एयरपोर्टमा भेटिएका उनी

अन्जु न्यौपाने १२ साउन २०८१ १४:५५
318
SHARES
एयरपोर्टमा भेटिएका उनी

कुनै-कुनै पल साह्रै पट्यारलाग्दा हुन्छन्। आफ्नो व्यस्त जीवनकै बीचमा त्यतिकै समय कटाउनुपर्ने पल पनि आउँदो रहेछ, आफूले नचाहँदानचाहँदै पनि। यस्तो समस्याग्रस्त समयमा पनि ‘हरेक समस्याभित्र अवसर लुकेको हुन्छ’ भनेझैँ महत्त्वपूर्ण अनुभव पनि हुँदो रहेछ। यस्तो अनुभव कि जसले जिन्दगीभर छाड्दैन। अथवा भनूँ, जीवनको नयाँ अध्याय नै सुरु हुन गइरहेको हुन्छ। अप्ठ्यारो परेको समयमा नसोचेको मान्छे भेटिएर मेरो भविष्य नै फेरिदिन्छ भनेर मलाई अलिकति पनि अनुमान थिएन, जब म हतारहतार एयरपोर्टतिर गइरहेकी थिएँ ।

काठमाडौँ आउँदा जति खुसी लाग्छ, फर्किँदा त्यसको ठिक विपरीत अनुभव हुने। मन नै भारी भएर आउने। यही भारी मन लिएर बिहानको हवाईजहाजको टिकट काटेकी थिएँ। मन नलागीनलागी टिकट काटेको भएर या जान मन नै नलागिरहेको भएर होला, घरबाट निस्किने बेलामै एयरपोर्ट पुग्न हतार भइसकेको थियो। आखिर जानु नै छ र समय नै घर्किन लागेपछि भने म अलिकति आत्तिएकी थिएँ र तुरुन्तै ट्याक्सी चढेर एयरपोर्ट हान्निएकी थिएँ। भ्याइन्छ भन्दाभन्दै एयरपोर्टको गेटबाट भित्र छिर्दा दिएको समयभन्दा पाँच मिनेट बढी कटिसकेको थियो। र, मेरो हवाईजहाज छुटिसकेछ। काठमाडौँबाट प्रस्थान गरिसकेछ।

मेरो भाग्य भनूँ, कहिलेकाहीँ दुईचार घण्टा नै डिले हुने हवाईजहाज कहिले भने ठ्याक्कै समयमै उडिदिन्छ, जसरी आज उडेछ। सुनेर निकै खिन्न लाग्यो। दोष कसलाई दिनु र! आफ्नै कमजोरीले भनूँ, समस्या आइपर्‍यो।

अब यो समस्यामा के अवसर लुकेको छ, त्यो त थाहा भएन तर मेरा धेरै काम छुट्ने पक्का थियो। आफ्नो योजनामुताबिक काम हुन नसक्ला भन्ने चिन्ता लागिरहेको थियो एकाएक। छुट्नु छुटिहाल्यो, पुग्नु पनि छँदै छ। हवाईजहाज छुट्यो त्यसैले अब कर्मथलो पुग्दिनँ भन्न पनि मिलेन।

मैले तुरुन्तै स्टेसनमा पुगेर आफ्नो समस्या पोखेर अर्को उडानका बारेमा बुझेँ। त्यहाँ एकैछिन उभिएपछि चार घण्टापछिको अर्को उडानको टिकट उपलब्ध भयो। टिकट त पाइयो तर अब चार घण्टा कसरी बिताउने! समय र समयबीच नै पनि कति फरक हुँदो रहेछ! घरमा हुन्जेल त्यो समय कहिल्यै नसकिए हुन्थ्यो भन्ने लागिरहेको थियो। एयरपोर्ट आइरहँदा बाटोमा झन् समय अत्यन्तै ढिलो बितिदिए हुन्थ्यो भन्ने लागिरहेको थियो। कर्मथलोमा काम गरिरहँदा पनि समय कतिखेर कट्छ पत्तै हुँदैन। त्यही समय यो भने बेला अब कसरी कटाउने भन्ने भइरहेको थियो। त्यो पनि चारचार घण्टा। चार घण्टाको लम्बाइ धेरै नै हुँदो रहेछ भन्ने लागिरहेको थियो। हुन त, कर्मथलो र काठमाडौँ सरासर आउजाउ गर्ने हो भने झण्डै पाँचपटक आउनजान सकिने समय हो चार घण्टा।

यति समय जसरी पनि कटाउनै थियो- शौचालय गएँ, प्रतीक्षालयमा बसेँ, बाहिर गेटसम्म निस्किएँ, यता र उता हिँडेँ। भित्तामा लेखिएका केके-केके कुराहरू पढेँ, मान्छेहरू हेरेँ, मान्छेका अनुहार पढेँ, उनीहरूले लगाएका लुगा हेरेँ, गर्न सक्नेजति सबै गरेँ। तर अहँ, समय कट्दै कटेन। जति कट्यो एकदमै सुस्त गतिमा। साह्रै झ्याउ लागेर म डोमेस्टिकबाट बाहिर पार्किङ भएको ठाउँमा निस्किएँ। मानिसहरू आआफ्नै धुनमा थिए। एयरपोर्ट आउने र जाने मानिस आआफ्नै हतारमा देखिन्थे। मानौँ, सबैजना एकेकवटा संसार बोकेर हिँडिरहेका छन्।

म त्यहाँबाट निस्किएर अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेँ, जहाँ अलिक फरक माहोल थियो। फरक यस अर्थमा कि त्यहाँ अलि बढी भीड थियो तर मानिसलाई डोमेस्टिकमा भन्दा अलि कम हतार भइरहेको जस्तो। केही मानिस गलाभरि खादा लगाएर लाइनमा उभिएका देखिन्थे। मैले पार्किङको छेउबाट देखेँ यो दृश्य। मसँग समय छँदै थियो प्रशस्तै, त्यसैले एकपटक त्यतातिर जान मन लाग्यो र पार्किङबाट बाहिर निस्किएको सडकको छेउछेउ हुँदै त्यतैतिर लागेँ।

चरक्क घाम लागिरहेको थियो । एकैछिन त घाममा के हिँड्नु भन्ने लागिरहेको थियो तर समय जो कटाउनु थियो।

अन्तर्राष्ट्रिय विमानस्थलको गेट मजाले देखिने ठाउँमा पुगेपछि म एकछेउमा उभिएर त्यहाँको रमिता हेर्न थालेँ। हरिया पासपोर्ट बोकेका, निधारभरि टीका र गलामा खादा लगाएका र बाइबाइ गर्दै हात हल्लाइरहेका युवाको निकै लामो लाइन थियो त्यहाँ। त्यो लाइनले नेपालको वर्तमान परिस्थितिलाई ठाडो चुनौती दिइरहेको जस्तो लागिरहेको थियो। नेपालको अहिलेको असली अवस्था बुझ्न चाहने हो भने हजारौँ युवा पलायन भइरहेको यस ठाउँमा आएर उभिनुपर्ने रहेछ।

बिदाइ गर्न आउने र बिदा भएर जानेको अनुहार कान्तिहीन देखिइरहेको थियो। कोही रोइरहेका पनि थिए। कोही भने जसोतसो आँसु रोकिरहेका। बाध्यतामा बिदेसिनुपरेको पीडा बोलिरहेका थिए ती दृश्यले। त्यही बेला मेरो आँखा एकजना बूढीआमामा पुगेर ठोक्कियो। उहाँको अवस्था हेर्दा आफ्नो छोरालाई बिदाइ गरिरहेको जस्तो लागिरहेको थियो। सुरुमा उहाँले छोरालाई मिठाई खुवाउनुभयो, घाँटीमा गलबन्दी लगाइदिनुभयो, पिठ्युँमा रहेको झोलामा अड्काएर नेपालको झण्डा राखिदिनुभयो र छोराको अँगालोमा बेरिएर रम्न थाल्नुभयो।

मैले योभन्दा बढी हेर्न सकिनँ र टाउको निहुराएर शून्यभावले फर्किएँ। हिँडिरहँदा खिन्न लागिरहेको थियो। मानिसका आआफ्ना बाध्यता। आखिर यो बाध्यतामा चलेको जिन्दगी न रहेछ! मलाई पनि त कति रहर थियो, आफ्नो परिवारसँगै राजधानीमा बसूँ भन्ने। मेरो पनि बाध्यता, कर्मभूमिमा फर्किंदै छु। धन्न म आफ्नो देशभित्र नै छु र अलिकति खुसी हुन सक्छु। बेलाबेलामा आफ्नो घर आउन सक्छु। फर्किएर पुनः प्रतीक्षालयमा आएर बसिसक्दा त्यहाँ देखेको भावुक दृश्यको प्रभाव निकै कम भइसकेको थियो तर समय अझै दुई घण्टा बाँकी थियो।

अबको बाँकी दुई घण्टा के गर्ने होला भनेर सोचिरहँदा मलाई हिँड्ने बेलामा हतारहतार एउटा किताब आफ्नो झोलामा हालेको याद आयो। यसो फुर्सदको समयमा मैले लगभग आधाजति पढेर भ्यासकेकी थिएँ। राम्रो लागेकाले पूरै पढ्छु भनेर झोलामा हालेकी थिएँ। अहिले सम्झिँदा आफ्नो बुद्धिमत्ता देखेर आफैँलाई खुसी लाग्यो। म त्यो किताब निकालेर पढ्न थालेँ।

बेलाबेलामा पढ्दै, बेलाबेलामा वरिपरिको दृश्य हेर्दै एक खालको भावमा बगिरहेकी थिएँ। यसरी मुस्किलले समय थप एक घण्टा बितिसकेको थियो। दिउँसोको १२ बजेको थियो। अब जम्मा एक घण्टा बाँकी थियो। यो एक घण्टा पनि धेरै लामो थियो मेरा लागि। एकान्तमा बसेर किताब पढ्ने बानी, भीडभाडमा खासै पढ्नमा ध्यान गइरहेको थिएन। समय कटाउन मात्रै पढिरहेको थिएँ।

पढिरहेको किताबबाट टाउको उठाएर त्यहाँको दृश्य नियाल्ने क्रममा एक्कासि मैले एकजना परिचित मान्छे देखेँ, पर काउन्टरनेर। मेरै क्षेत्रका एक चर्चित व्यक्तित्व थिए। मैले उनलाई चिन्थेँ र उनले पनि मलाई। एकदुईपटक सामान्य कुराकानी भएको थियो हाम्रो, त्यति हो।

एकछिन त बोलूँ कि नबोलूँ भइरहेको थियो। तर आफ्नो कोही नभएको समय र स्थानमा उनी नै मेरो नजिकको मान्छे जस्तो लाग्यो र म बोल्न गएँ।

‘नमस्ते !’ मैले दुई हात जोडेर उनीसँग आँखा जुधाउँदै भनेँ।

उनले पनि ‘नमस्ते’ भने।

‘तपाईँ पनि जाँदै हुनुहुन्छ ?’ मैले सोधेँ।

‘हजुर, जाँदै छु।’

‘कति बजेको टिकट?’

‘एक बजे।’

‘मेरो पनि एक बजेको।’

यसरी कुराकानीको सुरुवात गरेर हामीले केही भलाकुसारी गर्‍यौँ। मैले आफ्नो हवाईजहाज छुटेको घटनाको फेहरिस्त उनलाई सुनाएँ। पहिला त्यति कुराकानी नगरेकाले हुन सक्छ, हामीलाई कुराकानी लम्ब्याउन केही सकस भइरहेको थियो। कुरा गर्ने विषयवस्तु आइरहेको थिएन। अलिअलि भएको विषय दुई-चार बातमै सकिइसकेको थियो।

उनले केही प्रश्न सोधिदिए पनि हुन्थ्यो भन्ने लागिरहेको थियो। तर उनी कम बोल्ने मान्छे रहेछन्, केही सोधेनन्। एकैछिन हामी दुवैजना एकअर्कालाई के भन्ने भावमा उभियौँ। मौन उभ्याइ हाम्रा निम्ति सकस भयो। उनलाई अझै बढी गाह्रो भयो क्यारे, ‘एकैछिन ल’ भन्दै कता लागे, थाहा भएन।

म फेरि पहिलाकै स्थानमा गएर बसेँ र फेरि पुस्तक पल्टाएर समय कटाउन थालेँ। केही समयपछि बोडिङ खुल्यो। म लाइनमा गएर बसेँ। उनी एकैछिनमा आइपुगे र मतिर हेरे। मैले उनलाई आफ्नो पछाडि आउन संकेत गरेँ।

उनले एक्कासि भने, ‘हामी एउटै सिटमा जाँदा कसो होला ?’ उनले अलिकति आँट गरेर बोलेको जस्तो मलाई लाग्यो। मलाई कुनै आपत्ति थिएन। मुसुक्क हाँसेर ‘हुन्छ’ भनिदिएँ। म अगाडि भएकाले मैले नै उनको कुरामा केही थपेर काउन्टरमा दोहोर्‍याएँ, ‘के हामीलाई एउटै लहरको सिट मिल्न सक्छ ?’

एउटै सिट मिल्यो।

यति खेरसम्म मैले उनीसँग अलि बढी नजिक भएको अनुभव गरिसकेको थिएँ।

बोडिङ पास गरिसकेपछि हामी सँगसँगै भित्र गयौँ।

अब छुट्टाछुट्टै जानुको कुनै अर्थ थिएन, एउटै सिटमा जो यात्रा गर्दै थियौँ।

एउटै सिट भन्नेबित्तिकै नजिकैको मान्छेजस्तो लागिसकेको थियो मलाई र उनी पनि केही सहज र खुसी भएको मैले देखिरहेकी थिएँ।

भित्र पुगेपछि हामीले कफी मगायौँ र गफ गर्न थाल्यौँ। एकछिन अगाडिसम्म के बोल्ने भनेर विषयवस्तु नभेटेका हामी दुवैजनालाई यति बेला भने विषयवस्तुको ओइरो लागिरहेको थियो।

एउटा विषयको गफ टुंग्याउन नपाउँदै अर्को विषय सुरु भइहाल्थ्यो।

म एउटा कुरा भन्थेँ, उनी अर्को कुरा।

यसरी हामीले यस छोटो अवधिमै धेरै कुरा गर्‍यौँ। आफ्नो कर्मथलोका बारेबाट सुरु भएको हाम्रो कुराकानीले आफ्नो भविष्यको योजना, जीवनको उद्देश्य, पढाइ, साहित्य, समाज, राजनीति गर्दै धेरै विषय छुन भ्यायो। त्यही ढिलो बितिरहेको समय अब तुरुन्तै बितेजस्तो लाग्यो। तर किन हो, उनका कुरा सुनिरहूँ जस्तो लागिरहेको थियो। उनको विषयवस्तुप्रतिको गाम्भीर्यता, विषय प्रस्तुत गर्ने सहज शैली, बोल्दाखेरि मुस्कुराइरहने उनको अनुहार- यस्ता धेरै कुरा थिए, जसले उनको आकर्षक व्यक्तित्वमा सुगन्ध छरिरहेका थिए।

अहिले सम्झिँदा मलाई लाग्छ, सायद हामीले कुराकानी गर्दा एकअर्काले उठाएका विषयवस्तुलाई बीचमै काटेका थिएनौँ। आफ्नो अहंकार बीचमा छिराएर आफू मात्रै जान्ने भनेर प्रस्तुत भएका थिएनौँ। एकअर्काका कुरालाई सहमति र साथ दिइरहेका थियौँ। हुन पनि खास राम्रो र नराम्रो भन्ने त के हुन्छ र? हरेक घटना या विषयमा मानिसले आफ्नोआफ्नो दृष्टिकोण पेस गर्ने त हो नि। त्यसलाई बीचमा काट्नुको के तुक र! समय बितिहाल्यो।  हवाईजहाजसम्म पुग्नुपर्ने सूचना आयो। हामी सँगसँगै अन्तिम गेटबाट भित्र छिर्‍यौँ र बसमा पुगेर पनि सँगसँगै बस्यौँ।

यति बेलासम्म म उनीसँग धेरै नै सहज बनिसकेकी थिएँ र उनी पनि। लाग्दै थियो, हामी धेरै पहिलादेखिका अत्यन्तै मिल्ने साथी हौँ। हामीले एकअर्कालाई राम्रोसँग बुझेका छौँ। नढाँटी भन्ने हो भने एक खालको मिठो सुगन्ध पाइरहेकी थिएँ मैले उनीबाट।

कस्तो अचम्म! केही समयपहिलासम्म हवाईजहाज छुट्नु मेरा लागि ठूलो समस्या बनेको थियो। आफैँलाई दोष दिइरहेकी थिएँ मैले। त्यसभित्र पनि कुनै सुन्दर कुरा लुकेको हुन सक्छ भनेर अलिकति पनि सोचेकी थिइनँ। सोचे पनि यो सुन्दर पलको त्यो बेलामा कल्पनासमेत पनि हुन सक्दैन थियो। आफ्नो छुटेको काम सम्झिएर एक खालको पछुतोजस्तो लागिरहेको थियो। तर अहिले हवाईजहाज छुटेर राम्रो भएछ भन्ने पो लागिरहेको थियो। छुटेको कामको सम्झना पनि भइरहेको थिएन।

हवाईजहाज मौसमको गडबडी या अन्य कुनै कारणले दुईचार घण्टा अझै ढिलो भए पनि मलाई कुनै आपत्ति थिएन। कुनै हतार थिएन। आफूलाई मिठो लागेको समय छिटो बित्दो रहेछ । सायद अल्बर्ट आइन्सटाइनले भनेको समयसापेक्षताको यही अर्थ होला। हामी हवाईजहाजको सिटमा पुगेर बस्यौँ। म झ्यालतिरको सिटमा र उनी अर्कापट्टि। अब पैँतालिस मिनेटको यात्रा हुँदै थियो हाम्रो।

यहाँनेर मलाई अझै खुसी किन लागिरहेको थियो भने हवाईजहाजमा यात्रा गर्नु मेरा निम्ति एक हिसाबले पीडादायक हुन्थ्यो। मन भारी भएर आउँथ्यो । यो पैँतालिस मिनेटको अवधि निकै सकसपूर्ण लाग्थ्यो। कठिन लाग्थ्यो। हवाईजहाज उडेर जतिजति माथि आकाशतिर जान्थ्यो, मेरो मुटुले ड्यांग्रो ठोक्थ्यो। जमिनतिर हेर्दा कहाँ हो कहाँ जमिन! बादलभित्र हराइरहेको छु भन्ने सम्झिएर त्यो सुन्दर दृश्य पनि कहालीलाग्दो बन्थ्यो।

तर आज कुरै अर्को छ।

डर त आज पनि लागेको हो। तर उनले मेरो भाव बुझेछन् र भने, ‘नडराउनुस्, म छु नि ! कसैकसैलाई यस्तै हुन्छ।’

उनको यो वाक्यले मलाई म उनकै हुँ भन्ने लाग्यो। सधैँदेखि उनकै।

हवाईजहाजले धर्ती छाड्ने समयमा मैले उनको हात समात्न पुगेछु। मैले उनको हात समातेपछि उनले मेरो हातलाई अझै कसिलो गरी दबाए। मानौँ, उनले ‘म सधैँ तिम्रो साथमा छु’ भनेर विश्वास दिलाइरहेका छन्। अनि उनको त्यो हातले मेरो डरलाई धेरै कम बनाइदियो।

मैले पहिलोपटक भुइँको दृश्य हेरेँ राम्रोसँग। मैले मात्रै के भन्नु, हामीले। हो, हामी सँगसँगै आकाशमा हरायौँ। बादलसँग लुकामारी खेल्यौँ। हवाईजहाज तल-माथि, दायाँ-बायाँ गर्दा एकअर्कालाई हेरेर मुस्कुरायौँ। एकअर्कालाई कसेर पक्रियौँ। नीलो आकाशको दृश्य हेरेर मोहित बन्यौँ। मानौँ, हामी स्वर्गलोकमा छौँ र पुष्पक-विमानमा यात्रा गरिरहेका छौँ। पैँतालिस मिनेट एकैछिनमा बितिहाल्यो। हवाईजहाजबाट झरेर छुट्टिने बेलासम्ममा हामी निकै नजिक भइसकेका थियौँ। मेरो तर्फबाट त उनी साह्रै नजिक भएको अनुभव भइरहेको थियो।

एयरपोर्टबाट आफ्नो बासस्थान पुग्ने बेलासम्ममा उनले बोलेका ती शब्द मेरो कानमा एकेक गरेर गुन्जिरहेका थिए। उनको सुगन्ध नाकले अनुभव गरिरहेको थियो। उनीसँगको स्पर्शको अनुभव मेरो शरीरको छालामा जस्ताको तस्तै थियो। मेरो आँखामा उनको व्यक्तित्व पूरै झल्किरहेको थियो। कुन मान्छेसँग कति बेला भेट भएर त्यो मान्छेसँग यति नजिक भइन्छ भनेर थाहै नहुँदो रहेछ। अनि कहिलेकाहीँ जीवनमा समस्या आइपर्नु पनि फाइदाजनक नै हुँदो रहेछ।

उनको सकारात्मक सोच, सुन्दर व्यक्तित्व सम्झिँदै म आफ्नो बासस्थान पुगेँ। मनमनै सोचिरहेकी थिएँ, जे हुन्छ राम्रैका लागि हुन्छ। त्यो साँझ, काठमाडौँको एयरपोर्टमा उनीसँगै बसेर कफी खाएको सम्झिँदै कफीको चुस्की लिँदै थिएँ, मोबाइलको घण्टी बज्यो। उनकै नम्बरबाट फोन आएको रहेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =