प्रविधिको विकासले मानिसलाई लामो समय बाँच्ने बनाएको छ : प्रधानमन्त्री ओली

हिमाल प्रेस १२ साउन २०८१ १६:४७
8
SHARES
प्रविधिको विकासले मानिसलाई लामो समय बाँच्ने बनाएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको विकासले मानिसले अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन्।

शनिबार नेकपा एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित ‘नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा सङ्ग्रह’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको विकासले मानिसलाई लामो समयसम्म बाँच्ने बनाएको बताए।

‘अबको समय भनेको दीर्घजीवनको समय हो, स्वास्थ्यका लागि थुप्रै उपचारका कुराहरू हुन्छन्,’ ओलीले भने।

अहिलेको युग उहिलेको जस्तो नभएको ओलीको भनाइ छ। ‘उहिलेको जस्तो होइन, यहाँ यत्रो विघ्न डाक्टर पढाइएको छ, यत्रो विघ्न अस्पताल खोलिएको छ, यत्रो विघ्न मेसिनसेसिन किनेर ल्याइएको छ, यत्रो विघ्न औषधी छन्,’ उनले भने।

आफू इञ्जिनको पार्टपुर्जा फेरे जस्तै दुईपटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै भएको ओलीले सुनाए। यो सबै विज्ञान प्रविधिको विकासका कारण भएको उनले बताए।

उनले साहित्यकार नेत्रप्रसाद गौतम ८० वर्ष पूरा गरेको भए पनि अझै धेरै कृति लेख्ने विश्वास व्यक्त गरे।

‘भर्खर ८० वर्ष हुनुभयो, उहाँले थुप्रै काम गर्न बाँकी छ,’ओलीले भने।

नेपाली भूमि साहित्य, कला र संस्कृतिको उर्वर भूमि भएको उनले बताए।

नेपाल ज्ञानको उत्पत्ति र विस्तार भएको ठाउँ भएको ओलीले उल्लेख गरे। अनुभवहरू परिष्कृत भएपछि ज्ञान बन्ने उनको भनाइ छ। ‘ज्ञान विकास गर्ने, सञ्चित गर्ने र विस्तार गर्ने कार्य धर्तीको यही भूभागमा भएको थियो,’ उनले भने।

ओलीले नेपाल साहित्यकारहरूको पनि उर्वर भूमि भएको बताए। भानुभक्त, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएका उनले बताए।

रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने साहित्य रचनाकारहरू नेपालमा मात्र भएका उनले प्रष्ट पारे। त्यस्तो प्रतिभा विश्वमा अन्यत्र नभएको ओलीले जिकिर गरे।

नेपाली साहित्य आज माथि उठ्न खोजेको भए पनि कुन बाटोबाट अघि बढ्ने भन्ने बहस चलिरहेको ओलीको भनाइ छ। यसको लागि वृहत् छलफल आवश्यक रहेको उनले सुनाए।

प्रकाशित: १२ साउन २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast