फोहरबाट यसरी मोहर बनाउँदैछन् रामेछापका युवा

हिमाल प्रेस ११ वैशाख २०८१ ९:२७
16
SHARES
फोहरबाट यसरी मोहर बनाउँदैछन् रामेछापका युवा

रामेछाप- नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन्।

कागजजन्य फोहर संकलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने त्यसलाई आय आर्जनको स्रोत पनि बनाएका छन्।

जिल्लाको सहरी क्षेत्रमा फालिएका कागजजन्य वस्तुलाई सङ्कलन गरेर त्यसलाई पुनः प्रयोग गर्ने उद्देश्यले यहाँका सातजना युवा मिलेर ग्रिन हाइलाइट प्रालि स्थापना गरेका हुन्।

जिल्लालाई सफा राख्ने र केहीलाई रोजगारी दिएर आय आर्जनको बाटो बनाएको उक्त अभियानका साथ स्थानीयलाई रोजगारी दिएर सुरु गरिएको यो उद्योग समस्यामा परेको छ।

सुरुमा प्रतिगोटा सातका दरले बिक्ने क्रेट अहिले प्रतिगोटा चारमा पनि बिक्न मुस्किल छ।

यसअघि यसले राम्रै बजार पाएको भए पनि विद्युत् नियमित नहुने र भारतीय क्रेटसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था यस उद्योगले झेल्नुपरेका कारण समस्या बढ्दै गएको हो। उत्पादन भएका क्रेट स्थानीय रामेछापका बजार, सिन्धुली दोलखा, ओखलढुंगा र काठमाडौंसम्म लगेर बिक्री गर्ने गरिएको थियो। तर अहिले राम्रो बजार नपाएपछि निर्माण गरिएका क्रेट गोदाममै थन्किएर बसेका छन्। मेसिन बेलाबेलामा बिग्रने, पार्टपुर्जा सर्वसुलभ नहुने भएकाले उद्योगमा समस्या आएको उद्योग सञ्चालक सुनिल रायले बताए।

उद्योगमार्फत प्रत्येक शनिबार जिल्ला सदमुकाम मन्थलीलगायतका अन्य सहरी क्षेत्रमा कागजजन्य फोहर प्रतिकिलो १० रुपैयाँका दरले खरिद गरी त्यसलाई प्रशोधन गरेर विभिन्न साइजका अण्डा राख्ने क्रेट बनाउने गरिएको छ । यस उद्योगमा महिला एवं पुरुष गरी १५ जनाभन्दा बढीले रोजगारी पाएको अर्का सञ्चालक जयराम मानन्धरले बताए।

उद्योग स्थापना हुनुअघि आफ्नो घर तथा पसलबाट निस्कने फोहरलाई पैसा तिरेर नगरपालिकाको गाडीमा पठाउनुपर्ने बाध्यता भए पनि अहिले भने काजगजन्य फोहर बिक्री गर्न पाउँदा आफूलाई खुसी लागेको उप्रेती स्टोर्सका प्रोप्राइटर रामहरि उप्रेतीले बताए। कागजजन्य वस्तुजस्तै प्लास्टिकजन्य वस्तु पनि यसैगरी उठाउने हो भने मन्थली बजार सधैँ सफा हुने थियो, उनले भने।

अण्डाको क्रेटसँगै यस उद्योगले सिमेन्टका ब्लक पनि निर्माण गरेको छ। प्लास्टिकजन्य र फलामका टुक्रालाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने वस्तु निर्माण गर्ने उद्योगको योजना छ।

स्थानीय तहमा उत्पादन हुने वस्तुलाई सम्बन्धित पालिकाले प्राथमिकता दिनुपर्नेमा उद्योगका सञ्चालक रुद्रकुमार श्रेष्ठ बताउँछन्।

प्रकाशित: ११ वैशाख २०८१ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast