देशभरका गुरुकुलको नेतृत्व लिएर अघि बढ्दै ‘महेश गुरुकुल’

माधवप्रसाद नेपाल १२ वैशाख २०८१ १२:२६
788
SHARES
देशभरका गुरुकुलको नेतृत्व लिएर अघि बढ्दै ‘महेश गुरुकुल’ महेश संन्यास गुरुकुलले कक्षा ६ का लागि अघिल्लो साता लिएको प्रवेश परीक्षामा आफ्ना सन्तानका साथ आश्रममा पुगेका अभिभावक। तस्बिर साभार : महेश संन्यास गुरुकुलको फेसबुक

काठमाडौँ- एउटा शैक्षिक संस्थाका लागि ३० वर्ष छोटो अवधि हो। स्थापनाको तीन दशकमै एउटा अभियानको आदर्श बनेका शिक्षण संस्था निकै कम छन्। यस्तैमध्येको एक हो, देवघाटस्थित महेश संस्कृत गुरुकुल आश्रम।

महेश संन्यास आश्रमद्वारा सञ्चालित गुरुकुलमा नेपालका प्रायः सबै जिल्लाका छात्र अध्ययनरत छन्। गुरुकुलमा आवासीय रूपमा कक्षा ६ देखि स्नातकोत्तर (आचार्य) सम्म निःशुल्क पढाइ हुन्छ। मुठीदानबाट सञ्चालित गुरुकुलमा विद्यार्थीको चाप बढ्दै गएपछि संस्थाका बारेमा पनि चासो बढेको छ।

गुरुकुलमा उत्पादित जनशक्ति बेरोजगार छैनन्। कतिपयचाहिँ देशका विभिन्न क्षेत्रमा अब्बल रूपमा स्थापित भइरहेका छन्। पढ्दै गरेका विद्यार्थीमा स्वदेशमै केही गरौँ भन्ने आत्मविश्वास छ भने आफ्नो संस्कार र संस्कृतिप्रति उनीहरूको गहिरो झुकाव देखिन्छ। प्रविधिमा पनि उनीहरू उत्तिकै दख्खल राख्छन्।

गुरुकुल विद्यालयका प्राचार्य फणीन्द्र पौडेलका अनुसार २०५० सालमा स्थापित गुरुकुलको प्रमुख उद्देश्य आफ्नो धर्म, संस्कार र संस्कृत वाङ्मयको संरक्षण हो। वैदिक वाङ्मयको विद्वान् उत्पादन गर्नु, संस्कृत वाङ्मय र संस्कारको प्रचारप्रसार गर्नु तथा योग्य जनशक्ति उत्पादन गर्नु अन्य उद्देश्य हुन्। मानिसले यिनै कुरा बुझेर होला पछिल्ला केही वर्षदेखि गुरुकुलमा भर्नाका लागि थाम्नै नसक्ने गरी चाप बढेको बताउँछन् प्राचार्य पौडेल।

उनी भन्छन्, ‘केही प्रतिभाहरूले पूर्वीय वाङ्मयका क्षेत्रमा विशेष योगदान दिइरहनुभएको छ। उदाहरणका लागि पीठाधीश रमणानन्द महाराज गुरुकुलमै उत्पादन भएर संस्कार र संस्कृतिका लागि होमिएको जिउँदो सहिदका रूपमा हुनुहुन्छ। संन्यास पन्थलाई स्वीकार गरेर सर्वथा समाजसेवा र संस्कृतको सेवामा उहाँहरूजस्ता १०/११ जना हुनुहुन्छ।’

संस्कृतका क्षेत्रमा विद्वान् उत्पादन गरेर पूर्णकालीन त्यसैमा संलग्न यस्ता विद्वान्‌को उमेर बढीमा ४२ वर्षसम्म रहेको पौडेलले जानकारी दिए। गुरुकुलबाट उत्पादित धेरै जनशक्ति संस्कृत वाङ्मय र सनातन संस्कारको प्रचारप्रसारमा संलग्न छन्। उनले भने, ‘अधिकांश जनशक्ति शास्त्रको राम्रो व्याख्याता भएका छन्। धर्मशास्त्रको प्रचारप्रसारमा लाग्ने जनशक्ति पनि प्रशस्त उत्पादन भएको छ।’ पुराणवाचनमा यहाँबाट उत्पादित जनशक्तिका सामु अरू फितला लाग्छन्।

जागिर खाने जनशक्ति उत्पादन गर्ने गुरुकुलको उद्देश्य नभए पनि यहाँबाट अध्ययन सकेको धेरै जनशक्ति लोकसेवा, शिक्षक सेवा र नेपाली सेनामा आबद्ध छन्। ‘अहिलेकै सन्दर्भमा हेर्ने हो भने महेश संन्यास गुरुकुलमा ६ कक्षादेखि स्नातकोत्तरसम्म पढेका २१ जना नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक छन्’, पौडेलले भने।

केहीचाहिँ लोकसेवाको परीक्षा उत्तीर्ण भएर विभिन्न तहमा कार्यरत छन्। ‘नेपाली सेनाको पण्डित दर्जामा यहीँबाट उत्पादित जनशक्ति छन्। पछिल्लो विज्ञापनमा १० जना नियुक्ति गर्दा ६ जना गुरुकुलकै उत्पादन सफल भए’, पौडेलले भने। यसैगरी साहित्य सिर्जनाका क्षेत्रमा धेरै प्रतिभाहरू स्थापित भइरहेका छन्। शास्त्रीय छन्दको कविता लेखनमा यहाँबाट उत्पादित जनशक्ति सिपालु छन्।

गुरुकुलबाट उत्पादित जनशक्तिमा जीवनलाई हेर्ने दृष्टिकोण फरक पाइन्छ। आफ्नो संस्कार र संस्कृति त छँदैछ धरातल के हो भन्ने कुरा पनि कक्षा १० मा पुग्दा सिकिसकेका छन्। उनीहरू स्वाभिमान र आत्मसंयम् किशोर अवस्थामै सिकेको बताउँछन्।

गुरुकुलका माध्यमबाट शिक्षा र संस्कृत अध्ययप्रति चेतना विस्तार गरेको बताउँछन् पूर्वविद्यार्थी  स्वामी डा. केशवानन्द। उनी भन्छन्, ‘संस्कृत भाषामा रहेका ज्ञानका हरेक विधा नेपालमै पढाइ हुन्छ, भारतका विभिन्न सहरमा धाउनु पर्दैन भन्ने दृष्टान्त महेश संन्यास गुरुकुल हो।’ हाम्रै देशमा पनि गुरुकुलबाट स्तरीय संस्कृत शिक्षा प्राप्त गर्न सकिन्छ भनेर सुरुवात महेश संन्यासबाट भएको उनले बताए।

पूर्वविद्यार्थी पुरुषोत्तम रिजाल भन्छन्, ‘महेश संस्कृत गुरुकुलका विद्यार्थीले किताबी ज्ञानका कुरा त छँदैछ, त्यसबाहेक म को हुँ? मेरो कर्तव्य के हो? जगत् के हो? भन्ने विषयमा विद्यालय तहमै चिन्तन गरिसकेका हुन्छन्।’ रिजाल अहिले डीएभी स्कुलमा अध्यापन गर्छन्।

अर्का पूर्वविद्यार्थी श्रीधरप्रसाद पौडेल महेश संन्यास गुरुकुललाई जीवनकै अत्यन्तै महत्त्वपूर्ण मार्गदर्शक बन्ने माध्यमका रूपमा लिन्छन्। उनी भन्छन्, ‘गुरुकुल मेरो जीवनलाई जीवन्त बनाउने साधन हो। त्यहाँ नगएको भए म कतै हराइसकेको हुन्थेँ।’ त्यहाँ पढेर जीवन के हो, म के हो, समाज के हो, उत्तरदायित्व के हो भन्ने बुझेको उनी बताउँछन्।
‘गुरुकुलको ठूलो भूमिका छ म अहिलेको अवस्थामा आइपुग्नुमा’, काठमाडौँको रिलायन्स इन्टरनेसनल एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख पौडेलले भने।

नेपालमा गुरुकुल परम्परामा महेश संन्यास नयाँ भने होइन। गुरुकुलको भीडमा महेश संन्यास गुरुकुलचाहिँ विशेष किन बन्यो त? प्राचार्य पौडेल भन्छन्, ‘यसले नेपालमा औपचारिक गुरुकुलको धार बसालेको हो। गुरुकुलमा पढेका छात्रले नेपाल सरकारका जुनसुकै तहमा प्रतिस्पर्धा गर्न सक्छन्। विदेशी विश्वविद्यालयमा पनि मान्यता बोकेर जान पाइने भएकाले महेश संन्यास गुरुकुल विशेष छ। त्यसैले गुरुकुलमा पढ्न चाहनेको यो पहिलो रोजाइ बनेको हुन सक्छ।’

नेपालका अधिकांश गुरुकुलमा छात्रहरूलाई वेदरुद्री पढाएर कर्मकाण्डमा केन्द्रित गराइन्छ। महेश संन्यासचाहिँ यत्तिमा सीमित छैन। औपचारिक र कक्षागत रूपमा प्रमाणपत्र दिने गुरुकुल पनि थोरै छन्। महेश संन्यास गुरुकुलमा भने आचार्य तहगत रूपमा पढाइ हुन्छ। जहाँ सन्तमहन्थहरू आफैँ पढाउँछन्। प्राचार्य पौडेल भन्छन्, ‘अरू गुरुकुलमा र बाहिर यस्तो वातावरण छैन। यहाँचाहिँ विश्वलाई दूरदृष्टिले हेर्ने जनशक्ति उत्पादन गरिन्छ। सानैमा भए पनि जीवन यस्तो हो, म यस्तो हुँ, मेरो कर्तव्य यो भनेर सिकाइन्छ।’

विगतमा गुरुकुलमा दुुरदराज र ग्रामीण परिवेशका बालक मात्रै पढ्न आउँथे। अहिलेचाहिँ सहरका, पढेलेखेका र प्रबुद्ध वर्गका व्यक्तिका सन्तान आउन थालेका छन्। यसपटक पनि नेपाल सरकार सहसचिव तहका सन्तानले प्रवेश परीक्षा दिएका थिए।

काशी विश्वनाथका पुजारी टेकनारायण उपाध्यायले आफ्नो सन्तानलाई महेश संन्यास गुरुकुलमा भर्ना गरेका छन्। सिक्किम र पश्चिम बंगालबाट पनि यहाँ छात्रहरू पढ्न आएको प्राचार्य पौडेलले बताए। ‘बच्चालाई संस्कृत पढाउनुपर्छ भन्ने चेतना बढ्दो छ। त्यसैले धेरै अभिभावकको रोजाइ महेश संन्यास गुरुकुल भएको छ’, उनले भने।

गुरुकुलप्रति बढ्दो आकर्षणलाई सम्बोधन कसले गर्ने भन्ने प्रश्न पनि खडा भएको छ। किनभने राज्यले सहयोग गरेको अवस्था छैन। भिक्षा वृत्तिद्वारा चलेको छ। पौडेल भन्छन्, ‘संस्कृतप्रतिको बढ्दो अनुरागलाई यतिले मात्रै सम्बोधन गर्न सक्दैन। यो हाम्रा लागि मात्रै होइन, राज्यका लागि पनि चुनौतीको विषय हो।’

गुरुकुलले सरकारबाट आर्थिक सहायता भने नमागेको पौडेल बताउँछन्। ‘माटो सुहाउँदो शिक्षा दिनुपर्छ भन्ने हाम्रो जोडबल छ। योग्य र सुसंस्कृत जनशक्ति उत्पादनका लागि पहल गर्नुपर्छ। त्यसरी काम गरिरहेका संघसंस्था र व्यक्तिहरूलाई प्रवद्र्धन गर्न सहयोग गर्नुपर्छ। हामी सरकारले केही गरेन भन्दैनौँ। सरकारले अनुमति नदिएको भए गुरुकुल सञ्चालन गर्न सक्ने थिएनौँ’, पौडेलले भने।

डा. स्वामी केशवानन्द गुरुकुलले समाजमा चेतनाको बीजारोपण गरेर प्रसार गर्न ठूलो भूमिका खेलेको बताउँछन्। ‘गुरुकुलको सुरुवात संस्कृत चाहिँदैन भनेर तीव्र विरोध भएका बेला भएको हो। नेपालमा गुरुकुलको लहर महेश गुरुकुलका कारण आएको हो’, उनले भने।

सशस्त्र द्वन्द्वका बेलामा गुरुकुल जोगाउनु चुनौतीपूर्ण थियो। त्यस्तो अवस्थाबाट गुज्रिएर अहिलेसम्म नेपालकै गुरुकुलको नेतृत्व लिएर उदाहरणीय बनेको छ। त्यसैले आदर्श गुरुकुल कुन छ भन्ने प्रश्नमा उत्तर आउँछ- महेश संन्यास गुरुकुल।

गुरुकुलको स्थापना ब्रह्मलीन स्वामी डा. रामानन्द गिरिको अगुवाइमा २०५० सालमा भएको हो। गुरुकुल संस्थागत निजी शैक्षिक गुठीका रूपमा दर्ता भएर नियमित सञ्चालन हुँदै आएको छ। गुरुकुलमा प्राचीन गुरुकुलको मर्यादालाई अनुसरण गर्दै वेदवेदांगलगायत पौरस्त्य वाङ्मयको शिक्षा दिने व्यवस्था गरिएको प्राचार्य पौडेलले बताए।

उनले भने, ‘कक्षा ६ बाट प्रारम्भ हुने गुरुकुलीय शिक्षाको आधारभूत तह नेपाल सरकारद्वारा निर्धारत गुरुकुलीय पाठ्यक्रममा आधारित भएर सञ्चालित छ भने उच्च तहमा नेपाल संस्कृत विश्वविद्यालयको पाठ्यक्रमअनुसारको अध्ययनअध्यापन हुन्छ।’ अहिले तीन सय छात्रले आवासीय सुविधासहितको निःशुल्क पूर्ण शिक्षा प्राप्त गरिरहेको गुरुकुलले जनाएको छ। गुरुकुलले केही दिनअघि स्थापनाको ३१ औँ वार्षिकोत्सव मनाएको छ।

वैदिक ज्ञानधारालाई एआईमा जोड्नेदेखि विश्वविद्यालका प्राध्यापकसम्म पूर्वविद्यार्थी

गुरुकुलबाट उत्पादितमध्ये केही विद्वान् संस्कार र संस्कृतिका लागि आजीवन होमिएका छन्। यस्तैमध्येका एक हुन् डा. स्वामी केशवानन्द। उनी आध्यात्मिक विद्याका प्रखर वक्ताका रूपमा पहिचान बनाइसकेका व्यक्तित्व हुन्। नेपाली सभ्यता र संस्कृतिको पुनर्जागरणमा संलग्न स्वामी संस्कार शिक्षाका अभियन्ताका रूपमा चिनिन्छन्।

निजी विद्यालयहरू गएर उनले विद्यार्थीसामु व्यक्त गरेको संस्कृति, मौलिक परम्परा र नेपाली सभ्यताबारेको उद्बोधन नयाँ पुस्ताका लागि निकै उपयोगी छन्। उनकै अगुवाइमा तयार पारिएको संस्कार शिक्षा देशका धेरै विद्यालयमा पठनपाठन हुन थालेका छन्।

श्रीमद्भगवद्गीता र विचार विज्ञानजस्ता विषयमा स्वामी केशवानन्दका व्याख्यान लोकप्रिय छन्। साथै पठामि संस्कृतम्, संस्कार शिक्षा, लघुसिद्धान्तकौमुदी, छन्द शिक्षाजस्ता जीवनोपयोगी शिक्षण सामग्री पनि स्वामीबाट उत्पादन भइरहेका छन्। संस्कार र संस्कृति रक्षाका लागि अहोरात्र खबरदारी गरिरहेका स्वामीले तयार पारेको नेपाली-हिन्दी-अंग्रेजी शब्दकोश (एप्स) चर्चित छ। वैदिक वाङ्‌मयमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का माध्यमबाट काम गर्ने उद्देश्यले ‘वैदिक अनुसन्धान गुठी (बाग)’ स्थापना गरेर उनी यसमा निरन्तर लागिपरेका छन्।

यस्तै महेश संन्यास गुरुकुलको पीठाधीश रहेका स्वामी रमणानन्द महाराज अर्का उदाहरण हुन्। समकालीन विद्वान्‌मध्ये वेदान्त दर्शनको व्याख्याताका रूपमा उनको नाम अग्रपंक्तिमा आउँछ। गुरुकुलको प्रवर्धन र वेदान्त तत्त्व चिन्तनमा खटिएका स्वामीले छोटो अवधिमै भारतीय उपमहादीपमा आफ्नो पहिचान फैलाइसकेका छन्।

उनले कोरानाकालमा ब्रह्मचिन्तनबारे गरेको व्याख्यान चर्चित छ। शिवतत्त्व, अध्यात्म रामायण, माण्डूक्य कारिका, दक्षिणामूर्ति स्त्रोत्रम्, ब्रह्मसूत्र आदिबारे स्वामी रमणानन्दले नेपालीमा दिएको व्याख्यान श्रवणीय र मननीय छन्। यी दुईसहित गुरुकुलबाट उत्पादन भई नेपालमा विभिन्न क्षेत्रमा योगदान दिइरहेका व्यक्तित्वको सूची लामै छ।

३० जनाको कोटामा २६७ को आवेदन

गुरुकुलले विगतमा झैँ यसपटक पनि कक्षा ६ मा नयाँ भर्नाका लागि आवेदन माग गरेको थियो। प्रवेश परीक्षाका लागि २६७ जनाले आवेदन दिएका थिए। तीमध्ये २५० जनाले परीक्षा दिए।

प्राचार्य पौडेल भन्छन्, ‘३० जनाभन्दा बढी क्षमता छैन। अलि धेरै भर्ना गर्न पाएको भए एउटा विशेष वातावरण बन्थ्यो। प्रवेश परीक्षामा राम्रो गरेका छात्रहरूलाई पनि भर्ना लिन नसक्दा दुःख लागेको छ।’ प्रवेश परीक्षामा छनोट गर्न निकै कठिन भएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast