगाडि बढाएकी छु।’ आफ्नो क्षेत्रमा मतदाताका समस्यालाई पनि नजिकबाट हेरिरहेको चौधरी बताउँछिन्। उनको अचार उद्योग दाङमा छ भने काठमाडौँमा डिलर राखेर बेच्दै आएको जानकारी चौधरीले दिइन्।
चौधरी महिलालाई राजनीति गर्न कठिन रहेको बताउँछिन। ‘पुरुषलाई जस्तो सजिलो छैन। सबै महिला सम्पन्न छैनन्। राजनीतिमा लागेका कतिपय महिला विपन्न छन्। कमाएर दिने मान्छे छैन’, उनले भनिन्। राजनीति गर्न पैसा चाहिने भएकाले पनि आफूले उद्योगमा हात हालेको चौधरीले बताइन्। उनले भनिन्, ‘महिला नेतृले प्रत्यक्ष चुनाव लड्नुपर्छ त भनिन्छ। त्यहाँ आर्थिक पाटो आउँछ। महिलालाई त्यसैले राजनीति गर्न सहज छैन।’
आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्ने पक्षमा रहेकी चौधरी संशोधन के विषयमा हुँदै छ भन्नेचाहिँ मुख्य कुरा रहेको बताउँछिन्। दलका पुरुष नेताहरूले अझै पनि महिला नेतृलाई सहज रूपले स्वीकार नगरेको चौधरीको अनुभव छ। उनी भन्छिन्, ‘मेरो पार्टीमा मात्र होइन हरेक पार्टीमा महिलाको नेतृत्व सहजै स्वीकार गर्दैनन्। म यसैको विपक्षमा लागिरहेकी छु।’