घरेलु र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै फिल्म बन्नुपर्छ : नवीन सुब्बा

हिमाल प्रेस ३१ वैशाख २०८१ १६:५८
20
SHARES
घरेलु र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै फिल्म बन्नुपर्छ : नवीन सुब्बा नवीन-सुब्बा

काठमाडौँ- रंग पत्रकारिता हुँदै फिल्म निर्देशक बनेका भएका नवीन सुब्बा पहिलो फिल्म ‘खाङ्ग्री’मार्फत नै चर्चामा आएका हुन्। शेर्पा भाषामा बनेको उक्त फिल्ममा हिमाली संस्कृति र कथा देखाइएको थियो भने यो पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने निजी लगानीको चलचित्र थियो।

ट्रेन्टो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवलगायतमा सहभागिता जनाउन सफल भएका निर्देशक सुब्बाको दोस्रो फिल्म ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोलगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थियो।

पछिल्लो समय नेपाल मौलिक कथा भन्नेमा अगाडि रहेको निर्देशक सुब्बाले बताए। ‘हामीले निर्माण गरेका फिल्म अहिले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइरहेका छन्। मौलिक कथा भन्ने सन्दर्भमा हामी छिमेकीमुलुक भारतभन्दा अगाडि छौँ। किनकी उनीहरूको फिल्म नपुगिरहेको अन्तर्राष्ट्रिय महोत्सवमा हाम्रो फिल्म छनोट भइरहेकाे छ,’ निर्देशक सुब्बाले भने।

उनले निर्देशन गरेको चौथो फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गते प्रदर्शन हुँदैछ। त्यसअगाडि विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँं संस्करणमा छनोट भई प्रथम प्रदर्शनी (वर्ल्ड प्रिमियर) गरिएको चलचित्र दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सव, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलगायतमा छनोट भइसकेको छ।

अन्तर्राष्ट्रिय महोत्सवमा हुने सहभागिताले नेपाली कला र संस्कृतिलाई प्रवर्धन गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पु¥याउने उनको विश्लेषण छ।‘हामीले फिल्ममार्फत दिइरहेको सन्देश र देखाइरहेको दृश्यले अरुलाई सहजै प्रभावित पार्न सक्छौँ। विश्वका ठूला फिल्म उद्योग अहिले प्रविधिको सहायताले अगाडि बढिरहँदा हामीले आफ्नो मौलिकता प्रस्तुत गर्न सके त्यो सबैका लागि नयाँ र भिन्न हुनेछ’, निर्देशक सुब्बाले भने।

यद्दपि उनी फिल्म विदेशी र स्वदेशी दुवै बजारका लागि सुहाउँदो हुनुपर्नेमा स्पष्ट छन्। विदेशी महोत्सवमा पुगेर वा स्वदेशमा व्यापारिक सफलतामात्र आर्जन गरेर फिल्मको विकास नहुने उनको बुझाइ छ। ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नपुग्दासम्म हाम्रो बारेमा विदेशी फिल्मकर्मीलाई धेरै ज्ञान हुँदैन। त्यहाँ हुने प्रदर्शनी, प्राप्त गर्ने पुरस्कारले हाम्रो निर्माण क्षमता र कथाबारे उनीहरूलाई अवगत गराउँछ। त्यस्तै, घरेलु बजारमा राम्रा फिल्म बनाउने दबाब पनि बढ्छ। त्यसकारण दुवैलाई ध्यानमा राख्दै फिल्म बन्नुपर्छ’, निर्देशक सुब्बाले भने।

उनले पछिल्लो फिल्म ‘गाउँ आएको बाटो’ मा राई जातिको सामाजिक पृष्ठभूमिमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको कथामा आधारित छ।

फिल्ममा गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ। निर्देशक सुब्बाका अनुसार गाउँमा सडक आएपछि बाबुछोराका सम्बन्धमा आउने उतारचढाव पनि देखाइएको छ। ‘यो बुबाछोराको सम्बन्धलाई नियाल्ने प्रयास हो। यो कथा पढेपछि मैले मेरो बाल्यकाल र बुबासँगको सामिप्यतालाई महसुस गरेको थिएँ।’ उनले भने।

बुवा-छोराको कथाले फिल्म भवनमा रहेका दर्शकलाई पर्दाभित्रका कलाकारसँग जोड्ने उनको विश्वास छ। फिल्ममा गाउँमा बाटोले विकाससँगै के-के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको उनले बताए।

‘कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ। बसाइसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ। हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ। यो हाम्रो ग्रामीण भेगको कथा हो’, निर्देशक सुब्बाले भने।

महोत्सवमा सहभागी भएको फिल्म भन्नेवित्तिकै मनोरञ्जन नहुने भन्ने किसिमको भाष्य सही नभएको उनको भनाई छ। किनकि फिल्मको विधा र प्रस्तुतिकरणअनुसार मनोरञ्जन, समवेदना र हाँस्यरस हुने उनले बताए।

‘अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका फिल्म हेर्न बढी दिमाग प्रयोग गर्नुपर्छ भन्ने भाष्य गलत छ। किनकि ‘कालोपोथी’ होस् वा ‘ऐना झ्यालको पुतली’ निकै मनोरञ्जनात्मक छ तर यसको प्रस्तुतिकरण नियमितभन्दा पक्कै फरक छ । यसकारण यो चलचित्रकर्मीको रोजाइमा परेको हो’, निर्देशक सुब्बाले भने।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ। फिल्म महेश राई र निर्देशक सुब्बाको संयुक्त लेखनमा बनको छ।

प्रकाशित: ३१ वैशाख २०८१ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast