रूढिवादी परम्परालाई भत्काउने कार्यलाई मात्र क्रान्ति मानिँदैन। स्थापित सोच र मान्यतालाई परिवर्तन गर्ने गर्नु वास्तविक क्रान्ति हो। राजनीतिमा आज जुन विषय अस्वीकार्य वा निषेधित छ त्यही भोलि गएर संविधानमा लिपिबद्ध हुन सक्छ। २००७ सालमा राणा शासनविरुद्ध भएको आन्दोलन एउटा क्रान्ति थियो। जसको परिकल्पनाकार बीपी कोइराला थिए। नेपालमा जेजति क्रान्ति भएको छ त्यसको माउ क्रान्तिको वर्ष थियो २००७ र २०४६।
२०६३ सालको आन्दोलनका आयतन ठूलो होला। तर त्यसको बीजारोपण बीपीकै नेतृत्वमा २००७ सालमा भएको थियो। बीपी त्यही क्रान्तिले स्थापित नेता हुन्। यद्यपि क्रान्तिका औपचारिक नेता पार्टी सभापति मातृकाप्रसाद कोइराला थिए। क्रान्तिका लागि चाहिने स्रोतसाधन सुवर्णशमशरले जुटाएका थिए। तर त्यो क्रान्तिको मुख्य रचयिता बीपी नै हुन्।
२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालदेखि नै पार्टी संगठन, क्रान्ति र क्रान्तिपछिका आर्थिक, सामाजिक, राजनीतिक उद्देश्यका बारेमा बीपीले परिकल्पना गरेका थिए। नेपालको इतिहासमा २००७ सालको क्रान्ति आधुनिक कालखण्डमा प्रवेश बिन्दु हो। त्यही क्रान्तिबाट नेपाल खुला समाजमा प्रवेश गरेको हो।
जनतामा राष्ट्रिय भावना जागृत गर्ने काम यही क्रान्तिबाट भएको हो। यो क्रान्ति नेपाली कांग्रेसका लागि मात्रै थिएन। समाजमा राणा शासनद्वारा दबाइएका सम्पूर्ण नेपाली जनताका लागि थियो। अर्थात् कुनै एक समूह वा पक्षका लागि थिएन। सबैका लागि थियो।
२००७ सालमा प्रजातन्त्र प्राप्त भएपछि राणा र कांग्रेसको गठबन्धनको सरकार बनेको थियो। राणाहरूको कुनै दल नभए तापनि दिल्ली सम्झौताअनुसार राणको प्रतिनिधित्व हुने गरी मोहनशमशेर प्रधानमन्त्री र कांग्रेसबाट बीपी कोइराला गृहमन्त्री भएका थिए। यो सरकारको मुख्य काम संविधानसभामार्फत जनताको संविधान र निर्वाचित सरकार गठन गर्नु थियो।
राजा त्रिभुवन पनि यसमा सहमत थिए। सताको राप र तापले केही समयमै त्रिभुवनको मनोदशामा परिवर्तन आयो। राणा र कांग्रेसको संयुक्त सरकारबीच खटपट र मतभेद सुरु हुन थाल्यो। यो सरकार एक वर्ष पनि टिकेन। सरकार आफ्नो लक्ष्य प्राप्तिमा असफल भयो। त्यसपछि त अनेकौँ सरकार गठन र विघटनको शृंखला प्रारम्भ नै भयो।
बीपीको कलात्मक नेतृत्वको अगाडि दरबारको केही सीप लागेन र अन्त्वतोगत्वा २०१५ सालमा आमनिर्वाचनको घोषणा भयो। कांग्रेस, गोरखा परिषद् र नेपाल कम्युनिस्ट पार्टी गरी तीन मुख्य दल यो चुनावी मैदानमा थियो। अरू पनि दलहरू थिए तर तिनको खासै प्रभाव नेपालको राजनीतिमा थिएन। त्यो चुनावमा नेपाली कांग्रेसले दुईतिहाई मतका साथ विजयी भएका थिए। राजा महेन्द्रको कांग्रेसविरुद्धका सबै किसिमका रणनीतिलाई निस्तेज पार्दै दुईतिहाई मत प्राप्त गरेको थियो।
यो आफैँमा नेपाली राजनीतिको एउटा ऐतिहासिक घटना हो। बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन पुगे। लामो प्रतीक्षापछि जनताबाट निर्वाचित सरकार बनेकोमा एउटा उत्साहको वातावरण थियो। त्यसमाथि बीपीको कार्यशैली र व्यक्तित्वले सबैलाई तरंगित बनाएको थियो। कम्युनिस्टहरू फुच्चे पार्टीका रूपमा दर्ज भएका थिए। जसले देशभरमा जम्म ४ सिटमा हासिल गरेको थियो।
बीपी र महेन्द्र दुई विपरीत राजनीतिक मूल्य-परम्परा बोकेका व्यक्तित्व थिए। यिनको टकरावको परिणाम निर्वाचित सरकारलाई महेन्द्रले २०१७ साल पुस १ गते सेनाको बलमा अपदस्थ गरिदिए। २०१९ सालमा पञ्चायती संविधान लागू गरे। निर्दलीय सरकारको अभ्यास सुरु भयो। राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा पुग्यो। बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईजस्ता कांग्रेसका नेता जेलमा कोचिए।
अवश्य पनि कांग्रेसले सत्ता गुमायो तर धैर्य गुमाएन। निरन्तर पञ्चायत शासनविरुद्ध लडिनै रह्यो। जनताका अधिकार पुनः बहाली कांग्रेसको एकमात्र उद्देश्य थियो। कांग्रेसका कार्यकर्ताहरूले आन्दोलनमा ज्यानको आहूति दिनुपरेको थियो। कांग्रेस त्यो शक्तिको नाम थियो जो प्रजातन्त्रका लागि लड्ने र नेपाली जनताको अधिकार सुनिश्चित गर्ने महाअभियानमा लागेको थियो।
सता आउला नआउला कांग्रेसको विषय थिएन। मात्र यति थियो प्रजातन्त्र पुनर्बहाली होस्। जनताले आफ्नो हकअधिकारको उपभोग गर्न सकून्। राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको थियो। सभा,सम्म्लेन र राजनीति गतिविधि गर्न रोक लगाइएको थियो। २०२५ सालमा आठ वर्ष सुन्दरीजल जेलमा बन्दी जीवन बिताएर रिहाइ भएका बीपी कोइराला प्रजातन्त्र पुनःस्थापनाको अभियानमा थिए। अपदस्थ प्रधानमन्त्री बीपी कोइराला भारतमा निर्वासित जीवन बिताउन बाध्य भएका थिए। उनी यतिकै चुप लागेर बस्ने व्यक्ति थिएनन्।
२०२८ सालमा प्रजातन्त्र पुनःस्थापनाको उदेश्य लिएर राजाका शासनविरुद्ध सशस्त्र आन्दोलनको आह्वान गरे। त्यतिबेला भारतमा इन्दिरा गान्धीको सरकार थियो। उनी इन्दिरासँग आर्थिक र नैतिक दुवै किसिमको समर्थन पाउने अपेक्षा राखेका थिए। आश्वासन त पाए तर सहयोग कहिले पाएनन्। त्यसै बीचमा तत्कालीन पूर्वी पाकिस्तानमा स्वतन्त्रताका लागि विद्रोह भयो।
भारतका समाजवादी जो बीपीसँग निकट थिए नेपाली कांग्रेसले सशस्त्र आन्दोलनमा प्रयोग गर्ने गरेको हतियार माग्न थालेका थिए। भारतीय समाजवादी नेता जयप्रकाश नारायणको आग्रहमा बीपीले केही हतियार बंगलादेश मुक्ति आन्दोलनका लागि सापटीका रूपमा दिए। बंगलादेश स्वतन्त्रतापछि बीपीलाई लागेको थियो नेपालमा क्रान्तिका लागि बलियो समर्थन जुट्नेछ। तर परिस्थिति बीपीले सोचे जस्तो भएन। सहयोग त पाएनन् आफूले दिएका हतियारसमेत फिर्ता पाएनन्।
इन्दिरा गान्धीको रणनीति थियो बीपीलाई उपयोग गर्ने र आफूले भनेजस्तो नभए नि:शस्त्र बनाउने। भारतको आन्तरिक राजनीतिमा इन्दिरा सरकारका विरोधमा आवाज उठ्न थालेको थियो। गरिबी, बेरोजगारी, भ्रष्टाचारलगायत समस्याका कारण भारतको अर्थव्यवस्था पनि तहसनहस हुन पुगेको थियो। इन्दिरा गान्धी सरकारका विरुद्ध समाजवादी नेता जयप्रकाश नारायणले ‘सम्पूर्ण क्रान्ति’ को घोषणा गरेका थिए। इन्दिरालाई थाहा थियो, बीपी यत्तिकै चुप लागेर बस्दैनन्। त्यसमा जेपी बीपीको पारिवारिक मात्र होइन सैद्धान्तिक रुपले नै नजिक थिए।
इन्दिराको अपेक्षा थियो आफूविरुद्ध लक्षित आन्दोलनमा बीपी नलागून्। तर बीपी कहाँ चुप लागेर बस्न सक्थे र? आन्दोलनका क्रममा थुप्रै भारतीय नेता पक्राउ परे। त्यसबेला कर्पुरी ठाकुरलगायत अन्य नेतालाइ आन्दोलनका लागि प्रोत्साहन गर्ने काममा बीपी सक्रिय भएका थिए।आफैँविरुद्धको आन्दोलनमा बीपीको संलग्नता इन्दिरालाई मन पर्ने कुरै थिएन।
बीपीले इन्दिराबाट सहयोग नपाउनुको कारण यही थियो। त्यसपछि इन्दिराले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई दिनु दु:ख दिए। विराटनगर हवाईजहाज अपहरण काण्डमा कतिपयलाई धरपकड गरे। बीपी नेपाली जनताका मुक्तिका लागि मात्रै लडेनन् भारतीय जनताका स्वतन्त्रता र समाजवादी आन्दोलनमा पनि सहयोग र समर्थन गर्ने नेता हुन्। प्रजातन्त्र र समाजवादको अडानबाट उनलाई न महेन्द्रले झुकाउन सके न त इन्दिरा गान्धीले। उनी विशाल वृक्ष थिए जसका मुनि महेन्द्र लिलिपुटियन देखिन्थे।
भारतमा जेपीको आन्दोलन दबाउन इन्दिराले पूरै देशलाई जेल बनाएका थिए। बीपी भन्ने गर्थे भारत ठूलो जेल भयो बरु सानो जेल नेपाल नै फर्किन्छु। त्यो बेला भूराजनीतिमा पनि ठूलो फेरबदल भइरहेको थियो। सोभियत युनियनको अफगानिस्तानमाथिको आक्रमण र सिक्किम भारतमा विलय भएको घटनाले बीपीको मनमा तुफान उठिरहेको थिए। सबै स्थितिको विश्लेषण गर्दै उनी २०३३ सालमा ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर नेपाल फर्किने निर्णय गरे।
बीपीको नेपाल फर्किने निर्णय गरेको सुनेर इन्दिरा गान्धी अचम्मित थिए। एउटा व्यक्ति जसलाई उसको देशमा फासीको सजाय हुन सक्छ त्यो कसरी फर्किन सक्छ? इन्दिराले बीपीलाई भारतमै रोक्न अनेकन् प्रयास गरेका थिए। उनको रणनीति थियो बीपी देखाएर दरबार तर्साउने र दरबार देखाएर बीपीलाई। यद्यपि दरबारले पनि चाइना देखाएर इन्दिरासँग बार्गेनिङ गरिरहन्थ्यो। ०३३ सालमा बीपी मेलमिलापको नीति लिएर फर्किंदा नेपालमा उनीविरुद्ध राजद्रोहसम्बन्धी सातवटा मुद्दा थियो। बीपी सिक्न जानेका थिए तर झुक्न जानेका थिएनन्। राष्ट्रियता,लोकतन्त्र र समाजवादप्रति उनको चट्टानी अडानका कारण उनलाई मानव होइन महामानवको बनायो।
(कर्ण नेपाली कांग्रेस तरुण दलका केन्द्रीय सदस्य तथा सिभिल इन्जिनियर हुन्।)