गायक बन्ने सपना बोकेर २०६६ सालमा काठमाडौँ प्रवेश गरेका अनुप न्यौपाने अन्ततः नाट्यकर्मी बने। अनुपकाे अर्को पहिचान हो- ‘कवि’। थिएटरले नै उनलाई कवि बनाएको हो। ‘द पाेएट आइडल’ को पहिलो सिजनको टप फाइभसम्म यात्रा पनि गरे। उनी राजेश हमालका फ्यान थिए। उनको फिल्म हेर्ने मात्र हाेइन पाए सुन्ने पनि गर्थे। तिनै राजेश हमालले समेत अभिनय गरेको नाटक हेर्दा अन्य कलाकारको अभिनय पनि दमदार लागेपछि नाटकमा आकर्षित भएका थिए। १० वर्षदेखि नाट्यक्षेत्रमा रमाइरहेका अनुपले निर्देशकीय रूपमा पहिलोपटक ‘म्याड फेस्ट-२०२४’ गर्दैछन्। म्याड फेस्ट अर्थात् ‘मण्डला पूर्व विद्यार्थी नाटक महोत्सव’। भोलि अर्थात् असार २१ देखि २३ सम्म चल्ने फेस्टिभलसहित कवि, कविता र थिएटरबारे अनुपसँग हिमाल प्रेसकर्मी सुस्मिता बजगाईंले गरेको संवाद:-
पहिलोपटक म्याड फेस्ट गर्दै हुनुहुन्छ, यसको अर्थ के हो?
मण्डला थिएटरका पूर्व विद्यार्थीको एउटा समूह छ- ‘मण्डला अल्मुनाई सर्कल’। यही समूहबाट हामीले मण्डला अल्मुनाई ड्रामा फेस्टिभल (म्याड फेस्ट) नाटक महोत्सव गर्न लागेका हौँ। फेस्टिभलमा मण्डलाका पूर्व विद्यार्थीलाई समेटेका छौँ। महोत्सव तीन दिन (असार २१-२३) मण्डला थिएटर थापागाउँमा चल्नेछ। यो हाम्रो पहिलो प्रयास हो।
म्याड फेस्टले केकस्तो विषय प्रस्तुत गर्छ?
यस फेस्टिभलमा ६ फरक-फरक नाटक मञ्चन गर्नेछौँ- ‘रेल्वे टु नो व्हेर’, ‘मिरर’, शिल्पीनी’, ‘नुग्धा’, ‘आगम’ र ‘अंकुरन’। साथै नाटक निर्देशन र लेखन, मिडिया, अग्रज र हाम्रो पुस्ताबीच कुराकानीमा आधारित ‘प्यानल डिस्कसन’को चार सेसन छ। त्यस्तै कविता वाचन, गीत, संगीतको प्रस्तुतिसँगै समाचारले समाजमा पारेको प्रभावलाई पनि समेटेका छौँ। थिएटरमा १८ वर्ष माथिकाको लागि मात्र कार्यशाला भैरहेको हुन्छ तर, हामीले १८ वर्ष मुनिका (२०८० मा एसईई दिएका) भाइबहिनीलाई लक्षित गरेर एउटा प्रस्तुति राखेका छौँ।
फेस्टिभलको उद्देश्य के हो?
एक त सबै एकतामा बाँधिने भन्ने नै हो। थिएटरमा लामो समय भैसक्यो काम गरेको। थिएटरका हामीहरू कता-कता छरियौँ, देखिरहेका साथीहरू नै आउँदै हराउँदै गरेका छन्। उहाँहरूलाई पनि जोड्न सकिन्छ कि भन्ने नै हो। अर्को थिएटरका उत्पादनहरूलाई कामको लागि स्थान बनाउनु हो। सधैँ किन अरूको मुख ताकेर बस्ने? अरूसँग आस गरेर बस्नुभन्दा आफ्नो लागि आफैँ स्थान बनाऔँ, काम आफैँले सिर्जना गरौँ भनेर पनि हो।
योजना कसरी बन्यो?
कार्यशालामा जुनियर आउनुहुन्छ। हामी जुनसुकै क्षेत्रका व्यक्ति पनि सिनियरहरूले केही गरिदिन्छन् कि भनेर अलि बढी अपेक्षा गरिरहेका हुन्छौँ। थिएटर प्रवेश गरेको हिसाबले आफैँ सिनियर भइसकेछु भन्ने फिल पनि भयो। म भन्दा अघि पनि धेरै विद्यार्थी हुनुहुन्थ्यो र पछि पनि थुप्रै जोडिसक्नुभएको छ। कति जोडिने क्रममा छन्। हामी आफैँले अपेक्षा गरिरहँदा आफ्नो जिम्मेवारी कसरी पूरा गरिरहेका छौँ भन्ने जवाफ खोज्दा फेस्टिभलको आइडिया फुर्यो।
हाम्रो ल्याब फोको सेलिब्रेसनको दिन सबै एकै ठाउँमा सधैँ जमिराख्न केही गरौँ न भन्नेबारे छलफल भैरहेको थियो। मैले नै कुरा उठाएको थिए। मैले पहिलोपटक दया दाइसँग यो कुरा सेयर गरेको थिएँ। उहाँलगायत सबै साथीहरूले सपोर्ट पनि गर्नुभयो र केही आइडिया पनि दिनुभयो। सबै योजना साथीहरूमार्फत नै बन्यो।
म्याड फेस्ट नै किन रोज्नुभयो?
हामी मण्डलाकै विद्यार्थी हौँ। लामो समयदेखि थिएटरमै तल्लीन छौँ। यसैमा केही गरौँ भन्ने सोचमा पर्दा ‘म्याड फेस्ट’ जन्मियो। अधिक पुराना विद्यार्थीहरू जो क्षमता भएर पनि अवसर पाइरहेका छैनन्। मण्डलाकै प्रोडक्ट हामी धेरै छौँ तर सबैले प्लेटफर्म पाइरहेका हुँदैनन्। त्यसै बेला हामी आफैँले किन केही नगर्ने? भन्ने हेतुले आन्तरिक समूहबाट नै नाटक गरौँ भन्ने लाग्यो। र नाम राख्ने क्रममा मण्डला अल्मुनाई ड्रामा फेस्टिभल युनिक नाम जस्तो लाग्यो।
म्याड फेस्टको लक्षित वर्ग को हुन्?
अहिले हामीले आफ्नै घरभित्रका सदस्यलाई मात्र समेटेका छौँ। पछि अन्य थिएटरलाई पनि समेट्ने कि भन्ने त थियो तर पहिलो पटक प्राक्टिस पनि छैन, कस्तो हुन्छ भन्ने अनुभव पनि। त्यसैले बाहिर जाने आँटै आएन के। घरभित्र त गल्ती गरे पनि केही छुट हुन्छ। आगामी वर्षमा देशैभरका थिएटर कलाकारलाई समेट्ने योजना हाम्रो छ। युवापुस्तालाई जागरुक बनाउने योजना पनि त छँदैछ।
कस्तो महसुस गरिरहनुभएको छ?
ओहो! पहिलो पटक एउटा इभेन्ट नै बोकेर हिँडिहँरदा दामी प्रेसर फिल हुनेरहेछ। साथै मज्जा र खुसी पनि आउँदो रहेछ। मलाई मात्र होइन टीमका साथीहरूको प्रेसरको पनि फिल गरेको छु। थिएटरमा एउटा नाटक हुन्थ्यो। त्यसमा सहभागी कलाकारहरु मात्र थिएटरमा आइपुग्थे। सकेपछि को कता थाहा हुन्थेन्, जानकारी नै हुँदैनथ्यो। अहिले भने नाटकसहित अन्य अतिरिक्त क्रियाकलाप हुने भएकोले पनि पुराना विद्यार्थीहरू हाम्रो हो भन्दै थिएटर आइरहनुभएको छ। टाढा पुगेकाहरू घर फर्केको महसुस भइरहेको छ। यो फेस्टले मण्डलाका टिम पनि निकै हर्षित हुनुहुन्छ। जसले हामीलाई थप ऊर्जा र हौसला मिलिरहेको हुन्छ। यसले खुसी मिलेको र अब काम गरेपछि प्रेसर भएन भने त मज्जा नै आउन्न नि!
यसले दिन खोजेको सन्देश के हो?
यो फेस्टिभलमार्फत साथीहरूलाई यसरी पनि काम गर्न सकिने रहेछन् भन्ने उर्जा मिल्छ होला र नाटकको पक्षबाट हेर्दा नयाँ शैली आएन, विदेशी रूपान्तरण धेरै भयो भन्नेलाई त्याग्न पनि सक्छ। फेस्टिभल पनि नाटक मञ्चन भन्दा लेखन कार्यसँग बढी सम्बन्धित छ। हामीले सबै विद्यार्थीहरूलाई बोलाएर नयाँ कथा लेख्यौँ। १८ कथा आएको थियो। लेखक, निर्देशक, प्रोडक्सन म्यानेजरको जुरीमार्फत ६ नाटक छनोट गरेका छौँ। नाटकमा पनि नयाँ कलाकारहरू हुनुहुन्छ। सबै कथा फरक-फरक छन्। उहाँहरू आफैँले लेखेर तयार पार्नुभएको हो। हामीले यसरी पाँच वर्ष मेहनत गर्यौँ भने थिएटरमा लाग्ने आरोपलाई त्याग्न सकिन्छ कि भन्ने पनि हाम्रो बुझाइ छ।
अरू फेस्टिभल भन्दा यसमा के फरक छ?
एक त नेपालमा नाट्य महोत्सव कम हुन्छ। सीमित महोत्सवमा पनि प्रायः मञ्चन भइसकेको नाटकमध्येबाट महोत्सवको लागि उत्कृष्ट नाटक छानिन्छ र देखाइन्छ। तर हामीले बिल्कुल नयाँ ढंगबाट नाटकको कथा लेखेका छौँ। सबैलाई नयाँ कथा लेख्न लगाएर त्यसमा बहस गराएर जुरीमार्फत फेस्टिभलको लागि तयार गरेका छौँ। हामीले महोत्सवमा लेखन कार्यशालालाई बढी प्राथमिकता दिइरहेका छौँ। त्यसपश्चात पनि हामी सबै नाटक १०-१० दिन मञ्चन गर्ने तयारीमा छौँ। यसले हाम्रो महोत्सव ६ महिनासम्म लम्बिन्छ। सम्भवतः मैले बुझेँसम्म नाटकमा यो प्रक्रियाको फेस्टिभल भएको छ जस्तो लाग्दैन।
फेस्टिभल गर्न लगानी कति लाग्दो रहेछ?
बजेट भनेर छुट्याइएको छैन। सुरुवात भएकोले जिरो लगानीमा फेस्टिभल गर्न लागेका छौँ। तपाईंलाई अचम्म लाग्ला, हामी सबै अल्मुनाई सर्कल भोलयन्ट्री खटिएका छौँ। अत्यावश्यक परेको खण्डमा मण्डलासँग सहकार्य छ। अब हेरौँ कति लाग्छ भन्न सकिन्न।
यसरी सम्भव हुन्छ र?
आफ्नै उत्पादन भएकोले मण्डलाले जिम्मेवारीको नजरबाट हेरिरहेको छ। हाम्रो कामप्रति सकारात्मक पनि छ र सबै साथीहरूले पनि आफ्नै घरभित्रको कुरा र काम हो, हामी नै स्वयंसेवकको रूपमा काम गर्न सकिन्छ भनेर लागेकोले सम्भव भयो। मण्डलाले अभिभावकत्व ग्रहण गरेको छ र हामीले घरको जिम्मेवारी लिएका छौँ। जिम्मेवारी र अभिभावकत्वको संयोजकत्वमा काम गर्न सकिने रहेछ।
अब तपाईंको रंगमञ्चको यात्राबारे कुरा गरौँ, कहिले सुरु भयो यो यात्रा?
म मण्डला ल्याबको चौथो ब्याच (२०७१) को विद्यार्थी हुँ। मेरो रंगमञ्च प्रवेश ठट्यौली शैलीको छ। सानैदेखि राजेश हमालको एक्सन खत्रा मन पर्ने। त्यतिखेर अरू कलाकार चिन्दिनथेँ। हमालको धेरै फिल्म हेरेको छु। नेपाली फिल्म हेर्दै हुर्केको। अझ कति फिल्म त रेडियोमा पनि सुनेको याद छ। नेपाली फिल्मप्रति रूचि राख्नेहरूका लागि त उहाँ आइडल नै हो। सबै उहाँजस्तै बन्ने सपना देख्थे। एकदिन पत्रिकामा हमालले ‘कोटमार्सल’ नाटक गर्दै भन्ने समाचारसहितको फोटो देखेँ। मैले त माइकमा स्कुलमा साथीहरूले गरेको नाटकमात्र देखेको। मनमा राजेश हमालले खेल्ने नाटक हेर्ने क्युरिसिटी पैदा भयो। निकै मुस्किलले थिएटर खोज्दै आएँ र डराउँदै भित्र छिरे।
त्यतिबेला नै हो मैले नाटक हेर्न पहिले टिकट काट्नु पर्दोरहेछ भनेर थाहा पाएको। पैसा तिर्ने नतिर्ने दोधारमा थिएँ। एक जना दाइलाई राजेश हमाललाई हेर्न पाइन्छ भनेर सोधेँ। ती दाइले ‘तिम्रै अगाडि एक्टिङ गर्छन् भाइ’ भने। टिकट काटेर भित्र छिरेँ। मनमा डर पनि पैदा भैरहेको थियो। छेउमा गएर बसेँ केही भयो भने भाग्छु भन्ने सोचले। ओहो! आफूले आइडल सोचेको मान्छेले आफ्नै अगाडि प्रस्तुति दिँदा संसारकै सबैभन्दा ठूलो खुसी मिल्यो, गएर च्याप्प समाइदिउँझैँ लाग्यो। निकै प्रफुल्लित भएको थिएँ, त्यो क्षण।
म त नाटकमा डुबेछु। मैले आइडल मानेको राजेश हमाल भन्दा अन्य कलाकारको प्रस्तुति मन पर्यो। पहिलो नाटकको छाप परिरह्यो। पछि आफूले नाटकको क्लास गर्दैगर्दा थाहा पाएँ उहाँहरू पशुपति राई, दिया मास्के, सुवास थापा हुनुहुँदो रहेछ। त्यो नाटक थिएटर भिलेजको पुरानो भवनमा हुँदै थियो। त्यसपछि नाटकप्रति रूचि बढ्यो, नाटक हेर्न उत्सुक भएँ तर फिल्म फिक्का लाग्न थाल्यो। अन्य नाटक हेर्ने क्रममा ‘रस्वमन’ हेर्न मण्डला थिएटर आइपुगेँ। मण्डलामै अर्को ‘जम्पिङ फ्रग’ र ‘सनलेग’ पनि हेरेँ। यी सबै फरक किसिमका नाटक थिए। एक्टिङ सिक्छु भन्ने पनि लागिरहेको थियो। र, मण्डलामै ल्याबको विद्यार्थी भएर २०७१ सालमा क्लास जोइन् गरेँ।
थिएटरमा जोडिने सानैदेखिको सपना थियो?
मेरो घर दोलखा। २०६६ सालमा प्लस टु सकेर स्नातक पढ्ने र गायक बन्ने सपना बोकेर काठमाडौँ आएको थिएँ। घाँसपात गर्न वनपाखा जाँदा रूखको टुप्पोमा पुगेर अरूलाई गीत सुनाउँदा खत्रा गाउँछु लाग्ने, सीधै स्टुडियो छिरेपछि त गायक भइन्छ जस्तो लाग्थ्यो। त्यतिखेर उमेर नै आलोकाँचो। पछि स्टुडियोमा गाएर आफैँले सुनेपछि थाहा भयो यो मेरो विधा होइन रहेछ। अहिले बुझियो एउटा कलाकार हुनलाई कति साधना, मिहिनेत र दुःख गर्नुपर्ने रहेछ भन्ने। रहर त छ तर एकातिर भिजिसकेपछि फुत्त अर्कोतिर गैदिँदा अरूको प्रतिभालाई सम्मान नगरेजस्तोे लाग्छ।
अहिले त थिएटर सिक्नेहरू पनि धेरै हुनुहुन्छ। कतिपयले सिकेपछि काम पाउन मुस्किल छ भन्नुहुन्छ। यसप्रति तपाईंको धारणा के छ? अनुभवको आधारमा अभिनयतिर रुचि राख्ने नवपुस्तालाई के सुझाव दिनुहुन्छ?
म १० वर्षदेखि यसैमा तल्लीन भएर लागिरहेको छु। अझ कति टिक्छु या टिक्दिनँ त्यो त थाहा छैन। नाटकप्रति भविष्य छैन नै भन्न मिल्दैन तर टिक्न अफ्ठ्यारो पनि छैन र सहज पनि। त्यो बीचको जर्नी त गाह्रै छ। कोही थिएटरमा आउन चाहनुहुन्छ भने सर्वप्रथम आफू केको लागि जाँदैछु भनेर स्पष्ट हुन जरुरी छ। अभिनय सिकेर एक दुई नाटक गरेर साइड लाग्छु भन्ने हो भने त्यही अनुसार तयार भएर जानुहोला। अर्को जीवन थिएटरमै व्यथित गर्छु भन्ने योजना छ भने त्यही अनुसारको तयारी र धैर्यता हुन आवश्यक छ। कलाकार बन्छु भन्ने सोचले आउनुहुन्छ भने कम्तीमा पाँच वर्ष मेरो सिकाइ प्रक्रिया हो भन्ने सोच राखेर आउनुभयो भने आफ्नो सपनाको लक्ष्यतर्फ क्लियर हुन पाउनुहुन्छ। तीन/चार महिनाको क्लासको रिजल्टले साक्षरमात्र बनाउने हो। मुख्य कुरा थिएटर किन जाने भनेर स्पष्ट हुनुपर्छ। र, कम्तीमा पाँच वर्ष सिकेपछि आफू थिएटरको लागि हो होइन भनेर बुझ्नुहुन्छ।
कलाकारितासँगै कविता लेखनतर्फ पनि तपाईंको उत्तिकै लगाव छ, यी दुई विधालाई सँगै कसरी अगाडि बढाइरहनुभएको छ?
मैले लेख्न थालेको गायक बन्ने सपनादेखि नै हो। सानैदेखि शब्द कोर्न रहर लाग्ने, संयोगवश अभिनयतिर भिजेँ। प्लस टु पढ्दा गीत लेख्थेँ। त्यतिबेला ठूलोबुबाका छोरा मनोज दादाले करेक्सन गरिदिनुहुन्थ्यो। लेखन कार्य निरन्तर रह्यो। परिणामस्वरूप अहिले कथा, कवितातर्फ लगाव बढेको जस्तो लाग्छ। मैले थिएटर र कविता लेखन दुवैलाई सँगसँगै लगिरहेको छु। अभिनय सिक्ने क्रममा कोरेका शब्द साथीहरूलाई सुनाउँथे। सोसल मिडियामा आएकोले कतिपयले कविको रुपमा चिन्नुहुन्छ।
यसले अभिनय पक्ष लुकेकोजस्तो देखिन्छ तर थिएटरतिर नै बढी लगाव छ। मलाई कवि बनाएको पनि थिएटरले नै हो। थिएटर विधा समुद्र जस्तो हो, हिमालबाट पग्लेका हिउँदेखि विभिन्न ठाउँका नदी, खोलानाला मिसिएर त्यहाँ पुगेर बिलाउँछ तर त्यसको मुहान कहाँ हो थाहा हुन्न। त्यस्तै थिएटरमा पनि साहित्य, कला, प्राविधिक पक्ष, कविता, चित्रकला, संगीतलगायतका थुप्रै विधा समेटिन्छ। त्यसैले यसमा कला विधा जोडिँदा असहज हुन्न।
द पोएट आइडलको पहिलो सिजनमा पनि सहभागी हुनुभयो त्यहाँबाट के सिक्नुभयो? स्टेज सेयर गर्दाको अनुभव कस्तो हुँदो रहेछ?
मेरो जीवनको महत्त्वपूर्ण क्षणमध्ये द पोएट आइडल पनि एक हो। यो समयमा मैले आफूलाई हेर्न पाएँ। त्यहाँ कवि-कविको माहोल, कविताकै कुरा, एकअर्काको कवितानै सुन्ने। त्यसरी कविताको माहोलमा म कहिल्यै बसेको थिइनँ। एक्लै थिएँ, कविता लेख्थेँ। आइडलले एकातिर मेरो एज अ पोएट पनि ग्रोथ भयो, अर्कोतिर लामो समयदेखि थिएटरमै थिएँ। त्यसमा आफूले आफूलाई रिफ्लेक्ट गर्न पाएँ।
आइडलले कवितामा मैले के गरिरहेथेँ, कुन पक्षमा गलत रहेछु र कुन पक्षलाई सुधार्न सकिन्छ भन्ने आँट भरिदियो। अमनदाइको ज्याद्रोपनले मलाई इनर्जी दियो। र अर्को त्यहाँ जति जनाले मलाई सहयोग गर्नुभयो त्यो अनएक्सपेक्ट थियो। टप फाइभसम्म पुग्छु भन्ने अपेक्षा गरेकै थिइनँ। त्यसरी आफूलाई चिनेर या नचिनेर भोटमार्फत सहयोग गरेर दिनुभएको मायालाई फिर्ता गर्ने एउटा माध्यम पनि हो यो म्याड फेस्ट। यसको आयोजना पोएट आइडलको एउटा देन पनि हो।
पोइट आइडलमा थिएटर कतिको सपोर्ट हुने रहेछ?
धेरै हेल्प भयो नि। थिएटर नै त बोकेर गएको थिएँ। जानेको त्यहीँ मात्र थियो। आइडलमा जानुको श्रेय पनि थिएटरलाई नै दिन्छु। थिएटरका केही साथीलाई थाहा थियो कविता लेख्छु भन्ने। कहिलेकाहीँ नाटककै लागि गीत पनि लेख्थेँ। लेखनदेखि प्रस्तुतिसम्मको यात्रालाई थिएटरले धेरै हेल्प गरेको छ। म पोइट आइडल जानुले थिएटरलाई सपोर्ट भयो र थिएटरमा भएकोले पोइटलाई सपोर्ट गर्यो।
कस्तो अवस्थामा कविता फुर्छ?
म कतिपय मुखले भन्न नसकेका कुरा, मनमा अड्किएको गाँठो फुकाउन, प्रेमका कुरा, चित्त नबुझेँको कुरा व्यक्त गर्ने माध्यम शब्दलाई बनाउँछु र गद्य शैलीमा कविताको जन्म हुन्छ। यसैमा लेख्छु भन्ने हुन्न।
रंगमञ्चमा यसको आवश्यकता छ जस्तो लाग्छ?
कविता रंगमञ्चको एउटा हाँगो हो। आर्टको जुनसुकै विधा रंगमञ्चमा जोडिन सक्छ। एउटा नाटक बन्नको लागि व्यवस्थापन र साहित्य नभई नहुने तत्व हो। थिएटर अडियो भिडियो दुवै माध्यम भएकोले त्यो भित्र सबै विधा चाहिन्छ र आवश्यक पनि उत्तिकै छ।