काठमाडौँ- बंगलादेशमा सेनाले सत्ता लिएको छ। प्रधानमन्त्री सेख हसिना राजीनामा दिएर छोडेर भागेपछि सेनाले सत्ता लिएको हो। अन्तरिम सरकार बनाउने तयारी भइरहे पनि सरकार गठन नभएसम्म त्यहाँको सत्ता सेनाको नियन्त्रणमा रहनेछ। सेना प्रमुख वकार–उज–जमानले राष्ट्रलाई सम्बोधन गर्दै चाँडै अन्तरिम सरकार बनाउने तयारी भइरहेको बताएका छन्।
विपक्षी दलहरूसँग छलफल भएको र चाँडै अन्तरिम सरकार गठन हुने उनको भनाइ छ। प्रमुख जमानले प्रधानमन्त्री हसिनालाई राजीनामा गर्न सेनाले नै सुझाव दिएको बताए। उनले आन्दोलन रोकेर देशमा शान्ति बनाउन प्रदर्शनकारीहरूलाई आग्रह गरेका छन्।
हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासका सामान उठाएर बाहिरिएका तस्बिरहरू सार्वजनिक भएका छन्।
सोमबार प्रदर्शन थप उग्र भएपछि हसिना बंगलादेश छोडेर हेलिकप्टरबाट भारतको पश्चिम बंगालस्थित अगरतला भागेकी छन्। हसिना आफ्नी बहिनी सेख रहानालाई लिएर भारततर्फ भागेकी हुन्। सरकारी सेवामा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन हिंसात्मक भएपछि प्रधानमन्त्री हसिना बहिनीका साथ हेलिकप्टरबाट देश छोडेकी हुन्।
बंगलादेशमा चलिरहेको आरक्षणविरोधी आन्दोलनका क्रममा विद्यार्थीले सोमबार ‘ढाका मार्च अभियान ’ आह्वान गरेका छन्। यो आह्वानपछि बंगलादेशका विभिन्न स्थानबाट हजारौँको संख्यामा सर्वसाधारण ढाका पुगेका छन्। प्रदर्शनकारीहरू राजधानी ढाकास्थित प्रधानमन्त्री हसिनाको सरकारी निवासभित्र प्रवेश गरेका छन्। उनीहरूले प्रधानमन्त्री निवासमा ढुंगामुढा गरेका छन्।
बंगलादेशमा गत जुलाईदेखि विद्यार्थी आन्दोलन जारी छ। आन्दोलनका क्रममा हिंसाका साथै आगलागीका घटना भएका छन्। बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
सरकारी सेवामा आरक्षण लागू गर्ने सरकारको निर्णयविरुद्ध बंगलादेशका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। सरकारले आरक्षणमा केही कटौती गरे पनि आन्दोलनरत विद्यार्थीहरू पछिल्लो समय प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका थिए।
सन् १९७१ मा स्वतन्त्र भएयता बंगलादेशमा २८ पटक सेनाले सत्तामा चलाउँदै आएको छ।
बंगलादेशमा सैनिक शासनको इतिहास
सन् १९७५ : तीनपटक
सन् १९७७ र १९८० : ‘कु’ काे असफल प्रयास
सन् १९८२ : जियाउर रहमानको हत्यापछि सैनिक ‘कु’
सन् १९९६ : ‘कु’ को असफल प्रयास
सन् २००७ :कामचलाउ सरकारविरुद्ध ‘कु’
सन् २००९ : सीमा सुरक्षा बलको विद्रोह
सन् २०११ : सैनिक ‘कु’ को असफल प्रयास
सन् २०११ : इस्लामिक कानुन लागू गर्ने असफल प्रयास
राजीनामा दिएर भारततर्फ भागिन् बंगलादेशी प्रधानमन्त्री सेख हसिना