गोर्खा पल्टनका दुःख र किरात संस्कृति झल्काउने कृति ‘किवाहाङ’

हिमाल प्रेस १३ साउन २०८१ १३:४१
86
SHARES
गोर्खा पल्टनका दुःख र किरात संस्कृति झल्काउने कृति ‘किवाहाङ’

काठमाडौँ– साहित्यकार राजकुमार राईको नवीनतम उपन्यास ‘किवाहाङ’ बारे काठमाडौँमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। लेखक/समीक्षक प्रा. डा. कुमारप्रसाद कोइराला, राजकुमार बानियाँ, डा. पुरण राई, नन्दु उप्रेती र गीता रेग्मीले यस कृतिमाथि परिचर्चा गरेका हुन्।

उनीहरूले यो उपन्यास लाहुरे परम्पराका विषयमा मिहीन ढंगले बोलेको टिप्पणी गरेका छन्। यो काल्पनिकताभन्दा पनि तथ्यमा आधारित रहेको भनाइ टिप्पणीकारको छ।
प्रा.डा. कोइरालाले हाम्रो समाजमा रहेको लाहुरेप्रतिको नकारात्मक भाष्य तोड्न उपन्यासकारले कोसिस गरेको बताए। नेपाली गोर्खाहरूको जुन इतिहास छ त्यसलाई सच्याउन/राम्रो पार्न यो कृति लेखिएको धारणा उनले व्यक्त गरे।

लाहुरे संस्कृतिको दृष्टिकोणले कृति पठनीय र महत्त्वपूर्ण रहेको उनले बताए। ‘अर्को कुरा, किरात संस्कृति नेपालको बहुत महत्त्वपूर्ण संस्कृति छ। किरात संस्कृतिको दृष्टिकोणले त यो उपन्यासजस्तो अर्को मैले पढेकै छैन। यो त्यति राम्रो छ। आञ्चलिकताका दृष्टिकोणले त झन् एकदमै राम्रो उपन्यास छ’, उनले भने।

समीक्षक बानियाँले ‘किवाहाङ’ गैरलाहुरेले लेखेको लाहुरेको कथा भएको सुनाए। ‘उहाँचाहिँ लाहुरे होइन तर लाहुरेबारे भलीभाँती जानकार हुनुहुन्छ भन्नेचाहिँ यो किताबले पुष्टि गर्छ। ६० वर्ष पुरानो इतिहास झल्काउँछ’, उनले भने, ‘यस किताबले नियात्राचाहिँ थुप्रै गराउँछ। मुख्य पात्र किवाहाङको २८ वर्षको कहानी भन्छ।’

यसले लाहुरे परम्परामाथि आलोचनात्मक दृष्टिकोण राख्ने उनले बताए। ‘लाहुरे हुनुचाहिँ एउटा अभिषप्त स्थिति हो भन्ने कुरा देखाउन खोज्छ। गोर्खा पल्टनको विभेदबारे बोेलेको छ। अन्यायका फेहरिस्तहरू छन्। गुनासाहरू छन्। बेलायतको अर्घेल्याइँलाई देखाएको छ’, बानियाँले भने।

अध्येता डा. राईले उपन्यासकारले इतिहास पक्षलाई अत्यन्तै धेरै अध्ययन गरेको पाइएको सुनाए। ‘यो उपन्यासको शक्तिको कुरा गर्ने हो भने एउटा जुनचाहिँ लाहुरेको दुःखको अलिखित इतिहास छ त्यो बाहिर आएको छ। अर्को कुरा ब्रिटिसले गरेको शोषणको सन्दर्भ छ। लाहुरेको मनोविज्ञानसमेत उपन्यासमा पाइन्छ’, उनले भने।

अर्का वक्ता उप्रेतीले यो कृति यात्रा उपन्यासका रुपमा प्रस्तुत रहेको बताए। ‘किवाहाङ जहाँ-जहाँ जान्छ त्यहाँ-त्यहाँ हामीलाई पनि लैजान्छ’, उनले भने, ‘आख्यानहरूमा कल्पना बढी हुने हो। यहाँ पनि कल्पना छ। यद्यपि, यो पुस्तक तथ्यमा आधारित भएर लेख्नुभएको छ। बेजोड तथ्यहरू प्रस्तुत गर्नुभएको छ।’ गोर्खा सैनिकबारे दसौँ लाख बजेटको परियोजनाभन्दा महत्त्वपूर्ण रूपमा यो कृति आएको उनको भनाइ छ।

साहित्यकार रेग्मीले दोस्रो विश्वयुद्धलगत्तै ब्रिटिस गोर्खाले भोगेको कथा यस उपन्यासमा रहेको बताइन्। गोर्खाहरूको पैसाले नेपालमा दरबार बनेका र शासकहरू पालिएका तीतो सत्यलाई उपन्यासले उजागर गरेको उनको भनाइ छ।

उपन्यासकार राईले ६० वर्षअघिको इतिहासलाई आख्यान बनाएको सुनाए। ‘इतिहासलाई आधार बनाएर लेखेको हुँ। यो इतिहास होइन, इतिहास नजिक छ’, उनले भने। विश्वयुद्धमा पीडित पक्षले क्षतिपूर्ति पाइरहँदा गोर्खाहरु त्यसबाट वञ्चित रहेको उनको भनाइ छ। ‘गोर्खाहरूको इतिहास सही तरिकाले लेखिएको पनि छैन। सम्बन्धित गोर्खाहरूले भन्दै आएका तथ्य र लिखित इतिहासमा समानता छैन। मैले उपन्यासमा गोर्खाहरूको सत्य कुरालाई समावेश गराउने प्रयत्न गरेको छु’, उनले भने।

साब्लाबुङ पुस्तकालय अभियानले आयोजना गरेको कार्यक्रममा लेखक/समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, डा. अञ्जना वस्ती, डा. तुलसी भट्टराई, बालकृष्ण माबोहाङ, बुलु मुकारुङ, डा. ज्ञानू पाण्डे, महेश पौडेल, डीआरलगायत सहभागी थिए।

प्रकाशित: १३ साउन २०८१ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast