काठमाडौँ- छिमेकी भारतका लागि राजदूत नियुक्त हुने निश्चित भएपछि राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारबाट शंकरदास वैरागीले राजीनामा दिएका थिए। अन्ततः उनी न भारतको राजदूत भए न त सुरक्षा परिषद्मा नै रहे। उनलाई वर्तमान सरकारले भारतमा राजदूत पठाउन योग्य भन्दै सुरक्षा परिषद्को सल्लाहकारबाट राजीनामा दिन लगाएको थियो।
सुरक्षा परिषद्को सल्लाहकार रहँदैमा राजदूत हुने विषय राम्रो पनि भएन भनेर उनले राजीनामा त दिए। तर अन्तिममा उनी जिल्लिए। बालुवाटार-बूढानीलकण्ठ दुवैको गुड लिस्टमा रहेका वैरागीलाई केही कांग्रेसीको दबाबमा राजदूत हुनबाट रोकेको देखिन्छ। परराष्ट्र सेवा प्रवेश गरे लगत्तै भारतमा प्रशिक्षण लिएका वैरागी परराष्ट्र सचिव हुँदा पनि भारत बुझ्ने पछिल्ला कूटनीतिज्ञ हुन्। तर उनलाई सरकारले जानाजान किन भारत पठाएन त्यो रहस्यकै कुरा छ।
भारतमा बसेर नेपालको लागि भन्दा पनि भारत वा आफ्ना लागि काम गरिरहेका डा. शंकरप्रसाद शर्मा त्यहाँ दोहोरिएका छन्। जुन विषय सरकारी पत्रिका द राइजिङ नेपालमा छापिएको छ। नेपालले लामो समयदेखि भारतसँग विशेष सम्बन्ध होइन मित्रवत् छिमेकी र फरक प्रकारको सम्बन्ध हो भनिरहेको विषयलाई राजदूत ेआफैँ विशेष सम्बन्ध भन्दै भारतका अखबारमा आर्टिकल लेखिरहेका छन्। सरकारले फर्काएपछि पनि राजदूतकै रुपमा शपथमा भाग लिए। अनि बिदाइ भेट गरिरहँदा पनि समय पुगेन भन्दै १५ दिन माग गरे।
उनी सामान नेपाल पठाएर फर्कन लागेका थिए। परराष्ट्र उच्च स्रोतका अनुसार भारतीय केही उच्च अधिकारीले नै शर्मालाई निरन्तरता दिँदा सम्बन्ध राम्रो हुने बताएपछि एकाएक वैरागीको नाम काटेर उनलाई पुनः नियुक्ति दिइएको हो। यो विषयमा सरकारको औपचारिक धारणा अझै आएको छैन। यद्यपि भारतले पनि यो विषयमा खण्डन गर्न आवश्यक छ।
शर्मा अब नेपाल आएर पुनः पुरानै प्रक्रिया पार गर्दै भारत जानु पर्ने हुन्छ। वैरागीले साउन ९ मा नै सुरक्षा परिषद्मा घरायसी कारण देखाएर राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत पनि भइसकेको छ।
‘खासै त्यस्तो केही छैन। सरकारले दिएको जिम्मेवारी पदमा रहुन्जेल राम्रोसँग पूरा गरेँ। खुसी नै छु। अहिले मैले भन्न पर्ने केही छैन,’ उनले हिमाल प्रेससँग भने, ‘म लेखपढ गर्न रमाउने मानिस बाहिर बसेर लेखपढ गर्छु। आफ्नो विचार लेख्छु। मैले किन राजीनामा दिएँ? किन राजदूतको हल्ला भयो त्यो त सरकारले स्पष्ट पार्ला। म के भनुँ र?’
यहाँलाई राजदूत बनाउने भनेर राजीनामा दिन लगाएका त होइनन् नि? भन्ने जिज्ञासामा उनले भने, ‘यो विषय बोल्न नलगाउनुहोस्। मैले घरायसी कारण नै राजीनामा दिएको हुँ। दबाब, प्रभाव र लोभमा परेर होइन। २० वर्षको उमेरदेखि जागिर गरेको लामो पनि भयो अब केही समय लेखपढमा लाग्छु। मुलुकलाई आवश्यक पर्दा सघाउँछु। मुलकुको पेन्सन खाइरहनेछु।’
परराष्ट्र सचिव, मुख्यसचिव हुँदै उनी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार नियुक्त भएका थिए। उनलाई मुख्य सचिवबाट सुरक्षा परिषद्मा लगेर वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाएका थिए। अन्यथा अर्याल घर जान्थे अहिले कानुनी झमेलामा पर्दैन थिए होलान्।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरी वैरागीलाई नियुक्त गरेको थियो। ३ महिना समय हुँदैमा उनले मुख्य सचिवबाट राजीनामा दिएका थिए। अर्याल मुख्य सचिव हुनै पर्ने भन्ने भएपछि उनले सुरक्षा परिषद्को पद तय गरेर त्यता गएका हुन्। अर्याल अहिले भ्ष्टाचारको काण्डमा परेर निलिम्बित छन्।