महामन्त्री ढकालको प्रतिवेदनले रास्वपामा तरंग

विवाद बढाउला कि बहसतर्फ सोझिएला पार्टी?

हिमाल प्रेस १४ असार २०८१ १०:२६
10
SHARES
विवाद बढाउला कि बहसतर्फ सोझिएला पार्टी? रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक। फाइल तस्बिर

काठमाडौँ- ३८ जिल्लाको यात्राबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विषयमा महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनले पार्टीभित्र तरंग ल्याएको छ।  महामन्त्री ढकालले समीक्षा प्रतिवेदन तयार पारेर सभापति रवि लामिछानेलाई बुझाएका प्रतिवेदनले पार्टीभित्र छलफलको विषयमा बनाएको छ।

प्रतिवेदनका सन्दर्भमा छलफल गर्न रास्वपाले यही असार १९ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। जहाँ समीक्षा प्रतिवेदनमाथि छलफल गर्ने एक मात्र कार्यसूची छ। रास्वपाका सांसद शिशिर खनाल महामन्त्रीले पार्टी सभापतिसमक्ष पेस गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताउँछन्।

बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा खनालले पार्टी कमजोर भयो भन्ने आवाज उठेकाले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताए। ‘स्वाभाविकरूपमा अहिले चारैतिर हामी कमजोर भयौँ कि भन्ने आवाजहरू हाम्रै पार्टी पंक्तिका साथीहरूले नभनेका कुरा चाहिँ होइनन्। महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो,’ उनले भने।

उनले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि यात्रामा पठाइएको बताए। तयार प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने उनले बताए।

‘उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो। उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वभाविक रुपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौ । अध्ययनको आधारमा निष्कर्षहरू निकालिन्छ’ खनालले भने।

महामन्त्री ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गते लामिछानेलाई प्रतिवेदन बुझाएका थिए।  यसपछि अब रास्वपाले कस्ताे नीति लिएला कौतुहलताको विषय बनेको छ। कतिपय नेताहरू महामन्त्रीमाथि कारबाही हुन सक्ने सम्म बताउँछन्। उनले आगामी चुनावमा रास्वपाले थ्रेसहोल्ड सम्म कटाउन कठिन रहेको बताएका छन्।

उनले एमाले र माओवादीसँग सहकार्य गर्न भन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्न उनले अनुरोध गरेका छन्। यता लामिछाने भने वर्तमान सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री छन्। भुसालको प्रतिवेदनलाई सकारात्मक नलिएको रास्वपा स्रोत बताउँछ।

तर, रास्वपाका कतिपय नेताहरू रास्वपाभित्र देखा परेको तरंग स्वभाविक भएको बताउँछन्। ‘पार्टी ठिकै गतिमा छ भन्दा अगाडि बढ्न समस्या हुन्थ्यो । समस्यामा छ भन्दा सुधारका लागि थप शक्ति आर्जन गर्न सकिन्छ’ एक नेता भन्छन्, ‘यो स्वभाविक प्रतिवेदन हो।’ रास्वपा नेता मनिष झा पनि प्रतिवेदनप्रति नकरात्मक टिप्पणी गर्न नमिल्ने बताउँछन्। उनी ‘दलभित्र पुनरावलोकन, पुनर्विचार र पुनर्निर्माणको बहस लोकतान्त्रिक अभ्यास’ भएको बताउँछन्।

झा यसलाई सहज र स्वाभाविक राजनीतिक प्रक्रियाको रूपमा लिनुपर्ने सुनाउँछन्।  कतिपयले पार्टीलाई थप बलियो बनाउने रणनीतिका साथ यो प्रतिवेदन तयार भएको तर्क गरेका छन्। यसले रास्वपालाई थप बलियो र प्रभावकारी बनाउन भूमिका खेल्ने सभापति लामिछाने निकट नेताहरू बताउँछन्।

रास्वपाभित्र राष्ट्रिय महाधिवेशन समेत गर्नुपर्ने आवाज उठिरहेको छ। यो बेला सभापति समेतका लागि सहयोग पुग्ने गरी प्रतिवेदन बनेको छ। पार्टी समस्यामा छ भन्ने भएपछि बनेको संरचना भत्काएर नेतृत्वले आफू अनुकूल टिम बनाउन सक्ने रास्वपाका नेताहरू बताउँछन्।

कतिपयले यही बेला वर्तमान अवस्था सम्हाल्न नसके रास्वपा फुटको अवस्थासम्म पुग्ने चिन्ता व्यक्त गरेका छन्। विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले त रास्वपा महामन्त्री ढकाललाई पार्टीलाई दुर्घटनामा नपार्न सुझाव नै दिएकी छन्।

‘मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्किसक्यो, तपाईंहरु दुर्घटनामा नपर्नुहोस्’ महासचिव रञ्जुले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘हाम्रो इतिहास, लडाइँ, भोगाई, थकाई र सिकाइले हामी हिँडिरहनेछौ र हाम्रो भोगाइबाट तपाईंहरुले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर हो कि, निकै कम समयमा सांसद भवन भित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन। अब सिक्नुहोस्।’

रास्वपाको सुरुवात भइराख्दा उज्ज्वल थापा दाइ, विवेकशीलका संस्थापक नेताको देहान्त भएको भर्खर एक वर्ष भएको स्मरण गर्दै उनले लेखेकी छन्, ‘दाइको देहान्तपछि जसरी लाखौं मानिसले आफ्नो सान्त्वना प्रदान गरे, धेरैले उज्ज्वल दाइको नाम लिन थाल्नु स्वाभाविक नै थियो। रास्वपाले पनि पटकपटक भन्यो सो पार्टीको राजनीतिक धरातलको जग स्व.उज्ज्वल थापाले नै राखिदिएका हुन्।’

गणतन्त्र स्थापनापछि खुलेको विवेकशील नेपाली दल पछि विवेकशील साझा पार्टी बनेको र यसले नेपाली समाजमा अनौठो तरिकाको भद्र राजनीतिको सुरुवात गरेको स्मरण गर्दै उनले लेखेकी छन्, ‘विडम्बना टुटफुटको कठिन यात्रा, दलभित्र एकीकृत हुन नसक्नु, संगठन विस्तार तीव्र रूपमा नबढ्नु, दलकै अध्यक्षको राजनीतिक एजेन्डा परिवर्तनका हक कुदै दललाई खेत जसरी जोतिए पछि आजको दिनसम्म आइपुगेका छौँ।’

यो अवस्थामा रास्वपालाई नपुर्‍याउन रास्वपालाई दर्शनाको सुझाव छ।

प्रकाशित: १४ असार २०८१ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast