सिन्दुरले रंगियो बालकुमारी [तस्बिरहरू]

दिपेश श्रेष्ठ २ वैशाख २०८१ ११:०७ | Sunday, April 14, 2024
सिन्दुरले रंगियो बालकुमारी [तस्बिरहरू]

भक्तपुर- हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रंगिएको छ। धिमे र मुस्या बाजा बजाउनेको समूह, त्यसपछि आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवकयुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाइरहेका थिए।

बिस्केट जात्राका अवसरमा मध्यपुर थिमिका बासिन्दाले आइतबार बिहानैदेखि टोलटोलका देवता विराजमान गराइएको खट जात्रा गरेका हुन्। टोलटोल घुमेर बालकुमारी मन्दिर प्रांगणमा २६ देवी-देवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा नाँच्दै अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन्।
थिमिमा मात्र मनाइने यो जात्रामा एक-अर्कालाई सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा नाँच्दै हात-हातमा चिराग बाल्दै खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ।

थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागत रूपमा मनाउने गरिन्छ। अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक स्थानमा खट जात्राका साथ सिन्दुर जात्रा मनाइएको छ। यसमा थिमिको बालकुमारी, दक्षिण बाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोल-टोलमा सिन्दुर खेल्दै जात्रा मनाउने गरिन्छ।

चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ। जात्रामा देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले यसलाई सिन्दुर जात्रा पनि भनिएको हो।

प्रकाशित: २ वैशाख २०८१ ११:०७ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast