स्थानीय तहमा रास्वपाको छाया सरकार : यस्ता छन् जिम्मेवारी

हिमाल प्रेस २१ साउन २०८१ १०:२०
72
SHARES
स्थानीय तहमा रास्वपाको छाया सरकार : यस्ता छन् जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको हालै सम्पन्न गोप्य कार्यशाला (क्लोज क्याम्प) मा सहभागी सभापति रवि लामिछानेलगायत। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  स्थानीय छाया सरकारको काम, कर्तव्य र अधिकार तय गरेको छ। स्थानीय तहमा छाया सरकार खटाउन नीति रास्वपाको हालै सम्पन्न गोप्य कार्यशाला (क्लोज क्याम्प) ले गरेको हो।

पार्टीले २०८४ को चुनाव केन्द्रित भएर स्थानीय तहमा छाया सरकार बनाउने निर्णय गरेको कार्यवाहक कार्यवाहक प्रवक्ता मनीष झाले बताए। सत्ताबाट बाहिरएपछि आगामी रणनीति तय गर्न बसेको रास्वपाको गोप्य कार्यशाला (क्लोज क्याम्प) ले अर्को वर्षदेखि स्थानीय तहको चुनाव केन्द्रित राजनीतिक गतिविधि हुने भएकाले त्यसमै केन्द्रित हुनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। स्थानीय छाया सरकारको काम कर्तव्य व्यवस्थित गरिएको छ।  ती विषय यस्ता छन् :

आफ्नो वडा/पालिकाको प्रोफाइल अध्ययन : छाया सरकारलाई  वडा/पालिकाको प्रोफाइल अध्ययनअनुसार विकास नीति अख्तियार भए नभएको हेर्ने जिम्मेवारी तोकिएको छ। यसो गर्दा चुनावी एजेन्डा तय गर्न सजिलो हुने र जनताको सहजै विश्वास जित्न सकिने विश्वास रास्वपाको छ।

वडा/पालिकाको समग्र र गत वर्षको बेरुजु अध्ययन : वडा/पालिकाको समग्र र गत वर्षको बेरुजु अध्ययन गर्ने र वर्तमान नेतृत्वका साथै ठूला दलहरुमाथि प्रश्न उठाउने तयारी रास्वपाको छ। यसो गर्दा विगतमा भएका गलत कार्यको भण्डाफोर गर्न सकिने र जनताको ध्यान खिच्न सकिने नेताहरूको बुझाइ छ।

वडा/पालिकाका बजेट, खर्चमा विवादास्पद योजनाको अध्ययन : योजनाको अध्ययन गर्दा विवादास्पद विषयलाई उठाउन सकेको भनेर जनसमर्थनका साथमा राज्यका अनुसन्धान गर्ने निकायको समेत ध्यान खिच्न सकिने नेताहरू बताउँछन्।

चालु आवको बजेट तथा कार्यक्रम अध्ययन : चालु आवको बजेट तथा कार्यक्रम अध्ययन गर्ने, वडा/पालिकाको विकासको प्राथमिकीकरण अध्ययन गर्ने, सहयोग गर्ने र विकास आयोजना कार्यान्वयनमा खबरदारी गरेर सकारात्मक कामको समेत अपनत्व लिने नीति लिइएको रास्वपाले जनाएको छ।

वडा/पालिकाको विकासको प्राथमिकीकरण अध्ययन गर्ने, सहयोग गर्ने :  स्थानीय सरकार र जनप्रतिनिधिलाई आवश्यक सहयोग गर्ने, कामको अनुगमन, मूल्यांकन गर्ने, गतिविधिको निगरानी गर्ने र जनअपेक्षाविपरीतका गतिविधिमा खबरदारी गर्ने कार्यमा छाया सरकार प्रस्तुत हुनेछ।

छाया सरकारका गतिविधि सार्वजनिक गर्ने : छाया सरकार बनेपछि केकस्ता उपलब्धि भए भनेर गतिविधिलाई सार्वजनिक गर्ने, छाया सरकार बुलेटिन सञ्चालन गर्ने, दैनिक रिपोर्ट कहाँ के गरियो भनेर बाहिर ल्याउने लगायतका कार्य गर्ने योजना रास्वपाको छ।

लिडरसिप एकेडेमीका लागि अभ्यास गर्ने : छाया सरकारका प्रतिनिधिहरुलाई लिडरसिप एकेडेमीमा सहभागी गराएर नेतृत्वको विकास गराउँदै चुनाव केन्द्रित हुन सिकाउने तयारी रास्वपाको छ। यी सबै कार्य आगामी चुनावको तयारीअन्तर्गत रहने नेताहरू बताउँछन्।

२०७९ वैशाखमा स्थानीय तहको चुनाव भएको थियो। पाँचबर्से कार्यकाल भएकाले २०८४ को वैशाखमा अर्को चुनाव हुनुपर्छ। पहिले स्थानीय तहको चुनाव गर्ने र त्यसको ६ महिना वरिपरिमा प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने गरेको छ। २०७९ साल मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको चुनाव भएको थियो। पाँचबर्से कार्यकाल भएकाले २०८४ साल मंसिरभित्र प्रदेश र प्रतिनिधिसभाको चुनाव हुनुपर्छ।

स्थानीय सरकारमा बलियो उपस्थिति देखाउन सके त्यसले प्रदेश र प्रतिनिधिसभाको चुनावमा सहयोग पुर्‍याउने रास्वपाको क्लोज क्याम्पको निष्कर्ष छ। यही निष्कर्षका आधारमा आगामी चुनावमा उठाउने उम्मेदवारलाई अहिले नै छाया सरकार प्रमुख बनाएर स्थानीय तहमा खटाउन नीति रास्वपाले लिने भएको छ।

यसका लागि ७५३ वटै पालिकामा छाया सरकार बनाउने रास्वपाको तयारी छ। छाया सरकार बनाएर स्थानीय तहको समस्या, वर्तमान सरकारले गरिरहेको काम, भएका अनियमितता र आगामी दिनमा गर्न सकिने कार्यका विषयमा बहस चलाउन लागिएको रास्वपाका नेताहरू बताउँछन्।

नौलो अभ्यास

स्थानीय सरकारमा छाया सरकारको अभ्यास नौलो अभ्यास हो। संघमा छाया सरकारको अभ्यास यदाकदा हुने गरेको छ। २०४८ सालमा एमालेले छाया सरकारको अभ्यास गरेको थियो। २०७४ सालको चुनावपछि कांग्रेसले पनि संघमा छाया सरकारको अभ्यास गरेको थियो।

स्थानीय सरकारमा छाया सरकारको अभ्यास भएको छैन। नेपालको संविधान २०७२ अनुसार २०७४ सालमा चुनाव भएपछि नेपालमा स्थानीय सरकारको अवधारणा कार्यान्वयनमा आएको हो। संविधानअनुसार दुई पटकको स्थानीय तहको चुनावपछि रास्वपा उदाएको हो। २०८४ मा रास्वपाले भाग लिए त्या स्थानीय तहको चुनावमा उसको पहिलो सहभागिता हुनेछ।

२०७९ सालको प्रदेश र प्रतिनिधिसभाको चुनावअगाडि असारमा उदाएको रास्वपाले २०८४ मा हुने चुनावका लागि भने स्थानीय तहबाटै उपस्थिति देखाउने गरी नीति अख्तियार गर्न लागेको हो। यसका लागि छाया सरकार बनाउने र अहिल्यै छाया सरकार प्रमुख, उपप्रमुख तय गर्न लागिएको छ। अहिले चयन हुने प्रमुख र उपप्रमुख नै आगामी चुनावमा सम्भावित उम्मेदवार हुनेछन्।

अहिलेदेखि उम्मदवारको एक हदसम्म टुंगो लगाएर तयारी गर्दा राम्रो प्रभाव पार्न सकिने विश्वास रास्वपाका नेताहरूको छ।

यस वर्ष राष्ट्रिय भेला, अर्को वर्ष महाधिवेशन

चुनाव केन्द्रित भए तापनि रास्वपाले सांगठनिक कार्यलाई एकसाथ अगाडि बढाउने भएको छ। शुक्रबार र शनिबार भएको क्लोज क्याम्पले २०८१ असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न केन्द्रीय समितिलाई सुझाव दिएको छ। राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेस्रो सातामा गर्न सुझाव दिइएको छ ।

कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार कार्यशालामा ६ वटा समूहमा छुट्टाछुट्टै छलफल भएर एकीकृत निष्कर्ष निकालिएको हो। बन्द कार्यशालाले केन्द्रीय समितिलाई राष्ट्रिय महाधिवेशनको विषयसहित विभिन्न १५ विषयमा सुझाव दिएको हो।

कार्यशालाले जिल्ला संयोजक, उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरेर तदर्थ समिति गठन गर्न र विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी राष्ट्रिय भेलामा पेस गर्न सुझाव दिएको छ।

शासकीय स्वरूपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधनका बारेमा पार्टीको अवधारणा तयार गर्न, देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने लगायतका सुझाव दिइएको छ।

पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समितिलाई विस्तार गरेर देश विदेशमा रहेका सबैलाई जोड्न पार्टी पिलर्स अवधारणा लागू गर्न सुझाव दिइएको झाले बताए।
उनका अनुसार क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको नियमावली र कार्यविधि भदौ मसान्तभित्र तयार गरिनेछ।

प्रकाशित: २१ साउन २०८१ १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast