हमासको कमान्डर मार्न इजरायलले झार्‍यो आठ हजार किलो बम

हिमाल प्रेस २ साउन २०८१ १२:३१
82
SHARES
हमासको कमान्डर मार्न इजरायलले झार्‍यो आठ हजार किलो बम इजरायली सेनाको बम आक्रमणबाट ध्वस्त दक्षिणी गाजाको एउटा बस्ती। तस्बिर : एपी/रासस

इजरायलले मोहम्मद डेइफलाई मार्न बारम्बार प्रयास गरिरहेको थियो। कुनै पनि प्रयास सफल हुन सकेका थिएनन्। फेरि एक दिन इजरायली जासुस संयन्त्रलाई सूचना आयो, हमासको सैन्य विभागका प्रमुख डेइफ दक्षिणी गाजाको एउटा घरमा लुकेका छन्।

सूचना पाउनासाथ इजरायली फौजले त्यस घरमाथि बम खसाल्यो। एउटा मात्र होइन, आठवटा बम। त्यो पनि एक-एक हजार किलो वजन भएका।

डेइफको हत्या गर्न इजरायलले अमेरिकामा निर्मित ‘जोइन्ट डाइरेक्ट अट्याक म्युनिसन’ को प्रयोग गरेको थियो। हवाईजहाज बनाउने बोइङले बनाएको यो यस्तो बम बोक्ने यन्त्र हो जसलाई जीपीएसको सहयोगमा तोकिएको स्थानमा झार्न सकिन्छ।

हमाससम्बद्ध लडाकुका कमान्डर डेइफ यस्तो ठाउँमा शरण लिइरहेका थिए, जहाँ एउटा सानो बजार, त्यस क्षेत्रका प्लालेस्टिनीले उपयोग गर्ने पानीको स्रोत र विस्थापितलाई खाना खुवाउने भान्सा थिए। भिडभाड हुने यो ठाउँमा खसालिएको बम विस्फोट हुँदा सयौँ प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ।

इजरायली सेनाका अनुसार बम गत शनिबार बिहान १०ः३० बजे खसालिएका थिए। विस्फोट भएको स्थानबाट एक सय पाइला जति टाढा रहेका मोहम्मद आबुले घटनाबारे भनेका छन्, ‘मेरो अगाडि मान्छे खसिरहेका थिए। त्यहाँ आगोको लामालामा लप्का थिए।’

इजरायली सेनाले बम एउटा कम्पाउन्डभित्र खसालिएको बताएको छ। जहाँ हमासका लडाकु लुक्दै आएका थिए। हतियारधारीले घेरेको त्यो कम्पाउन्डमा बम खसाल्नुअघि सर्वसाधारणको हताहती कम होस् भनेर विचार पुर्‍याएको दाबी इजरायली सेनाको छ। इजरायली सेना के पनि भनिरहेको छ भने, मृतक सर्वसाधारणको जिम्मा हमासले लिनुपर्छ। इजरायली सेनाको तर्क छ- हमासका लडाकु निहत्थालाई ढाल बनाएर लुकेको थिए।

बम आक्रमणमा परेर खान हमास ब्रिगेडका कमान्डर राफ सलामाको पनि मृत्यु भएको छ। यो ब्रिगेड हमास सैन्य विभागअन्तर्गतको हो। यसका प्रमुख सलामा डेइफको सहयोगी मानिन्थे। सलामा मारिएको पुष्टि भए पनि डेइफको मृत्युको यकिन भइसकेको छैन। स्थानीयका अनुसार आक्रमणमा हमासका कयौँ कमान्डर मारिएका छन्।

बम खसालिएको कम्पाउन्ड पहिलेबाटै इजरायली जासुसी संयन्त्रको नजरमा थियो। सलामा त्यहाँ लुकेको खबर पाएकाले इजरायल बम खसाल्न उचित मौकाको पर्खाइमा थियो। जब डेइफ पनि त्यहीँ छन् भन्ने पुष्टि भयो, तब इजरायली सेनाले बम तत्काल खसाल्ने योजना बनायो।

इजरायली सेना किन डेइफको हत्या गर्न हतारिएको? यसको कारण हो, गत अक्टोबर ७ को हमला। हमासको यो हमलामा १२०० इजरायली मारिएका थिए। हमलाको मुख्य योजनाकार डेइफ भएको इजरायली दाबी छ। डेइफलाई मार्न जासुसी संन्यत्रको सूचनाका आधारमा सेनाले बनाएको बम खसाल्ने योजनालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अनुमति दिएका थिए। उनको अनुमतिपछि इजरायली वायुसेनाको फाइटर जेट एफ-३५ मा बम लोड गरिएको थियो।

डेइफ लुकेको कम्पाउन्डमा खसालिएका एक हजार वजन भएका बम इजरायलले अमेरिकाबाट पाएको हो। केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडनले यस किसिमको बमको आपूर्तिमा रोक लगाइदिएका थिए।

इजरायलले मानव बस्तीमा यी बम झारिरहेकाले आपूर्तिमा रोक लगाइएको अमेरिकी भनाइ थियो। हालसालै अमेरिकाले ५०० केजीका बम भने इजरायलतिर पठाउन सुरु गरेको छ।

यहीबीच हमासले आफ्ना कमान्डर डेइफ जीवित रहेको दाबी गरेको छ। उनलाई इजरायलले निसानामा पारेको तर हत्या गर्न नसकेको हमासको भनाइ छ। डेइफमाथि हमला गर्ने निहुँमा इजरायलले निहत्था प्यालेस्टिनीको हत्या गरेको हमासको आरोप छ।

बम विस्फोट भएको स्थानमा ठूलाठूला खाडल देखिन्छन्। बम विस्फोट र त्यसपछिको असरबारे खिचिएका भिडियो हेर्दा एक हजार केजीको बम प्रयोग भएको अन्दाज गर्न सकिने भनाइ अमेरिकी वायुसेनाका निवृत्त कमान्डर वेस ब्रायन्टको भनाइ छ। उनका अनुसार एक ठाउँमा यस्ता दुईवटासम्म बम झार्ने अभ्यास छ तर इजरायलले पुरै क्षेत्र ध्वस्त बनाउने उद्देश्यका साथ दुईभन्दा बढी बम खसालेको हुनसक्ने ब्रायन्टको अनुमान छ। ‘जति क्षति भए पनि निसानामा परेका व्यक्तिलाई मारेरै छाड्ने उद्देश्य इजरायलको देखिन्छ,’ ब्रायन्ट भन्छन्।

इजरायली सेनाको गाजा डिभिजनका पूर्वउपप्रमुख अमिर अभिभीका अनुसार डेइफलाई मार्न इजरायलले यसअघि सात पटक प्रयास गरेको थियो। सन् २००० को दशकको सुरुवातमा हमासको सैन्य विभाग समाल्न सुरु गरेका डेइफले हमासको लडाकु समूहलाई शक्तिशाली फौजमा परिणत गरेको जस दिने गरिन्छ। उनलाई इजरायलले ‘थ्रेट लिस्ट’ को दोस्रो नम्बरमा राखेको छ। पहिलो स्थानमा हमासको गाजा क्षेत्र प्रमुख याया सिन्वर छन्।

इजरायल अझै पनि सन् २००३ मा डेइफ, सिन्वर लगायतका हमासको उच्च नेताको हत्या गर्ने अवसर गुमाएकोमा थकथकाउँछ। त्यसबेला यी सबै नेता गाजाको एक अर्पाटमेन्टमा बस्ने गरेको बताइन्छ। यी नेता बसेको अर्पाटमेन्टमाथि एक हजार किलोका बम खसाल्ने विकल्पमा छलफल भएको थियो। तर मानवीय हताहती कम गर्न थोरै वजनका बम खसालिएका थिए।

अर्पाटमेन्टको ठ्याक्कै कुन तलामा हमासका कमान्डर थिए भन्ने सूचना गलत निस्किँदा इजरायली हमलाको परी सर्वसाधारण मात्र मारिएका थिए। त्यसबेलाको हमलाबाट बचेर डेइफ, सिन्वर लगायत भाग्नुलाई इजरायली सैन्य तथा जासुसी इतिहासको ठूला असफलतामध्येको एक मानिन्छ।

यसपालि भने इजरायलले ठूला बम खसाल्यो। जसलाई तेल अभिभीले सामान्य मानेका छैनन्। ‘यो निश्चय पनि अचम्मलाग्दो घटना हो,’ उनले भनेका छन्। अमेरिकी सेनाका पूर्वकमान्डर ब्रायन्ट इजरायलले अनावश्यक रूपमा धेरै बम खसालेको बताउँछन्।

निसानामा पारिएको क्षेत्रलाई ‘गाइडेड बम’ विस्फोट गराउने कार्यको विज्ञ मानिने ब्रायन्ट यसरी ठूला बम, त्यो पनि एकभन्दा बढी खसाल्दा मृतकको शरीर नभेटिने र मृतकको मोबाइल फोन वा डीएनए पत्ता लगाउन सके मात्र मृतकको यकिन गर्न सकिने बताउँछन्। ‘डेइएफ मारिएको भए पनि मलाई लाग्दैन इजरायलले उनको शरीर भेट्टाउन सक्छ,’ ब्रायन्ट भन्छन्।

वाल स्ट्रिट जर्नलबाट

प्रकाशित: २ साउन २०८१ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =