बर्खा लागेपछि चारैतिर हरियोपरियो देखिन्छ। बारीमा हलक्क बढेको मकैको पात, खेतमा हरियो धानको गाँज हेर्दै बारीका कान्ला र खेतका आलीमा टेक्दै हिँड्नुको बेग्लै आनन्द छ। झरीले रुझेको पाखापखेरा, रसाएर बग्ने खोल्सा, कुलेसा मस्त जवानी गडगडाएर उर्लिन्छन् खहरे खोला। यिनीहरुको अराजकताले गर्ने क्षतिलाई नहेर्ने हो भने त साँच्चै अलौकिक पो देखिन्छ यो धरा प्रकृति मुस्कुराएको बेला।
साउने झरीको दर्केर पर्ने पानीमा रुझेर हिँड्दा पनि एक किसिमको आनन्द आउँछ। यही झरीका कारण उर्लेको खोलानाला र यसले गर्ने बिगार देखेर झर्को पनि लाग्छ। फेरि पहाडका भित्ता र रूखका जरासमेत रसाएर निस्कने, मैमत्त भई स्वतन्त्र बटारिएर हिँड्ने, खहरे जटा फिँजाएर पहाडको टुप्पोबाट हामफाल्दै झरना बनेर रमाउने साउने झरीको रुमानी कला बुझिनसक्नु छ।
झरना भनेपछि के युवा, के वृद्ध, बाला सबै मोहित हुने रहेछन् सौन्दर्यपान गर्न। हुन त पानी उही हो, पहाड उही हो, उछाल उही हो, र तरंग पनि उही हो। परन्तु कुनै अप्सराले केशराशि फिँजारेर सर्लक्क छोडिदिँदा त्यसको ओजको चमकमा चम्कने आभाका आकर्षणले लोभएर पछि लाग्ने किन्नरझैँ हामी पनि लोभियौँ झरना हेर्न अभिलाषा बोकेर।
झमझम पानीको आवाजमा संगीतको सातस्वर गुञ्जिएको भान हुन्छ। दिनभरको झरी झ्याउलाग्दो हुन्छ भने रातको झरी मातलाग्दो हुन्छ। दर्किएर पर्ने पानी बलेसीमा थचारिएर गुञ्जने स्वर कर्णप्रिय लाग्छन्।
साउन लागेपछि औसत न्दा बढी नै पानी परिरहेको छ। जसरी खोला उर्लेर आउँछन् त्यसैगरी झरनाको बेग थामी नसक्नु हुन्छ। राको झरीको सप्तस्वरले पहाडको झरना हेर्ने मोहनी लागेको हुनुपर्दछ। मैले यस्तै सोचेर साउन १२ गते शनिबार पदयात्रामा नाम लेखाउन पुगेँ।
एकातिर प्रकृतिको यो सुन्दरतम रूप हेर्ने रहर छ भो अर्कोतर्फ बर्खाको झरीमा पानी मात्र पर्दैन खेतबारी र गोरेटो बाटो, जंगलको प्राकृतिक गोरेटोहरु, रुखका पातहरुबाट टाउकोमा झर्ने र झारपातबाट खुट्टामा टाँस्सिएर शरीरको भित्री भागसम्म पुगेर रगत चुसेर पुटुक्क हुने जुगाको सन्त्रास पनि त्यतिकै थियो।
‘रक्तदान जीवनदान’ भन्दै झरनाको मोहनी रूप दर्शन गर्ने चाहनेले जित्यो। रक्तदान जीवनदान त भनियो वास्तवमा जुकालाई रक्तदान गर्नु उसको जीवन समाप्त पार्नु रहेछ। मानिसको रगते चुसेर मोटाएको जुका फ्यात्त भुइँमा खसेर मर्दौ रहेछ। यसो सम्झेँ यो त प्राकृतिक नियम पनि पो रहेछ। हाम्रो समाजका रक्त चुसाहा कीटाणु विषाणु पनि यसै गरी फ्यात्त भुइँमा लडेर मर्ने भए समाज भ्रष्टाचार शून्य सदाचारी हुन्थ्यो होला। यो कोरा कल्पनाको प्रकृतिसँग के तादात्म्य होला र?
लखनचुली झरना हेर्न भनेर हिँडेका हामी गुर्जेभन्ज्याङ कटेर केही तलको पुलिस चौकी पनि पार गरेर त्यसको दुई किलोमिटर जति तलसम्म बसमा गयौँ। बाटोमा यति ठूलो पहिरो गएको रहेछ कि बसमा बसेर त्यो पहिरोको बीचबाट निकालेको बाटोबाट अगाडि जाने हिम्मत गर्न सकेनौँ। स्थानीय रुटमा चल्ने एउटा सानो मिनिबसले यात्रु लिएर पहिरो पार गर्दा पनि हाम्रो साहस जुटेन। बसलाई त्यही छोडेर हामी पैदलै हिँड्यौँ सडकै सडक करिब दुईतीन किलोमिटर। माने भन्ने ठाउँबाट पूर्व जाने कच्ची बाटो रहेछ।
हिउँदमा सानो सवारीसाधन चल्ने रहेछ। बर्खामा बाटो छियाछिया परेको थियो। यिनै खाल्टाखुल्टी छल्दै दुईपांग्रे सवारीचाहिँ चलेको देख्यौँ हामीले पनि यिनै खाल्टाखुल्टीसँग मितेरी लगाउँदै हिँड्यौँ लखरलखर। बाटोको दायाँ माथितिर राष्ट्रिय निकुञ्ज, देब्रेतिर मानव बस्ती र उनीहरुको खेतीपाती। यहाँ देखिने बस्ती गुरुङगाउँ हो।
नुवाकोटमा तामाङ धरै छन् भन्दै गर्दा पनि यहाँको बस्तीमा प्रशस्तै गुरुङ रहेको पायौँ। गुरुङ गाउँ तुलनात्मक रूपमा सफा र मिलेर बसेको देखिन्छ। यहाँको गुरुङ बस्ती पनि सफा र राम्रो देखिन्छ।
यो पदयात्रा अन्य पदयात्राभन्दा सजिलो थियो। न धेरै उकालो हिँड्नुपर्ने न त ओरालो नै। कतैकतै सामान्य उकालो र ओरालो। मूल बाटोबाट झरनासम्मको यात्रा करिब ८ किलोमिटर थियो। आउजाउ दोहोरो हिँड्दा १६ किलोमिटर र पिचको बाटो चार किलोमिटर गर्दा २० किलोमिटरको पदयात्रा गर्नुपर्ने हुन्छ। अन्य दिनमा लगातारको झरी परे पनि त्यो दिन पानी परेन। चरक्क चर्केको घाममा हिँड्नुपर्दा जंललभित्र हिँडेको भन्दा चौबर कठिन भयो।
खोलेगाउँ, बास्कोटागाउँ, पुडीभन्ज्याङ हुँदै लखनचुली जाने भनेर हिँडेका हामी बाटोमा झरेको पहिरोको कारण मानेबाट उकालो लाग्न पर्यो र सिक्रे हुँदै लखनचुली गयौँ। मानवबस्तीकै बाटो भए पनि कतैकतै जंगलको बीच भएर पनि हिँड्नुपर्यो। यसरी हिँड्दै गर्दा जंगलबाट आउने विभिन्न किसिमका चराहरुको मिश्रित आवाजमा रमाउँदै हिँडिरहेका थियौँ। कतै कतै झ्याउँकिरीको झ्याउँझ्याउँ पनि रमाइलै थियो।
बाटोमा हिँड्दै गर्दा पाखा लागेर तरेली परेका धानका गरा, खोँचमा छङछङ गर्दै बग्दै गरेको खहरेको आवाज थप आकर्षण र थकाइ मेटाउने माध्यम थिए। यस्तैमा आँखा डुलाउँदै गर्दा खोँचको एउटा पाटोमा हरिणको एउटा बच्चा हामीलाई हेर्दै गरेको देख्यौँ।
आहा! कति सुन्दर दृश्य! जंगलको प्राकृतिक वासस्थानमा हरिणको बच्चा देखिनु संयोग र सौभाग्य दुवै थियो। हतारहतार हातको म्यामेराले फोटो खिच्छु भन्दा उसको धमिलो आकृति मात्र समात्न भ्याइयो। हरिणको बच्चाले मानिसको बच्चाको विश्वास गरेर हातमा लिएको अनौठो यन्त्र कुरेर तस्बिर लेऊ भनेर पोज दिनु त सम्भव थिएन। सबैभन्दा अविश्वसनीय भनेको मानिस हो भन्ने उसले जानेको छ। उसको नजरमा हिंस्रक अरू जनावर पनि होलान्। तिनीहरूबाट बच्न प्राकृतिक रूपमा उसले सिकेको पनि होला। तर मानिसबाट बच्न उसले सिकेको छैन। उसलाई थाहा छ मानिस अविश्वसनीय मात्र नभएर हिंस्रक पनि हो। त्यसैले ऊ हामीलाई देखेर भाग्यो।
हामी पनि बाटो लाग्यौँ। करिब नौ बजेतिर मानेबाट हिँडेका हामी १२ बजे झरना भएको ठाउँमा पुग्यौँ। ७५ मिटरभन्दा माथिबाट खसेको छाँगोको सेतो लहरे पानी आकर्षक देखिन्छ। झरनाको पानीमा भिजेर पौडी नखेले झरना हेरेको के स्वाद भयो? हामीसँग गएका युवकयुवती सबै झरनाको रमणीयतामा भिजेर पौडी खेलेर रमाए। झरना अझै व्यवस्थित गर्ने योजना रहेको कुरा स्थानीय सरकारले बनाएको योजनाबाट देखिन्छ। हिउँदयाममा यहाँ पानीको मात्र ज्यादै नगन्य हुँने हुँदा यसतर्फ विशेष ध्यान दिइनुपर्दछ।
झरनाको केही पर केही माथि लखनेश्वर महादेवको मन्दिर रहेको छ। भक्तले मागेको वरदान पाइन्छ भन्ने जनविश्वास छ। स्थानीयको आस्थाको मन्दिर महादेव आराध्य छन्। बाटोमा हिँड्दै जाँदा भेटिएका गुरुङ समुदायका मानिस पनि उनीहरूलाई लखनेश्वर महादेवले रक्षा गरेको भनेर मान्दा रहेछन्। हामीले पनि यिनै महादेवको दर्शन गरेर आयौँ।
झरना देखेपछि र पोखरी भेटेपछि खान पनि बिर्सने रहेछन् पदयात्रीहरु। घन्टौँसम्म पानीमै रमाएका पदयात्रीलाई अनुरोध गरेर पोखरीबाट निकाल्नुपर्यो। दुई नै बज्न लागिसकेको थियो। भोकले आन्द्रा झुत्ती खेल्न थालिसकेको थियो। झरनाबाट फर्केर केही परको गुरुङसेनीको दोकानमा खाना खान बस्यौँ। थालमा भातको थुप्रो र त्यो थुप्रोलाई भिजाउन दालको झोल आयो। अलिकति अचार र केही त्यान्दो फर्सीको मुन्टा तरकारी भनेर थालको एउटा कुनामा बसेको पनि देखियो। अचार र फर्सीको मुन्टा एकदुई गाँसमै सकियो। फेरि आउला भनेको त खाली ताप्के मात्रै पो देखियो।
‘भोक मिठो कि भोजन महाराज’ भनेर सोध्दा ‘भोजन’ भन्थ्यो रे कसैले। त्यस्तै भयो। दाल र भात मजाले खाइयो र तृप्त भइयो। साहुनी गुरुङसेनी बैनी साह्रै फरासिली रहिछन्। भन्दै थिइन्, ‘बाटोमा जे भेटियो जति भेटियो त्यसैमा चित्त बुझाउनुपर्छ।’ उता गुरुङदाई भने कन्तुरमा पैसा राख्दै थिए। त्यहाँबाट झोला भिरेर बाटो लाग्यौँ। घर आइपुग्दा झमक्कै साँझ पर्यो।