अघोषित प्रेमकथा

अजय अलौकिक २२ असार २०८१ १४:३३
142
SHARES
अघोषित प्रेमकथा

जेठ १५ गते गणतन्त्र दिवस। मोबाइलमा एकसरो समाचार हेरेँ। आज त अफिस विदा। गत वर्ष अफिस लागेको थियो। मनले यस्तै भन्दै थियो। गणतन्त्र दिवसको प्रसंगसँगै म भने १६ वर्षअघि पुगेँ। मेरो कोठा त्यही हो, झ्याल त्यही हो। रंगरोगन भए होलान्। अरू त्यस्तै छन्, हिजो जस्तै। मनको किताब मनैमा छ, हिफाजत छ।
पाना पल्टिए आफैँ।
———
ओहो! आज किरणको कोठाको झ्याल खुलेको छ त। किरण नै हो कि नयाँ मान्छे भाडामा बस्नआएको हो। पर्दा उघार्दै किरणको कोठातिर नजरदृष्टि पुर्याउँदै केही शंकासहित मेरो मनले मनमनै भन्यो।

‘हेर्नुस् न, आज ठ्याक्कै ६ दिनपछि उसको कोठामा चहलपहल देखिन्छ’, उत्साहमा मनको आवाज बाहिरै फुस्केछ।

म संयमित हुन खोज्छु। तर त्यहाँको रौनकले मलाई चुमेको छ, धपक्क बलेको भनिन्छ नि, त्यस्तै, त्यस्तै।

अहिले लोडसेडिङ भइरहेको छ। किरणको कोठाको झ्यालमा पर्दा लगाइएको छ। तापनि इमरजेन्सी लाइटको मधुरो प्रकाशबीच पनि रौनक देखिन्छ।

भर्खरै खाना खाएर कोठामा पस्दै झ्यालतिर आँखा तन्काएको हो, मैले। मेरो शयनकक्षमा पश्चिमतिर झ्याल छ। झ्यालतिर फर्काएर टेबल र घुम्ने कुर्सी राखेको छु। टेबलमा कम्प्युटर छ अनि गितार आकारको एस्ट्रे।

अहिले, मेरो मनमा गितारले सोलो लिड बजाइरहेको अवस्था छ। धेरैपछि उता झ्याल खुला भएको देख्दै छु। बिहान उठ्नेबित्तिकै र घर पसेपछि उसैको झ्यालतिर हेर्ने बानी नै परिसकेको छ, मलाई। बाटोतिर पनि भेटिएला कि भन्ने आस गर्थेँ। त्यही अस्ति नै शनिबार साँझ शिव दाइको चिया पसलमा भेटेपछि देखेको छैन उसलाई।

म टेबलमाथि भित्तामा झुण्ड्याइएको पर्पल हेज कोअपरेटिभको भित्तेपात्रोतिर आँखा पुर्‍याउँछु। वि.स. २०६५ को जेठको महिना चलिरहेको छ। लोकसेवामा काम लाग्ला, जेठ १५ गते, बुधबार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो। त्यही शनिबार १८ गतेपछि आज एकैपटक शुक्रबार त्यहाँ चहलपहल बुझिन्छ।

खोइ, अरू नयाँ मान्छे पो हुन् कि? टेन्सनमा छु।

त्यो शनिबारको दिनदेखि के भयो, भयो। जमिबसेको मन पग्लेको हो कि या मन अन्तसन्त लागेको…। ग्लोबल वार्मिङ बनेर आयो किरण, नांगिन खोज्दै छन् मेरा इच्छाहरू।
बेमौसमको वर्षात् नै लाग्ला कतिपयलाई…, अधिकांशलाई…।

अहिले बाहिर अन्धकार छ। इन्भर्टरमार्फत फ्लोरेसेन्ट लाइटको प्रकाशले कोठा पुग्ने गरी उज्यालो छ। होइन भने कताकतादेखिको प्रकाश पुञ्जहरू ठोकिन आइरहेका हुन्छन्। तर मेरो मनको निस्सार भने त्यही झ्यालको मसिनो प्रकाशले आज हरिलगेको छ।

किरणको कोठामा देखिएको उज्यालोले मभित्रको अन्धकारलाई मेट्न सफल भएको हो। तर किरणसँगको त्यो अन्तिम.. अन्तिम होइन, पछिल्लो भेटपछि म हराइरहेको छु। या हराइरहेको आफूलाई खोज्दै छु।

खासमा, किरणलाई भेट्दा उसलाई केही छटपटी भइरहेको महसुस गरेको थिएँ। किरणको हाउभाउ हेर्दा पनि ऊ अलि असहज अवस्थामा नै छ भन्ने लागेको थियो। उसलाई पीडा भएको थियो, वियोगमा छटपटिएको थियो।

वियोग नै त नभन्ने कि!

फेरि मेरो आँखा झ्यालतिर पुगेको छ। त्यहाँ मधुरो प्रकाशबाहेक केही देखिँदैन।

अवश्य केही अप्ठ्यारो अनुभव भए होला। घरभाडाको चिन्ता हुन्छ नै। त्यसबाहेक सँगै खाने, बस्ने, साथी छोडेर जाँदा पीडा हुनु स्वाभाविक हो। तर किरणलाई हेर्दा अरविन्द उसको मनबाटै डेरा सरेको जस्तो देखिन्थ्यो।

दुई वर्षदेखि काठमाण्डुको दुःखसुखमा सँगै उठबस गर्ने साथी अरविन्दले डेरा मात्र सरेको थियो। मैले नबुझेको कुरा यही हो। मेरो मनमा बारम्बार खेलिरहेको कुरा यही हो र भाव भनुँ कि के, त्यो पनि यही नै हो। ‘के मैले गन्तव्य भेटाएको हो।’

किरणलाई भर्खरै जवानीले छोएको देखिन्छ। कुमसम्म कपाल पालेको र सधैँ उज्यालो रङको टिसर्ट लगाउने किरण उमेरले बीसबाइस पुगेको होला। उसले बिहान कलेज जाने र बोलीचालीको भाषामा ‘सानो जब’ गर्दै गुजारा चलाउँदै आएको छ। उसैले भनेअनुसार, ऊ पत्रिकामा काम गर्छ। टाइपिङ, कम्प्युटरदेखि रिपोर्टर र पर्‍यो  भने सबै काम गर्छ, उसले। उसको घरचाहिँ धादिङ हो, क्यारे।

गल्लीको कुनामा रहेको शिव दाइको चियापसलमा आक्कलझुक्कल भेट हुने गर्छ, हाम्रो। आफ्नै टोलमा बसोबास गर्ने सबैसँग हल्का चिनजान हुनु राम्रै हो नि, कसो। तर किरणसँगको अघिल्ला भेटहरूमा मलाई केही फिलिङ्ग्स नै भएन।

हेर्नुस् न। मन बतासिन खोजेको।

शिव दाइकहाँ किरणसँगको पछिल्लो भेट धेरैपछि भएको हो। उसैको साथी, अहिले डेरा सर्ने अरविन्दसँग भने चिनजान अलि पुरानै हो। अरविन्दसँग त भेट पनि भइरहन्छ।
अरविन्द यही टोलमा बस्नथालेको सात, आठ वर्ष भइसकेको हुनुपर्छ। पहिले, त्यही चियापसल भएको घरमा बस्थ्यो, अनि यता बाबुकाजी दाइको घरमा सरेको पनि पाँच, छ वर्ष नै भइसक्यो।

अनि, पछिल्लो दुई वर्षदेखि अरविन्द र किरण सँगसँगै बस्दैआइरहेका थिए। बाबुकाजी दाइको घरमा डेरा लिएपछि नै किरणको अरविन्दसँग चिनजान भएको हुनुपर्छ। उनीहरूपछि दुईजना मिलेर भान्छासहित तीन कोठा लिई बसेका हुन्।

अलग अलग, एक, एक कोठा लिएर बसेका दुईजना हेलमेल बढेपछि सँगै बस्दैआएका थिए। तर, लामो अन्तरालपछि छुट्टिएका छन्। बसाइमात्रै होइन है, मलाई त त्यो संगम, त्यो साथ पनि छुटेजस्तो लाग्या छ।

त्यो अरविन्द सधैँ सफा सुग्घर भइ सर्ट, पाइँट र घाँटीमा टाइ झुण्ड्याएर हिँड्ने गर्छ। टाइ भने प्राय: प्याजी रङको हुन्छ, क्यारे। झण्डै दसपटक इन्द्रजात्रालगायतका चाडपर्वहरू काठमाण्डुमा मनाइसकेकोले तीस बत्तीस वर्षका भयो होला। केटो होनहार देखिन्छ। एक फाइनान्स कम्पनीमा काम गर्ने अरविन्दसँग मेरो अक्सर भेट हुन्छ।

म बैंकर हुँ। बैंकमा अरविन्दको आउजाउ भइरहन्छ। कहिलेकाहीँ अफिसमै कफी गफ पनि हुन्छ, हाम्रो। प्रायः उसलाई मोटरसाइकलमै देखिन्छ। यसो हेर्दा खासै दुःख गर्न नपरेको, घरतिर राम्रै पुगेको र आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न सहर पसेको बुझिन्छ।

टाठोबाठो अरविन्द परेको बेला हार्दिकतापूर्वक छिमेकीलाई सहयोग गर्न अगाडि सर्ने पनि गर्छ। गल्लीको बाटो पिच गराउनदेखि खानेपानी मर्मतका लागि समेत आफ्नै घरटोल जसरी अड्डाहरू धाएको पनि थियो। हुन त अरविन्द यहाँ बाबुकाजी दाइकहाँ बसेको पनि त सात आठ वर्ष भइसक्यो। तापनि अधिकांश डेरावालमा यस्तो चेतना मैले देखेको छैन।

मेरो चारतले घरमा पनि त दुई तला पूरै बहालमा छ। शिक्षक छन्, विद्यार्थीहरू पनि छन्, सरकारी कर्मचारी पनि छन्। सबै डेरावालमा त्यस्तो चेत देख्दिनँ।

यसरी टोलको प्यारो अरविन्द पसल पसल, कोठा कोठा पुगेर पैसाको महत्त्व बुझाउँदै भोलिका लागि पैसा जम्मा गर्नुपर्छ भन्दै आफ्नो फाइनान्सको ग्राहक अर्थात् बचतकर्ता पनि बनाएर हिँडेको थाहा छ। मेरी आमासमेतले पनि उसको त्यो फाइनान्समा पैसा जम्मा गर्नुभएको छ। तर म निश्चित भने छैन, त्यो फाइनान्स उसैको हो या सेयर छ या त कर्मचारी मात्रै हो। आफ्नो खोतल्ने बानी छैन, उसले भनेको छैन। त्यो विषयगत पनि परेन।

यसरी चिटिक्क परेर हिँड्ने, मृदुभाषी, सरल अनि सबैको प्यारो अरिवन्द उसको घरपट्टी आमाको पनि प्यारो मान्छे थियो। चाडपर्व तथा बिदाको दिनमा बाबुकाजी दाइकहाँ यसो जुवातास खेल्न गइन्छ। अवश्य जाँडरक्सी अनि विविध मासुका परिकार हुने भइहाल्यो। तताजु (बाबुकाजी दाइकी श्रीमती) ले बनाउने छोयला, भुटन त ए-वन नै हो। हिजोआज तखःला पनि त्यहीँ खान पाएको छु, घरतिर बनाउन छोडिसक्यो।

अनि अरविन्दलगायत डेरामा बस्ने अरू पनि हुन्थे। तर तताजुले अरविन्दलाई एकदमै माया गर्थिन्। अन्यथा नसोच्नु। नराम्रो भनेको होइन, फेरि माया कसरी नराम्रो हुनु। माया गर्थिन् अर्थात् थपी थपी खुवाउँथिन्। आमा छोरा, दिदीभाइको जस्तै माया हो।

अरविन्द भने दुवैतिर …. भन्न चाहेको महिला, पुरुष दुवैप्रति आकर्षित हुन्छ जस्तो लाग्छ, मलाई। सुटुक्क भनेको।

शंका त गर्न पाइयो नि, कसो? आरोपै लगाएको होइन।

हाई…कस्तो आलस्य बनायो, कहिले बत्ती आउने हो?

केही देखिन्थ्यो कि झल्याकझुलुक। मनले भन्यो।

हत्तेरिका, सुत्ने बेला पनि भएको छैन, फेरि निद्रा पनि आओस् कसरी। अहिले आवाज बाहिरै पोख्यो।

म कुर्सीबाट उठी ढोका पछाडि झुण्ड्याएको पाइँटबाट जिप्पो र कोटबाट माल्बोरो झिकेर झ्यालतिरै हेरेर बस्छु।

मेरो कोठाको प्रकाश बाहिर पनि छरिरहेको होला र बाहिरबाट हेर्नेले मेरो कोठाका सरसामान, सजावटका वस्तु ठम्याउँछन् पनि होला किनकि बाहिर अन्धकार छ र मेरो शयनकक्षको झ्याल नेकेड छ, पर्दा खुल्ला छ।

अहिले बट्टाबाट एक खिल्ली चुरोट झिकी ओँठमा च्यापी जिप्पो बालेर सल्काउँदै छु। कतिलाई जिप्पो बाल्दा पनि स्टाइल लाग्ला।
सल्काएर एक सर्को धुवाँ पनि फ्याकेँ।

यो एक सर्को धुवाँ बहुत खराब छ। दुई औँला बीच राखेर ओँठसम्म ल्याई तानेर फालेको धुवाँले दिमागमा नयाँ नयाँ कुरा खेलाइदिन्छ, सोच्न बाध्य बनाइदिन्छ।
म जिप्पोलाई चुरोट बट्टासँगै टेबलमा राख्छु तर मेरो नजर रातो सेतो बट्टामा पुगेको छ।

माल्बोरो…, मेन अल्वेज रिमेम्बर लेडिज बिकज अफ रोमान्स ओन्ली। हाहा..हाहा। अनायासै हाँसो पनि आयो। यो कताबाट कलेजमा भनिने सुनिने कुरा मेरो मुखार बिन्दुबाट फुटेको हो। हाहा.. हाहा।

कम टू ह्वेयर द फ्लेभर इज। बट्टामा लेखेको पढ्छु।

जनहितमा जारी सूचना भनुँ या चेतावनी, त्यो त झन् पढ्नुपर्छ कसो…के रे स्ट्याचोटोरी वार्निङ अर्थात् सावधानः धुमपान स्वास्थ्यकोलागि हानिकारक हुनसक्छ।
यो चुरोटले नपुंसकता पनि निम्त्याउन सक्छ रे नि, कुनै कुनैमा यस्तो पनि लेखेको हुन्छ।

म चुरोटको सल्काइलाई विश्राम दिँदै चुरोटलाई एस्ट्रेमा मन्द मन्द रूपमा स्वजलनका लागि अड्याउँछु। तपाईँलाई थाहा छ, मेरो एस्ट्रेमा अकालमै मृत्युवरण गरेका चुरोटहरू पनि धेरै छन्।

अब खास कुरामा आऔँ, है। तपाईँलाई यी दुई मुलाहरू किन कसरी छुटिए भन्ने नै उत्सुकता होला। अर्काको मनको कुरा ‘छु’ मतलब त हो नि।

यता सुन्नुस्, अरविन्दको घरपट्टी आमासँग राम्रो सम्बन्ध भए तापनि घरपट्टी बा अर्थात् बाबुकाजी दाइसँग खासै बोलचाल थिएन। एकले अर्कालाई के सोच्थे, त्यो चासोको विषय पनि भएन। तर, केही हप्तायता, बाबुकाजी दाइले त देउता नै मान्न थालेका थिए। नमानुन् पनि किन? कुरा निकै रोचक छ।

विद्युत प्राधिकरणले लाइन काटेर घर अन्धकार भएपछि त्यही अरविन्दले नै त बिजुलीको पैसा तिर्न सापटी दिएको थियो, रे। हुन त हप्तामा तीन चार दिन लोडसेडिङ नै हुने हो। तापनि टोलका अरू घरमा झलमल बत्ती बल्दा एउटा घरमा अन्धमुष्टि अँध्यारो हुँदा समाजमा लाज हुन्न र? तर त्यो घरले एक रातमात्र अँध्यारोमा बितायो। यसरी टोल छिमेकसामु बाबुकाजी परिवारको लाज बचाइदिएको थियो।

घरलाई उज्यालो बनाइदिएको अरविन्दको डेरा सराइले किरणको मनमा भने अँध्यारो छाएको प्रस्ट झल्किन्थ्यो। अरविन्दले यसरी पैसा तिर्देको कुरालगायत सबै कथा मलाई किरणले त्यही भेटमा सविस्तार सुनाएको थियो।

साथै, यहाँ कहानीमा ट्विस्ट पनि छ। बाबुकाजी दाइले ४,५ महिनादेखि बिजुलीको पैसा तिरेको रहेन छ। पैसा तिर्ने निहुँमा जुवातास अनि भट्टीतिर गएर सकाएको रहेछ। त्यही घरभाडाको भरमा घरखर्च, बालबच्चाको पढाइ खर्च अनि आइरहने चाडवाड आदिको खर्च धान्दै आइरहेको परिवारलाई मुश्किल पनि होला।

बाबुकाजी दाइको नाममा त्यही एउटा घर मात्रै छ, अहिले। ५ दाजुभाइले भएका जायजेथा बेचेर सकाइहाले। जड्याँहा मानिस भएको घरमा घरको बहालले चारैतिर खर्च गरेर हातमा कति पैसा उबार्दो हो।

जड्याँहा लोग्नेलाई सम्हालेर हातमा खासै पैसा बच्छ जस्तो देख्दिन, तताजुको।

किरणले पनि यही नै सुनाउँदै थियो। तापनि तताजुले अरविन्दको फाइनान्समा पैसा पनि जम्मा गरेकी रहिछन्। र, त्यही पैसा झिकी बिजुलीको बिल भरेका हुन्, अरविन्दले।
किरणले भेटमा यस्तो भन्थ्यो, ‘घरपट्टी आमाले अरविन्दसँग सापट लिएको भन्नुभएको रहेछ, साहु बालाई। बिजुली अड्डा गएर पैसा तिर्ने, लाइन जोड्ने सबै काम अरविन्दले गरेको भन्नुभयो। अहिले फसाद।’

उसको कुरा सुनेर म तीन छक्क परेँ।  किरण भने घरपट्टी आमाप्रति सहानुभूति देखाउँदै भन्दै थियो, ‘त्यस्तो जड्याँहा, जुवाडे बुढो छ, आफैले यसो जोहो गरी नबचाए त भोलि भाइबहिनीलाई पढाउन नै गाह्रो होला।’

बाबुकाजी परिवारले एक छोरी र एक छोरा गरी ईश्वरको वरदान प्राप्त गरेका छन्। म त छक्क परेँ नै साथै चासो पनि ह्वात्तै बढ्यो। ‘अनि किन त अरविन्द सर्नु परेको’, मैले तु प्रश्न राखेको थिएँ।

मेरो प्रश्नसँगै किरण आफ्नो चोर औँलालाई कान वरिपरि खेलाउँदै त कहिले कान कोट्याउँदै हाई काढ्ने जसो अल्छी मुद्रामा देखिएको थियो। यसो हेर्दा लाग्छ, उसको मनको टुक्रा नै उछ्छिटिएको छ। अनि केही क्षणपछि सुस्केरा हाल्दै भन्यो, ‘अरविन्दलाई साहु बाले त देउतै जसो गरे नि। मातिँदा त कुरै नगरूँ, देउतै मानी ढोग्ने नै गर्थ्यो।’ ‘अरू बेला पनि अरविन्द बाबु धेरै धेरै धन्यवाद छ भन्दै नतमस्तक भइदिने साहु बा।’

आफ्नै पीडा पोखे सरी सुनाउन थालेको थियो किरणले, ‘यता साहु बाको यो चालामाला घरपट्टी आमालाई पटक्कै मन परेको थिएन। एक त आफ्नै पैसा अनि के गरून्। घरपट्टी आमाले अरविन्दलाई सर्न भनिन्।’

किरणले लामो साँस फेर्दै ‘के गरूँ मेरो त बिजोग नै भो’ भने जस्तो नि लाग्यो। ‘सायद, म पनि सर्छु होला’ भनेको त याद छ। तर यहाँ बिजोग हुनुपर्ने कुरा के छ र? यहाँ प्रश्न खडा भएको छ। अनुहार पनि चुसिसकेको आँपजस्तो बनाएको थियो। के अरिवन्दले कतै… सोधुँजस्तो भएको थियो तर मनमा खडा भएको प्रश्न, जिज्ञासालाई मनमै मात्र राखेँ।

जे होस्, उसले सुनायो। मलाई लाग्यो, उसले सर्वश्व लुटाएको छ।

त्यसलगत्तै कोठातिर लाग्छु भन्दै यसो भनेका थिए, ‘दाइ, अहिले म लाग्छु, महिना मर्न दस बाह्र दिन बाकी छ तैपनि कोठा मिलाउन पर्‍यो  नि।

मैले ल..ल.. ओके भेट्दै गरौँ न भनेर हात अघि सारेको थिएँ। हुन्छ दाइ, भेट्दै गरौँ न भन्दै उसले पनि हात मिलाएको थियो। भेट्दा, जाँदा सधैँ हात जोडेर नमस्कार गर्थ्यो, उसले। यसपटक मैले नै हात दिएँ, उसले बिना कुनै प्रतिक्रिया मिलाएको थियो।

त्यो ह्यान्डसेकको दृश्य पनि मेरो आँखामा नाचिरहेको छ।

म भर्खरै भातसात खाइ त्यही हात चुठेर कोठामा पसेको हो। मेरो झ्यालको पश्चिम उत्तरतिर दुई घर पर तेस्रो तलामै उसको कोठाको झ्याल देखिन्छ।
उसको कोठातिर चियाउने बानी परेको छ, अहिले।

इन्भर्टरमार्फत्को यो उज्यालोमा म मेरो परिचय पनि दिन्छु है। मैले मेरो पेसाबारे त अघि नै भने। मेरो परिचय… म अविवाहित छु, त्यही ३५ वटा दसैँ मनाइसकेँ। अरू के, नाम, थर? नाम, थरमा के राखेको छ र, अनि सेक्स, लिङ सोध्नु होला। छोड्दिनुस् हजुर।

प्रश्नैप्रश्न।

किरणको कोठातिर फेरि मेरो नजर स्थिर भएको छ। किरणको चिन्ता लाग्छ, कता कता।

आँखा झ्यालतिरै छ अनि हात चुरोटतिर बढाएको मात्र के थिएँ, त्यतिकै बेला गुञ्जियो आवाज, बत्ती आयो, बत्ती आयो। म भने हतार हतार झ्यालतिरै पुगेँ। तर कोठामा उज्यालो थिएन।

के अघि देखेको प्रकाश मेरो कल्पना मात्र थियो। मैले प्रश्न गरेँ। या त्यो लाइट लोडसेडिङमै सुतेछ।

हातको क्यासियो घडीले ९ बजेर ३३ मिनेट देखाएको छ।

आज झण्डै हप्तादिनपछि त्यहाँ एउटा प्रकाश देखेको थिएँ। त्यो प्रकाश कुन बेला बिलायो पत्तै भएन।

म इन्भर्टरको लाइन सबै अफ गर्छु।

कोठामा बत्ती निभाएको छु। तर बाह्य झिलिमिली र ती इन्द्रेणी रङका प्रकाशपुञ्जहरू प्रवेश गरेका छन् साथै तिनीहरूले कोठाका भित्तामा विभिन्न छाया आकार पनि बनाएका छन्।

एउटा चुरोट सल्काएँ, भर्खरै।

म सल्किनेछु, बिहानसम्मै।
……………..
शुक्रबारबाट दिन शनिबार भइसक्यो। म कुन बेला निदाएँ, कति क्षण निदाएँ, थाहा छैन। मैले थाहा पाउन चाहेको कुरा एउटै मात्र छ।

म ओछ्यानबाट सीधै झ्यालतिर पुगिसकेँ। राति कुन बेला मैले पर्दा लगाएछु, त्यो नि याद छैन।

म मेरो झ्यालको पर्दालाई सार्दै किरणको झ्यालमा आँखालाई एक टक पारेको छु।

गत शनिबारको साँझपछि यो झ्यालबाट त्यो झ्यालमा चियाउने मेरो बानी परिसकेको छ। झ्यालको सिसामा रंगीन चित्रहरू चलिरहेको हुन्थ्यो। त्यहीँबाट अर्कै दुनियाँमा पुगेको आभास हुन्छ, मलाई।

हिजो रातिबाट भने बाहिरीपट्टिको झ्याल खुला थियो।

अहिले पनि किरणको कोठाको झ्याल खुला छ। बाहिर भित्र पूरै खुला छ, पर्दा हटाएको छ, ट्रान्सपारेन्ट। तर यो कस्तो दृश्य देख्दै छु।

झ्यालबाहिर चियाउँदैछिन्, एक युवती।

म के देख्दै छु। मैले सोचेको होइन, यस्तो।

म आँखालाई फोकस गर्दैछु।

लौ, किरण डेरा सरिसकेछ। बजाउँदाबजाउँदै गितारको तार चुँडेजस्तो बेस्वादको कर्कश आवाज मनले सुनायो।

दुवै नयन युवतीलाई डिफोकस गर्दै पछाडितिर फोकस हुन थाले। त्यहाँ कुनै आकृति चलमलाइरहेजस्तो थियो। नभन्दै एउटा मानव शरीर अगाडि आइरहेको देखियो। त्यसले ती युवतीलाई पछाडिबाट अँगालो मार्‍यो  र गम्लंग आफ्नो बाहुपाशमा लियो।

त्यो हात अनुहारको केशलाई हटाउँदै केश अनि हेर्दाहेर्दै गालामा….. नाइँ, म भन्न सक्दिनँ।

म झस्किएँ। छाँगाबाटै खसेँ। जमिनमुनि भासिएँ। ज्वालामुखी नै विस्फोटन भयो।

त्यो शरीर.. त्यो शरीर किरणको थियो। उनीहरू प्रेमालाप गर्दै भित्र पसे। पर्दा ताने।
———
तन थाहै नपाई झ्यालतिर बढेछ तर सडकतिरको होहल्लाले झस्किएँ म।

मेरो मनमा भने समाचारमा उल्लिखित कुरा गुञ्जिन थालेछ, वास्तविक रूपमा गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो। …. यसको लाभ आमनागरिकमा पुर्‍याउन  सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ।

अहिले म पर्दा उघार्दै छु। खासै यो पर्दा हुनु या नहुनुको केही फरक छैन किनकि झ्याललाई ढाकिने गरी सामुन्ने अग्लो घर जो छ।

प्रकाशित: २२ असार २०८१ १४:३३

प्रतिक्रिया

One thought on “अघोषित प्रेमकथा

  1. आफ्नै गन्थन तर राम्रो प्रस्तुति। बेइजिङमा बसेर यत्तिको लेख पस्कनुभएकोमा शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =