काठमाडौँ- आठ वर्षअघिको कुरा हो, जीवन ऐडी लालाबालासहित कालीकोटबाट काठमाडौँ आउँदा के गर्ने के खाने टुंगो थिएन। केही वर्ष उनले ज्यालामजदुरीमा बिताए। दिनभरको कमाइले आफू, पत्नी र तीन सन्तानको गुजारा चलाउँथे। कहिलेकाहीँ मजदुरी गर्न नपाउँदा निकै समस्यामा पर्थे उनी। कमजोर आर्थिक अवस्था अनि सामान्य पढलेख गरेका उनलाई नयाँ काममा हात हाल्न पनि त सजिलो थिएन। त्यसैले उनले रोजे तरकारी खेती किनभने उनीसँग खेती किसानीको अनुभव थियो।
केही दिनअघि टनेलभित्र गोलभेँडासँग रोपेको सागबारीमा झार उखेलिरहेका भेटिए ऐडी। उनी दुई वर्षयता टोखा नगरपालिका-१ मा तरकारी खेतीमा व्यस्त छन्। चार रोपेनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका उनी फार्ममा काँक्रो, सिमी, काउली र खुर्सानीलगायतका मौसमी तरकारी फलाउँछन्। उनी भन्छन्, ‘फार्ममा सबैभन्दा बढी गोलभेँडा उत्पादन हुन्छ।’
मजदुरी गर्दा बिहानबेलुका छाक टार्न मुस्किल परेपछि तरकारीखेतीमा लागेको ऐडी सुनाउँछन्। ‘ज्यामी काम गरेर बचाएको पैसा सबै कृषिमै लगानी गरेको छु। अहिलेसम्म फार्ममा सात लाख रुपैयाँभन्दा बढी लगानी भएको छ’, उनले भने।
उनका अनुसार गोलभेँडा खेतीभित्र लगाएको साग बिक्री गर्ने बेला हो यो। उनले साग बजारमा पठाइरहेका छन्। ‘अहिले सागको मौसम हो। राम्रै उत्पादन भए पनि बजारमा भनेजस्तो भाउ पाउन सकिएको छैन’, उनले भने।
स्वदेशमा परिवारसँगै बसेर काम गर्न पाउँदा निकै खुसी लागेको उनी बताउँछन्। उत्पादन भएका कृषि सामग्रीले बजारमा मूल्य नपाउँदा उनी चिन्तित हुन्छन्। उनी भन्छन्, ‘तरकारी खेतीमा पैसा छ तर हामीजस्तो सामान्य किसानलाई कृषि कर्म गर्न समस्या भइरहेको छ।’ बजारीकरण, बिचौलिया र प्रविधि सबैभन्दा ठूलो समस्या रहेको उनको अनुभव छ।
‘फार्ममा उत्पादन भएको तरकारी बल्खु, कालीमाटी र नयाँ बसपार्क क्षेत्रसम्म लैजाने गरिएको छ। फार्मबाट बिक्री गरेका तरकारी बजारमा दोब्बरभन्दा बढी मूल्य बिक्री हुन्छ’, उनले भने, ‘उत्पादन राम्रो छ। बजारभाउचाहिँ पाइँदैन। किसानको बारीबाट तरकारी बाहिरिएपछि दोब्बरभन्दा बढी मूल्य कसरी बिक्री हुन्छ’, ऐडीले भने।
उनका अनुसार फार्मबाट प्रतिकेजी ३५-४० रुपैयाँमा बिक्री भएको गोलभेँडा बजारमा ९० रुपैयाँमा बिक्री हुने गरेको छ।
समयअनुसार तरकारी लगाउन प्रविधि नजान्दा समस्या भइरहेको र प्रविधिको ज्ञान नहुँदा उत्पादन कम हुने गरेको उनले बताए। समयमा औषधि लगाउन सक्दा एउटा गोलभेँडाको बोटबाट एक सिजनमा ९ केजीसम्म उत्पादन गर्न सकिन्छ। प्रविधिको ज्ञान कम भएका कारण तरकारी क्षमताभन्दा कम उत्पादन भइरहेको उनको गुनासो छ।
‘पहिलो सिजनमा ४० हजारभन्दा बढी गोलभेँडाका बिरुवा फल दिने बेला भएका छन्। दोस्रोमा पनि उति नै बिरुवा रोपेको छु। यस पटक एउटा बोटमा कम्तीमा ६ केजीसम्म उत्पादन हुन्छ होला’, उनी भन्छन्। गत वर्ष फार्ममा २ लाख केजी गोलभेँडा उत्पादन भएको उनले बताए। यसपटक भने साढे दुई लाख केजीभन्दा बढी उत्पादन गर्ने लक्ष्य छ।
ऐडी सबै खर्च कटाएर कृषिबाट वार्षिक २ लाख रुपैयाँभन्दा कमाउँदै आएका छन्। तरकारी खेतीबाट आएको आयस्रोत सामान्य घर खर्च र कृषिमै लगानी भइरहेको उनको भनाइ छ। उनकी पत्नी पनि कृषिमा रमाएकी छन्। तीनजना छोराछोरी पढाउन र घर खर्च चलिरहेको उनले बताए। ‘कृषि गर्नु समस्या होइन तर बिचौलियाका कारण बजारमा किसानको उत्पादनले भाउ पाएको छैन’, उनले भने।
उनकी पत्नी पनि फार्मको काममा सघाउँछिन्। दैनिक ९-१० घण्टा बारीमा बिताउने गरेको ऐडीले बताए। खटाइअनुसार कहिलेकाहीँ आम्दानी हुन्छ। कहिले तरकारी उत्पादन हुँदैन। ‘जति कमाइ भइरहेको छ त्यसमा सन्तुष्ट छौँ। महँगी बढे पनि आफ्नो उत्पादनले बजार भाउ नपाउँदा आयस्रोत बढेन’, उनले भने। श्रम गरेपछि सफल हुन सकिँदो रहेछ भनेर बुझेका ऐडी भन्छन्, ‘गरे के हुँदैन र?’
अब उनलाई अर्काको मजदुरी गर्नुपर्ने अवस्था अन्त्य भएको छ। बरु तरकारी खेतीमा सघाउन एकदुई जना सहयोगीको खोजीमा छन् जीवन। उनी फार्म विस्तार गर्ने योजनामा रहेको सुनाउँछन्। त्यसका लागि लगानी पनि त बढाउनुपर्नेछ। ऐडी सरकारसँग अनुदान माग्न भने गएका छैनन्। उनलाई अनुदानका बारेमा जानकारी पनि छैन। उनले भने, ‘अनुदान माग्न गएको भए त पाइन्थ्यो होला तर अनुदान माग्न कहाँ जाने थाहै छैन।’ ऋण र अनुदानका लागि सरसल्लाह गरेर अघि बढ्ने उनी बताउँछन्।