देश छाड्नेलाई सारंगीको धुनबाट सन्देश

रमेश भारती १ असार २०८१ ९:२६ | Saturday, June 15, 2024
देश छाड्नेलाई सारंगीको धुनबाट सन्देश गत साता ललितपुरको पाटन संयुक्त क्याम्पसमा आयोजित रोजगार मेलामा सारंगी बजाउँदै तेजेन्द्र गन्धर्व (टोपी लगाएका) र हिमाल गन्धर्व। तस्बिर : हिमालप्रेस

काठमाडौँ-  सारंगी रेटेर दुःख र विरहका गीत गाउनु सामान्य हो। नेपाली संगीतमा सारंगीको धुनले मौलिकतालाई जीवन्त राख्दै आएको छ। पछिल्ला दिनमा सारंगी मायापिरती र विरहका भाकामा मात्रै बज्दैनन्, जनचेतनामूलक सन्देश प्रवाह गर्न पनि प्रयोग हुन थालेको छ। सारंगीको धुनमा यस्तै सूचनामूलक गीत गाउँदै आएका छन् तेजेन्द्र गन्धर्व र हिमाल गन्धर्व। स्थायी घर भोजपुर अरुण गाउँपालिका–६ जरायोटारका उनीहरू दाजुभाइ हुन्।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो छ। यस क्रममा नेपाली युवा ठगिएका घटना धेरै छन्। वैदेशिक रोजगारीका लागि केकस्ता कागजपत्र चाहिन्छन् भनेर पनि कतिपय थाहा नहुन सक्छ। रोजगारीका लागि सुरक्षित गन्तव्यबारे स्पष्ट नहुँदा अन्योलमा पर्ने युवा धेरै छन्। गन्धर्व दाजुभाइ यिनै विषयमा विगत सात वर्षदेखि सारंगी बजाएर गीतमार्फत सन्देश दिँदै आएका छन्।

तेजेन्द्रले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगीबाट बच्न, सुरक्षित रोजगार, वैदेशिक रोजगारी जानुअघि आवश्यक कागजपत्र र वैदेशिक रोजगारीमा क्रममा भोग्नुपर्ने समस्याबारे गीतमार्फत सन्देश दिँदै आएका छौँ।’ हिमालचाहिँ वैदेशिक रोजगारीबाट फर्किएर सारंगी बजाउन थालेका हुन्।

गन्धर्वले गाउने गीतमा सत्य लुक्नु हुँदैन भन्ने मान्यताका साथ वैदेशिक रोजगारीका सूचना सारंगीमार्फत दिने गरेको तेजेन्द्रले बताए। उनले भने, ‘सारंगी परिवार पाल्ने सहारा भएको छ।’ साढे ६ वर्षकै उमेरदेखि सारंगी रेट्ने थालेको उनी बताउँछन्। तेजेन्द्रले भने, ‘दुई दशकयता सारंगीकै भरमा बाँचेको छु। सारंगी मेरो जीवन बनेको छ।’

तेजेन्द्र र हिमाल सहरमा मात्रै सीमित छैनन्। उनीहरू सन्देशमूलक गीत गाउँदै ४३ जिल्लामा पुगेका छन्। विदेश जानुपूर्व नेपालीले अपनाउनुपर्ने सावधानी, विदेशका दुःख समेटिएका उनका नौवटा गीत छन्। उनीहरू जहाँ पुग्छन् तिनै गीतमा भाका हाल्न थाल्छन्।

तेजेन्द्रले गाउँको बजारमा पहिलोपटक जाँदा ‘कहाँ बजाऊँ मादलु…’ बोलको गीत गराए सारंगी रेट्न सुरु गरेको सुनाए। त्यसैले त उनी अहिले पनि यही गीत गाएपछि अरू गीत गाउन थाल्छन्।

तेजेन्द्रले संगीतको औपचारिक शिक्षा लिएका छैनन्। सबै पुस्ताका लागि सूचना, जानकारी र मनोरञ्जनको वाहक बनेका छन्। गत साता पाटन संयुक्त क्याम्पसमा आयोजित श्रमाधान मेलामा भेटिएका उनले भने, ‘समसामयिक र सन्देशमूलक गीतमात्र गाउँछु। यही नै मेरो कर्तव्य हो।’  तेजेन्द्र र हिमाल सुरक्षित आप्रवासनसम्बन्धी परियोजना (सामी) मा  विगत सात वर्षदेखि सारंगी बजाएर गीत गाउँदै आएका छन्।

तेजेन्द्रले दुई वर्षअघि रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ मा सहभागी भएर चर्चासमेत बटुलेका थिए। ‘म सारंगीबाट त्यही बेला चिनिएँ। प्रतिभा परिस्कृत बनाउने मौकासमेत पाएँ। सारंगीलाई जीवन्त बनाइराख्नुपर्छ भने जानकारी पनि त्यहीँबाट थाहा पाएँ।’ गन्धर्वसँग संसारलाई नै मोहित पार्न सक्ने धुन र कला भए पनि अवसर नपाएको उनको गुनासो छ।

भोजपुरको जरायोटार गन्धर्व बस्ती हो। यहाँका गन्धर्वले विगतमा गाउँ डुलेर सारंगी बजाउँदै गाएको कमाइले परिवारको खर्च धान्दै आएका थिए। जरायोटारको माङदिन गन्धर्वहरूको पूर्वकै ऐतिहासिक थलो हो। त्यस ठाउँमा पहिला ३० वर्षअघि ४० घर गन्धर्व थिए। उनीहरूले सारंगी रेटेर जीविकोपार्जन गर्दै आएका थिए। अहिले सारंगीको महत्त्व हराउँदै गएको तेजेन्द्र बताउँछन्। उनी भन्छन्, ‘गन्धर्वहरू गाउँ छाडेर हिँडेपछि सारंगी बजाउने कला पनि लोपोन्मुख अवस्थामा पुगेको छ।’

प्रकाशित: १ असार २०८१ ९:२६ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast