इतिहासमा निर्वाचन : १७

चुनाव २०१५ : यी हुन् पहिलो चरणमा निर्वाचित नेता

हिमाल प्रेस ३ मंसिर २०७९ ६:१४
2
SHARE
चुनाव २०१५ : यी हुन् पहिलो चरणमा निर्वाचित नेता काठमाडौँको एक मतदान केन्द्रमा मतदाता। तस्बिर स्रोत : द स्फेयरको ७ मार्च १९५९ को अंक

काठमाडौँ- मुलुकको पहिलो निर्वाचन पहिलो चरणमा २०१५ फागुन ७ मा सम्पन्न भएको थियो। पहिलो चरणमा काठमाडौँको क्षेत्र नम्बर १ सहित मुलुकभर १८ वटा निर्वाचन क्षेत्रमा मतदान भएको थियो।

त्यस दिन काठमाडौँ उपत्यकाका क्षेत्र नम्बर २ र ५, पूर्व १ नम्बरको निर्वाचन क्षेत्र नम्बर ९ चौतारा दक्षिण, पूर्व २ नम्बरको निर्वाचन क्षेत्र नम्बर १५ सिन्धुली, पूर्व ४ नम्बरको निर्वाचन क्षेत्र नम्बर २० भोजपुर दक्षिण, धनकुटाको निर्वाचन क्षेत्र नम्बर २२ धनकुटा पश्चिम दक्षिणमा पनि सोही दिन मतदान भएको थियो।

त्यही दिन मतदान हुने अन्य क्षेत्रमा मोरङ विराटनगरको निर्वाचन क्षेत्र नम्बर ३२ मोरङ विराटनगर पश्चिम दक्षिण, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३६ सप्तरी मध्य, महोत्तरी सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४२ महोत्तरी उत्तर पूर्वान्त, बारा, पर्सा, रौतहटको निर्वाचन क्षेत्र नम्बर ५४ पर्सा पश्चिम थिए।

यसैगरी खजहनी शिवराजको निर्वाचन क्षेत्र नम्बर ६१ खजहनी पश्चिम शिवराज, बाँके बर्दियाको निर्वाचन क्षेत्र नम्बर ६४ बर्दिया, कैलाली कन्चनपुरको निर्वाचन क्षेत्र नम्बर ६५ कैलाली कन्चनपुर, दैलेखको निर्वाचन क्षेत्र नम्बर ७७ दैलेख पूर्व, सल्यानको निर्वाचन क्षेत्र नम्बर ८१ सल्यान पूर्वदक्षिण, गुल्मीको निर्वाचन क्षेत्र नम्बर ९२ गुल्मी मध्यपूर्व र पश्चिम १ नम्बरको निर्वाचन क्षेत्र नम्बर १०९ नुवाकोट दक्षिणमा सोही दिन निर्वाचन भएको थियो।

यहाँ यिनै निर्वाचन क्षेत्रका उम्मेदवार र निर्वाचन परिणामबारे उल्लेख गरिएको छ। काठमाडौँ क्षेत्र नम्बर १ को निर्वाचनमा नेपाली कांग्रेसका गणेशमान सिंह निर्वाचित भएका थिए।

काठमाडौँ उपत्यका क्षेत्र नम्बर २ का लागि एक जना स्वतन्त्रसहित नौ जना उम्मेदवार थिए। उक्त क्षेत्रबाट नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष एवं चुनावी सरकारका बहालवाल गृहमन्त्री डिल्लीरमण रेग्मीसमेत उम्मेदवार थिए।

त्यसैगरी नेपाल राष्ट्रवादी गोर्खा परिषद्बाट नरबहादुर थापा क्षेत्री, संयुक्त प्रजातान्त्रिक पार्टीका पद्मबहादुर बुढाथोकी, नेपाल प्रजातान्त्रिक महासभाका बासुपासा श्रेष्ठ, नेपाल प्रजापरिषद् पार्टी आचार्य गुटका रुद्रप्रसाद शर्मा, नेपाल कम्युनिस्ट पार्टीका शम्भूराम श्रेष्ठ, नेपाली कांग्रेसका तर्फबाट त्रिपुरवर सिंह र स्वतन्त्रबाट पद्मबहादुर श्रेष्ठ थिए।

उतिखेर बहालवाला गृहमन्त्री एवं नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष डिल्लीरमण रेग्मीले पार्टी उम्मेदवारमध्ये सबैभन्दा कम जम्मा ६१८ मतमात्र प्राप्त गरेका थिए। नेपाल प्रजापरिषद्का उम्मेदवार शर्माले पनि रेग्मीभन्दा केही बढी ६५२ मत प्राप्त गरेका थिए।

पानस चुनावी चिह्नसहित स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले सबैभन्दा कमल ५१४ मत प्राप्त गरेका थिए। कुल ४७,७१८ मतदाता रहेको उक्त क्षेत्रमा २०,२४१ मत खसेको थियो।

उक्त क्षेत्रमा ६२६२ मतसहित नेपाल राष्ट्रवादी गोर्खा परिषद्बाट नरबहादुर थापा क्षेत्री विजयी भएका थिए। त्यस्तै नेपाली कांग्रेसले ५०१३, संयुक्त प्रजातान्त्रिक पार्टीले ३४६०, नेपाल कम्युनिस्ट पार्टीले २५६८ र नेपाल प्रजातान्त्रिक सभाले ११२४ मत प्राप्त गरेको थियो।

काठमाडौँ क्षेत्र नम्बर ५ मा दुई पार्टी अध्यक्षसहित नेपाली कांग्रेसका प्रभावशाली नेता, एक स्वतन्त्रसहित पाँच जना चुनावी मैदानमा थिए। पार्टी अध्यक्षमा नेपाल प्रजापरिषद् पार्टी आचार्य गुटका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य, नेपाल प्रजातान्त्रिक महासभाका अध्यक्ष रंगनाथ शर्मा र नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार सूर्यप्रसाद उपाध्याय (उपाध्याय काठमाडौँ क्षेत्र नम्बर ५ र क्षेत्र नम्बर १४ रामेछाप दक्षिणबाट उम्मेदवार भई दुवै क्षेत्रबाट पराजित भएका थिए। पछि उनी महासभामा निर्वाचित भई बीपी कोइरालाको नेतृत्वमा गठन भएको पहिलो जननिर्वाचित सरकारमा गृह र कानुनमन्त्री भए।) उम्मेदवार थिए। डा. केआई सिंहको पार्टीबाट लोचनशमशेर थापा उम्मेदवार थिए भने स्वतन्त्रबाट घोडा चुनाव चिह्नसहित घनानाथ उपाध्याय उम्मेदवार थिए।

कुल ४३,७०० मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा १६,२७४ मत खसेको थियो। जसमध्ये आचार्यले ११६८, शर्माले ३२६२, उपाध्यायले ५७१७ मत पाउँदा स्वतन्त्रले ३७२ मत प्राप्त गरे। ती सबै ठूला हस्तीलाई त्यहाँ संयुक्त प्रजातान्त्रिक पार्टीका उम्मेदवार लोचन शमशेर थापा ८७५५ मतसहित निर्वाचित भएका थिए।

पूर्व १ नम्बरको निर्वाचन क्षेत्र नम्बर ९ चौतारा दक्षिणमा चार स्वतन्त्र जसमध्ये एक जना महिला सुशीला थापासहित कुल ११ जना उम्मेदवार थिए। त्यहाँ नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार तीर्थमान लामाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सप्तलाल ताम्राकारलाई २२४४ मतको फराकिलो अन्तरले पराजित गरेका थिए। निर्वाचित लामाले ३५६८ मत प्राप्त गरे भने पराजित ताम्राकारले १३२४ मत प्राप्त गरे।

पूर्व २ नम्बरको निर्वाचन क्षेत्र नम्बर १५ सिन्धुलीमा चार स्वतन्त्रसहित जम्मा आठ जना उम्मेदवार थिए। २५०९० मतदाता रहेको उक्त क्षेत्रमा त्यहाँ न्यून ७२४२ मतमात्र खसेको थियो।

नेपाल प्रजापरिषद् (आचार्य गुट) का जितबहादुर कार्की निर्वाचित भएका थिए। त्यहाँ नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रामहरि बराल थिए। निर्वाचित कार्कीले ३०१० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी बरालले १८६० मत पाएका थिए।

पूर्व ४ नम्बरको निर्वाचन क्षेत्र नम्बर २० भोजपुर दक्षिणमा तीन स्वतन्त्रसहित, नेपाली कांग्रेसका भूदेव राई, नेपाल राष्ट्रवादी गोर्खा परिषद्का दुर्गाबहादुर र संयुक्त प्रजातान्त्रिक पार्टीका कृष्णलाल राई गरी छ जना उम्मेदवार थिए।

कुल ४१,१७४ जना मतदाता रहेको उक्त क्षेत्रमा १८५५४ मत खसेको थियो। ८३८० मतसहित कांग्रेसका राई निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी गोर्खा परिषद्का दुर्गाबहादुरले २९६३ मत प्राप्त गरेका थिए।

धनकुटा निर्वाचन क्षेत्र नम्बर २२ धनकुटा पश्चिम दक्षिणमा पाँच जना स्वतन्त्रसहित ११ जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका लीलानाथ उपाध्याय ३२०९ मतसहित निर्वाचित भएका थिए।

मोरङ विराटनगरको निर्वाचन क्षेत्र नम्बर ३२ मोरङ विराटनगर पश्चिमदक्षिणमा नेपाली कांग्रेसका अध्यक्ष बीपी कोइराला उम्मेदवार थिए। दुई जना स्वतन्त्र घैला चुनाव चिह्नसहित अवधनारायण र हात्तीसहित दिलबहादुर श्रेष्ठ उम्मेदवार थिए।

दलका अन्य उम्मेदवारमा नेपाल प्रजातान्त्रिक महासभाका डम्बरबहादुर कार्की, नेपाली तराई कांग्रेसका तिलकराम विश्वास, संयुक्त प्रजातान्त्रिक पार्टीका नीरचन्द्र पोखरेल, नेपाल प्रजापरिषद् मिश्र गुटका विष्णुकान्त ठाकुर र नेपाली राष्ट्रिय कांग्रेसका सन्त कुमार थिए।

कुल ४३,७८८ जना मतदाता रहेको उक्त क्षेत्रमा २२,५६५ मत खसेको थियो। ९५७९ मतसहित बीपी कोइराला निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार दिलबहादुर श्रेष्ठले ५२८८ मत ल्याएका थिए।

अर्का स्वतन्त्र उम्मेदवार अवध नारायणले २६०७ मत ल्याएका थिए। त्यस्तै दलका उम्मेदवारमध्ये कार्कीले १५९, विश्वासले २५३३, पोखरेलले ९६२, ठाकुरले ८३७ र शन्त कुमारले ६३० मत प्राप्त गरेका थिए।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३६ सप्तरी मध्यमा छ जना स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा थिए। त्यहाँ नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह ४१०९ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टीका कमर शाहले २९९६ मत प्राप्त गरेका थिए।

महोत्तरी सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४२ महोत्तरी उत्तर पूर्वान्तमा दुई स्वतन्त्रसहित छ जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका रुद्रप्रसाद गिरी ७४६६ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार भवानी शंकरले ४०९५ मत प्राप्त गरेका थिए।

बारा, पर्सा, रौतहटको निर्वाचन क्षेत्र नम्बर ५४ पर्सा पश्चिममा तीन स्वतन्त्रसहित १० जना उम्मेदवार थिए। त्यहाँ नेपाल राष्ट्रवादी गोर्खा परिषद्का मुनीलाल थारु ४३१४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार जयप्रकाशले ३५७४ मत प्राप्त गरेका थिए।

खजहनी शिवराजको निर्वाचन क्षेत्र नम्बर ६१ खजहनी पश्चिम शिवराजमा पाँच स्वतन्त्रसहित १० जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका शिवप्रताप शाह ५५१२ मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल प्रजापरिषद्का टेकबहादुर पंथीले २६१० मत प्राप्त गरेका थिए।

त्यस्तै बाँके बर्दियाको निर्वाचन क्षेत्र नम्बर ६४ बर्दियामा तीन स्वतन्त्रसहित आठ जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका राधाकृष्ण कोठिया निर्वाचित भएका थिए।

त्यहाँ असाध्यै फराकिलो मतअन्तरले कोठिया विजयी भएका थिए। कुल ३५७१६ मतदाता रहेको उक्त क्षेत्रमा ११,८४७ मत खसेको थियो। उनका निकटतम प्रतिद्वन्दी संयुक्त प्रजातान्त्रिक पार्टीका भागवतदास थारुको मत ८६४ मात्र थियो।

कैलाली कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ६५ कैलाली कञ्चनपुरमा दुई स्वतन्त्रसहित पाँच जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाह ६,४४४ मत प्राप्त गरी निर्वाचित भएका थिए। त्यहाँ पनि मतअन्तर धेरै फराकिलो नै थियो। उनका निकटतम प्रतिद्वन्दी संयुक्त प्रजातान्त्रिक पार्टीका धनबहादुर महतोको १५४५ मतमात्र ल्याए।

दैलेखको निर्वाचन क्षेत्र नम्बर ७७ दैलेख पूर्वमा तीन स्वतन्त्रसहित आठ जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका नीरबहादुर पछाईंले २०४४ मतसहित चुनाव जितेका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार जोतीसिंह थापाले १२७३ मत प्राप्त गरेका थिए।

सल्यानको निर्वाचन क्षेत्र नम्बर ८१ सल्यान पूर्वदक्षिणमा तीन स्वतन्त्रसहित छ जना उम्मेदवार चुनावी मैदानमा थिए। त्यहाँ नेपाली कांग्रेसका जुद्धबहादुर खत्री क्षेत्री ४४१९ मतले विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार मस्तबहादुर चन्दले २१६३ मत प्राप्त गरेका थिए।

त्यस्तै गुल्मीको निर्वाचन क्षेत्र नम्बर ९२ गुल्मी मध्यपूर्वमा नेपाली कांग्रेस, नेपाल राष्ट्रवादी गोर्खा परिषद्, नेपाल प्रजातान्त्रिक परिषद् आचार्य गुट र संयुक्त प्रजातान्त्रिक पार्टीका उम्मेदवार गरी चार जना चुनावी मैदानमा थिए। त्यहाँ नेपाली कांग्रेसका काशीनाथ गौतम ८८५९ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार गुणाकर भट्टराईले ५१८० मत प्राप्त गरेका थिए।

पश्चिम १ नम्बरको निर्वाचन क्षेत्र नम्बर १०९ नुवाकोट दक्षिणमा छ जना स्वतन्त्रसहित ११ जना उम्मेदवार थिए। त्यहाँ नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार भीमबहादुर कार्की ३८७९ मत ल्याई निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार मोहनविक्रमले १६५७ मत प्राप्त गरेका थिए।

(निर्वाचन आयोगबाट प्रकाशित पाक्षिक निर्वाचन सन्देश, काठमाडौँ नगरपालिकाको मुखपत्र जनचेतना र नेपाल राजपत्र लगायतको आधारमा)

यो पनि

इतिहासमा निर्वाचन  १४ : पहिलो चुनावमा महिलाका मुद्दा र प्रतिनिधित्व

इतिहासमा चुनाव  १५ : अन्तर्राष्ट्रिय छापामा छाएका पहिलो संसदका दुई महिला

इतिहासमा निर्वाचन १६ :  दुई कम्युनिस्ट नेताले चुनाव हारेको समाचार विदेशी अखबारमा

प्रकाशित: ३ मंसिर २०७९ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =