काठमाडौँ– पारि सुख्खा डाँडा, भुइँमा मरुभूमिलाई संकेत गर्दै छरिएका बालुवा, दाहिनेतिर हड्डीको थुप्रो, कंक्रिटको जंगलमा अस्थिपञ्जर र कंकालको सिरानी लगाएर एक वृद्ध सुतिरहेका छन्। बोतलमा एउटा बिरुवा राखिएको छ अक्सिजन माक्स लगाएर। सुनसान रातमा ती वृद्ध जुरुक्क उठेर आक्रोशित भावमा बर्बराउँदै भनिरहेका छन्, ‘कसको षड्यन्त्रमा बसेछ वायु? कसको अधीनमा छ ब्रह्माण्डको आयु…?’
वरिपरिबाट त्यस्तै अक्सिजन मास्क लगाएका पाँच मानव त्याहीँ पुग्छन्। पानीको संकट भएपछि उच्चतम प्रविधिबाट बनेको मेसिनको सहायताले पानी खोज्दै भाँैतारिरहेका छन् उनीहरू।
दृश्य हो कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक ‘पूर्णविराम’ को। पूर्णविराम अर्थात् विश्रामको संकेत। नाटकले भने मानव अस्तित्वप्रति पूर्णविराम लाग्ने अवस्था आएको संकेत गरेको छ।
जलस्रोतको धनी र जंगल नै जंगलले ढाकेको देशमा पानी र अक्सिजनको कमी भएको छ। बढ्दो तापक्रमले छट्पटिँदै देह त्याग्नुपर्ने अवस्था उत्पन्न भएको छ। विगतमा फैलिएको कोरोना भाइरसले पनि यस्तै अवस्था निम्त्यायो। गर्मीमा देशका अधिकांश भूभागमा पानीकै हाहाकार हुन्छ।
मानिस आफैँ पनि प्रकृतिको अंश हो तर जंगल फँडानी, खेतीयोग्य जमिन मासिनु, कञ्चन खोला र नदीमा ढल मिसाउनु, प्लास्टिकजन्य खाद्यवस्तुको प्रयोगलगायतका क्रियाकलापले भावी दिनमा आफ्नै अस्तित्वमा पूर्णविराम लाग्न सक्ने भनेर नाटकले दर्शकलाई झकझक्याइरहेको छ।
नाटकमा कथा छ नयाँगाउँ घर भएका ८५ वर्षीय ती वृद्ध जगतराज कसरी चिहानडाँडा बस्न आइपुगे भन्ने। पानीको खोजीमा आएका ती मानिसले जगतराज सुतिरहेको नजिकै पानी रहेको पत्ता लगाउँछन्। मेसिनले खोतल्न थाल्छन् तर उनले आफ्नो आफन्त रहेको भन्दै पानी निकाल्न दिँदैनन्। तिनीहरु उनलाई लछारपछार पार्छन्। वैज्ञानिक प्रविधिमार्फत उनीहरूले जगत्को मुहारबाट परिचय, उमेर र ठेगाना निकाल्छन्।
उनको विगत भने कसलाई के थाहा? जबरजस्ती जमिनको पानी निकाल्न खोजेपछि भक्कानिँदै उनी आफ्नो कहानी सुनाउन थाल्छन् र नाटक फ्यासब्याकतर्फ अगाडि बढ्छ। उनी कसरी एक्लो भए र चिहानमा बस्न आइपुगे? भन्ने जवाफमै नाटक टुंग्याइन्छ। उनीहरू पानी लैजान सफल हुन्छन् या हुन्नन् त्यसको उत्तर पाउन भने नाटक हेर्न जानुपर्छ।
जगतराज र प्रकृतिको प्रेमप्रसंगले दर्शक मनोरमतर्फ मोडिँदै गर्दा एक्कासि बेहोसको दृश्यले नाटकको कथातिर संकेत गरिरहेको छ। एकपछि अर्को साथी बेहोस भइरहेका छन्। अस्पतालमा बिरामी संख्या बढेर शय्या पाउन मुस्किल छ। रोग पत्ता लागेको छैन। फोनमा पाएको सूचनामार्फत एकजना डाक्टर मोबाइलमा बिरामीको भिडियो हेर्छिन् तर त्यो उनीमै सीमित छ।
नाटकमा विषय पनि व्यापक छ। वैज्ञानिक प्रविधिको बढ्दो प्रयोग, राजनीतिज्ञको दोहोरो चरित्र र सर्वसाधारणले आधारभूत आवश्यकता पूरा गर्न कुन तहसम्मको कठिनाइ भोग्नुपर्छ भन्ने पक्षलाई अक्सिजनका लागि बिरुवा किन्न जाँदा जनताले नपाएको र मेयरकै पावरले जगत्का बाबुले तीन करोडमा दुई बिरुवा पाएको प्रसंगमार्फत जोड्न खोजिएको छ।
नाटकको कथाले दिन खोजेको संकेत बलियो छ। पर्यावरण आफैँमा व्यापक विषय हो। एक घण्टा १० मिनेटमा यसको स्थिति र भविष्यको निक्र्यौल गर्न कठिन त पक्कै छ तर कथाअनुसार संवाद र प्रस्तुति शैलीको निरन्तरतामा निर्देशक पाटो केही फितलो लाग्छ।
सरोज पराजुलीको लेखन र आरुष मगरको निर्देशनमा बनेको नाटकले मनोरञ्जन भन्दा बढी मानवको भविष्यप्रति सोचमग्न बनाउन खोजेको छ। कथाअनुसार कलाकारको वेषभूषा र अभिनय पक्ष सबल छ।
संवाद र दृश्यअनुसार ध्वनि संयोजन, प्रकाश परिचालन र उचित मञ्च साजसज्जाका कारण अभियनयलाई थप आकर्षक बनाएको छ।
वर्तमान देशको परिवेशलाई नाटकमार्फत तुलना गर्ने हो भने पनि माटो सुगन्ध ढलमा परिणत भएको छ। कुहिएको फोहोरको गन्ध लिएर दिन गुजारिरहनुपरेको अवस्था छ। वर्षा, खोला या झरनाको संगीत ठूलाठूला स्पिकरले गुञ्जाउन थालेको छ।
नाटकका प्रमुख पात्र जगतराजझैँ कंक्रिटको सहररुपी जंगलमा रुमलिएका मानिस अहिले स्वच्छ हावा, पानी र प्रकृतिसँग रमाउन बेस क्याम्प, हाइकिङ, स्विमिङ पुलतिर पुग्छन्। वर्तमानको हाम्रोे भोगाइले सोचौँ त भावी पुस्तालाई हामीले कस्तो वातावरण सिर्जना गरिरहेका छौँ? यही तरिकाले दिन, महिना र वर्ष बित्दै जाने हो भने मानव अस्तित्वमा चाँडै पूर्णविराम नलाग्ला भन्न सकिन्न।
नाटकमा कलाकार छन् रिनेक्स बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, युवराज थापामगर, सुजन भाइ, सुदिश थापा मगर, भूमिका थारु, वसन्तबहादुर खड्का, सरस्वती दाहाल, निरबहादुर खपांगी (मिलन), असिम थारु, समीक्षा पौडेल, सुरज पराजुली, शू–गू, विध्यक तिलक र वाई एस पौडेल।