गोरखा – गोरखामा हरेक वैशाख पुर्णिमाका दिनदेखि सञ्चालन हुने ११ दिने रोट महोत्सव यसबर्ष पनि सुरु भएको छ। गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव बिहीबारदेखि सुरु भएको हो।
सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको यसबर्षको रोट महोत्सव २१ औँ श्रृङ्खला हो। रोट महोत्सवको पहिलो दिन बिहीबार बिहान ९ बजे गोरखा बजारको बैंक रोडबाट निष्किएको र्याली पुरानो बसपार्क, बिपीचोक, पदेली, ठुलो आँगन, सतिपिपल, रामशाह चौतारा, गणेश थान हुँदै गोरखनाथ गुफासम्म रथयात्रा गरिएको थियो। १०८ कन्याहरूको कलशयात्रासहितको सो यात्रामा गोरखनाथको रथ बोकेर मन्दिरसम्म पुर्याइएको थियो। रथ यात्रामा एकसय आठ कन्याहरू, नाथयोगी, भक्तजन लगायतको सहभागिता रहेको थियो।
महोत्सव जेठ २१ गतेसम्म चल्ने छ। सो अवधिभर गुरु गोरखनाथको बिशेष पूजासहित एकलाख २५ हजार रोट गोरखनाथलाई चढाउने गरिन्छ। साथै देवी देवताको पूजा, बिशेष हवन, भजनकीर्तन लगायतका गतिविधि हुने केन्द्रका अध्यक्ष रामजी अर्यालले बताए।
गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेकवर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ। गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने प्रसादका रुपमा रोटलाई लिइन्छ। रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ। गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ।
सोहि अनुसार राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनमा उनको मनपर्ने रोटलाई हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट चढाउँदै आएको छ। गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ। बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ। रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ। नाथहरू शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन्।
यो वर्ष ७० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने र २१ लाख भन्दा बढि खर्च हुने अनुमान आयोजकको छ। रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निःशुल्क व्यवस्था समेत गरेको छ। रोट महोत्सवले जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुर्याउने केन्द्रको भनाइ छ।
विश्वकल्याण, विश्वशान्ति, आध्यात्मिक तथा नैतिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन प्रत्येक वर्ष सवालाख रोट महोत्सव गर्दै आएको छ। महोत्सवमा नेपालको विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरू आउने गर्छन्।