दोलखा– साहित्यकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’माथि जिरीमा परिचर्चा गरिएको छ। जिरी समुदायिक पुस्तकालयमा हालै आयोजित कार्यक्रममा जिरी माविका पूर्वप्रधानाध्यापक टेकबहादुर जिरेलले उपन्यासका मुख्य पात्र ‘किवाहाङ’ नै रहेको बताए। ‘किवाहाङ अर्थात् बाघको राजा भनेर किरात भाषाबाट पात्रको नाम चयन गरिएको हो’, उनले भने। विगतमा ब्रिटिस गोर्खाहरूले मलेसिया, सिंगापुर, ब्रुनाई, बेलायत, हङकङमा भोगेका कथाले उपन्यास पठनीय बनेको उनको भनाइ थियो।
यो उपन्यास ६० वर्षअघि समुद्रपारि देशमा नेपालीहरूको डायस्पोरिक जनजीवनमा आधारित छ। यस्तै, युद्ध इतिहास, किरात संस्कृति, लाहुरे संस्कृति, आञ्चलिकताजस्ता विषय पनि यस कृतिमा समेटिएको छ। कृतिले नेपाल र ब्रिटिसले गोर्खाहरूमाथि गरेको विभेद/शोषण, तत्कालीन मलेसिया, हङकङ, ब्रुनाई, सिंगापुर गृहयुद्ध, त्यहाँका जनजीवन, गोर्खाहरूको भूमिकालाई उजागर गरेको छ।
‘किवाहाङ’का लेखक राई हङकङबाट प्रकाशन हुँदै आएको साहित्यिक पत्रिका ‘साब्लाबुङ’का सम्पादक, प्रकाशक हुन्। उनले नेपालका दुर्गम गाउँका विद्यालयमा साब्लाबुङ पुस्तकालय अभियानमार्फत पुस्तकालय स्थापना गर्दै आएका छन्।
‘उहाँबाट हामीले बहुमूल्य पुस्तकहरू करिब एक लाखको स्वास्थ्य, बाल साहित्य, विभिन्न विधाको प्राप्त गरेका छौँ। उहाँजस्ता समाजको हितमा काम गर्ने मान्छेहरू थोरैमात्रै पाउँछौँ’, जिरेलले भने, ‘यस्तो सकारात्मक सोच भएका मान्छेलाई प्रोत्साहन, हौसला दिनुपर्छ। उहाँको पुण्य कर्मलाई हृदयबाट प्रशंसा गर्छु।’
पुस्तक परिचर्चा तथा पुस्तकालय पुस्तक हस्तान्तरण कार्यक्रममा जिरी नगरपालिकाका पूर्वनगर प्रमुख टंकबहादुर जिरेल, वडा नम्बर ६ का वडाध्यक्ष मरीचबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार कार्की, नगर कार्यपालिकाका सदस्य वीरबहादुर जिरेलको उपस्थिति थियो।
कार्यक्रममा अभिभावक, शिक्षाप्रेमी, विभिन्न विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी सहभागी थिए। केशवकुमार कार्कीको सभापतित्वमा सञ्चालित कार्यक्रममा जिरी माविका प्रधानाध्यापक कुमार जिरेलले स्वागत मन्तव्य राखेका थिए। सहायक प्रधानाध्यापक खिम्बक विकलगायत वक्ताले ज्ञानको भण्डार पुस्तक र पुस्तकको भण्डार हाम्रो जिरी सामुदायिक पुस्तकालय जिरी माविलाई उपलब्ध गराएकोमा साहित्यकार राईप्रति आभार व्यक्त गरेका थिए।