‘मौसम पूर्वानुमान प्रणालीलाई भरपर्दो बना‍‍औँ’

हिमाल प्रेस ३१ वैशाख २०८१ २०:२९
8
SHARES
‘मौसम पूर्वानुमान प्रणालीलाई भरपर्दो बना‍‍औँ’ प्रतीकात्मक तस्बिर।

काठमाडौँ- सरोकारवालाहरूले बाढी, पहिरो, डुबानलगायत मनसुनजन्य घटनाबाट हुने क्षति न्यूनीकरण गर्नका लागि पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेको बताएका छन्। जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) यहाँ सार्वजनिक गरेको मनसुन अवधिमा वर्षाको आकलन सार्वजनिक कार्यक्रममा सरोकारवालाहरूले पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेको बताएका हुन्।

जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडीले ८० प्रतिशत पानी मनसुन अवधिमा पर्ने जनाउँदै मौसम पूर्वानुमान प्रणालीलाई भरपर्दो बनाउनुपर्नेमा जोड दिएकी छन्। उनले पूर्वसूचना प्रणालीलाई अझै बढी व्यवस्थित बनाउन संस्थागत सुधारको आवश्यकता रहेको बताइन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका (ऊर्जा) सचिव सुशीलचन्द्र तिवारीले क्षमता विकास र प्रविधि विकास गर्दै पूर्वसूचना प्रणालीलाई अझै बढी व्यवस्थित र भरपर्दो बनाउनुपर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सुरजकुमार वैद्यले पनि जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अझै प्रभावकारीरूपमा प्रवाह गर्न जरुरी रहेको बताए। विभागलाई आवश्यक पर्ने जनशक्ति अभाव रहेको भन्दै आवश्यक जनशक्ति र संरचनागत सुधारका लागि आवश्यक रहेको उनको भनाइ छ।

यसै गरी जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्नका लागि व्यापकरूपमा पूर्वतयारी गर्न आवश्यक रहेको समेत जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पनि विपद्जन्य घटनाको प्रतिकार्यका लागि पूर्वतयारी तथा पूर्वसूचना प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको जानकारी दिए। ‘यसका लागि बलियो संयन्त्र जरुरी छ। साथै आवश्यक बजेट व्यवस्थापन गर्दै यस क्षेत्रमा लगानी बढाउन जरुरी छ,’ उनले भने।

विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले पनि पूर्वसूचना प्रणालीमा लगानी बढाउन सकेमा अझे बढी भरपर्दो र विश्वासनीय पूर्वसूचना प्रवाह गर्न सकिने बताए। विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको तथ्यांक सार्वजनिक गरेको छ।

विभागले आगामी मनसुनी अवस्थाको पूर्वानुमान गर्दै यो मनसुनमा वर्षा सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ। यसले विपद्जन्य घटना बढ्न सक्ने जनाउँदै सतर्कता अपनाउन समेत विभागको निर्देशन छ। रासस

प्रकाशित: ३१ वैशाख २०८१ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast