लुम्बिनी- बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न संयुक्त राष्ट्र संघसमक्ष माग गर्दै दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायको आयोजनामा ‘विश्वव्यापी चुनौतिहरूको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको आईतबार ७ बुँदे घोषणा गर्दै राजनीतिक व्यवस्थाको परिवर्तन तथा सम्पूर्ण द्वन्द्वका विषयहरू समाधान भइसकेकाले बुद्ध जन्मस्थल नेपाललाई शान्ति देश घोषणा गर्न माग गरिएको हो।
सम्मेलनले बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति, बौद्ध दर्शनको उद्गमस्थलका रुपमा प्रवर्द्धन गर्ने, बौद्ध ध्यान–साधना राजधानी (शान्ति शहर) घोषणा गर्नका लागि नेपाल सरकारसँग माग गरेको छ। यस्तै बौद्ध शिक्षालाई विद्यालय तहदेखिको शैक्षिक पाठ्यक्रममा समावेश गर्दै बौद्ध दर्शनको अध्ययन, अनुसन्धानलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूको ध्यानआर्कष्ट गराइएको छ।
वातावरणीय असन्तुलन, आर्थिक संकट, आपसी द्वन्द्व र अपराध तथा मानसिक प्रतिकुलनताजस्ता विश्वव्यापी समस्याको समाधान तथा न्यूनिकरणका लागि शील, समाधि र प्रज्ञायुक्त समाज निर्माण गर्न बौद्ध शिक्षाको विश्वव्यापीकरण आवश्यक देखिएकाले बौद्ध शिक्षाको अध्ययन, अनुसन्धानमा जोड दिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई सम्मेलनले आग्रह गरेको छ।
यस्तै बौद्ध संस्कृति, सम्पदा, कला साहित्यको संरक्षणमा विशेष ध्यान दिँदै नेपालमा रहेका सम्पूर्ण बौद्ध समुदायहरूको यथोचित विकासमा जोड दिँदै बौद्ध परम्परामा आधारित शिक्षालाई मूलधारसम्म जोड्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय समक्ष अनुरोध गरिएको छ।
सन् १९९८ को विश्व बौद्ध शिखर सम्मेलनको भावना अनुसार लुम्बिनीलाई बौद्ध दर्शन अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्नका लागि बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्तरोन्नती गर्न समेत अपिल गरिएको छ। बौद्धसम्मेलनमा विभिन्न बिषयमा छलफल गरी अबको चुनौतीका रुपमा प्रविधि देखा परेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बताए।
बौद्ध शिक्षाको प्रसारमा अन्तर्दृष्टि र दृष्टिकोण साझा गर्न, शैक्षिक र सांस्कृतिक मूल्य मान्यता आदानप्रदानलाई गर्न र बौद्ध मूल्यहरूको विश्वव्यापी प्रवद्र्धनमा योगदान पु¥याउन गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए। विश्वमा देखा परेको वातावरणीय चुनौती भइरहेको अवस्थामा अबको शिक्षा प्रणालीका बारेमा विभिन्न देशका विज्ञहरूलाई लुम्बिनीमा बोलाएर छलफल गरिएको विश्वविद्यालयका बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले बताए।
आइतबार बौद्ध दर्शन र योगका विषयमा डा. चिन्तामणि योगी, भानु शर्मा, प्रा.डा.बिशाल सिटौला, प्रा.डा. क्षितिज बराकोटीले भौतिक रुपमा एवं आचार्य बालकृष्ण, र डा. विकासानन्दले भर्चुअल माध्यमबाट बौद्ध दर्शन र योगका विषयमा छलफलमा सहभागिता जनाएका थिए।
सम्मेलन स्टोनीयाका डा. शोभित शाक्य, बङगलादेशका प्रा.डा. बिजोय बरुवा, म्यानमारका भिक्षु विनय नन्द, श्रीलंकाका डा सचिनी हन्सिका, भारतका प्रा.डा. उदय कुमार, म्यानमारका प्रा.डा. सटट सान्दार, ताइवानका प्रा.डा. कृस्टी चाङ, म्यानमारका भिक्षु बुद्धघोष, पोर्चुगलका डा. सोनिया गोम्स लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए।
गोष्ठिमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनीया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वे लगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूको सहभागिता थियो।