डा.नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ (सास, साहस र स्नेहको कथा) अघिल्लो मंसिरमै प्रकाशित भएको हो। पुस्तक प्रकाशनको समयले पुस्तकको वजन मापन गर्दैन। कुनै पुस्तकहरू क्षणिक समय कालखण्डका लागि मात्रै पढ्न योग्य हुन्छन्। त्यही किसिमले लेखिएको हुन्छ। कुनै पुस्तक भने जुनसुकै कालखण्डमा पढ्दा पनि पाठकको मथिङ्गल हल्लाउन सफल हुन्छन्। यस्तै पुस्तक हो चर्चाको शिखरमा रहिरहने। ‘शून्यको मूल्य’ पुस्तक भने मलाई यस्तै लाग्यो। यो पुस्तकले कर्णालीका स्वरहरू उधृत गरेको छ। कर्णालीको मात्रै होइन, एक दृष्टिकोणबाट हेर्दा यसले देशकै चित्र समावेश गरेको छ।
कर्णालीको नलेखिएको, नसुनिएको र देखेर पनि नदेखिएजस्तो गरिएका आवाजहरू पुस्तकमा समावेश छन्। पेसाले बालरोग विशेषज्ञ रहेका डा.केसीले कर्णाली आफैँमा एउटा विश्वविद्यालय रहेको र यहाँको जीवनसंघर्ष र सिकाइ आफ्नो सबैभन्दा ठूलो डिग्री रहेको पुस्तकमा उल्लेख गरेका छन्। डा. केसीले कर्णालीका दुर्गम ठाउँमा पुगेर सेवा दिने क्रममा यहाँका आमाहरूले भोगेका दुःख, संघर्ष र अनुभूतिलाई मिठो, सरल र कारुणिक भाषामा प्रस्तुत गरेका छन्। उनले कर्णालीका नीरस कुराहरूलाई अनुभूतिको गहिराइमा पुगेर पुस्तकलाई वजनदार बनाएका छन्। डा. केसीले लेखेको लेखेको यो पुस्तक नेपाली गैरआख्यान क्षेत्रमा दर्बिलो दस्तावेजका रूपमा रहने कुरामा दुईमत छैन।
खासगरी कर्णालीभित्र पनि दूरदूरका कथा पुस्तकमा उल्लेख गरिएको छ। यहाँका गरिब, विपन्न र पहुँचविहीनहरूको आवाज हो- ‘शून्यको मूल्य’। उनले पुस्तकको ५५ पृष्ठमा लेखेका छन्,‘धनी र गरिबबीचको दूरी घटाउन गरिने हरेक कार्यक्रम बहुत महँगो छ। तर महँगा कार्यक्रममध्ये सबैभन्दा सस्तोचाहिँ देशले सानै उमेरमा आफ्ना नागरिकमाथि लगानी गर्नु हो। फेरि लगानी भनेको केवल पैसाका मुठा मात्र होइनन्। सबैभन्दा त गुणात्मक मातृत्व विकासका लागि लगानी हो।’
समाज विकास गर्ने दृढ इच्छाशक्ति भए सबैभन्दा ठूलो लगानी बालबालिकामा गर्नुपर्ने किताबमा उल्लेख छ। तर राजनीतिक नेतृत्वले पुस्तकको भाषा नबुझेकोजस्तै गरेको हुनुपर्छ। पुस्तकको भाषा मात्रै होइन नेतृत्व तहले कर्णालीका स्वरहरू नसुनेको हुनुपर्छ। हालसम्म नेपालमा बालबालिकामा भएका लगानी उपलब्धिमूलक नभएको अनुभूतिलाई पुस्तकमा लेखिएको छ। यो कथा हो, पुस्तकका बुधेकी फुपूकी पात्रको।
यहाँ बुधेकी फुपू पात्र छिन्। उनले निकै दुःख र संघर्ष गरेर बुधेलाई हुर्काइरहेकी हुन्छिन्। पुस्तकअनुसार ०३९ साल भदौमा दैलेखमा लगातार तीन दिनसम्म पानी पर्यो। बुधेकी फुपू डाँडामाथिको गोठमा थुनिएकी हुन्छिन्। पानी रोकिएपछि उनीहरू गाउँ पुगे। गाउँमा पुगेपछि थाहा भयो कि बाआमालाई पहिरोले कर्णाली नदीमा मिसाएछ।
यो दृश्य भावुक र कारुणिक मात्रै होइन, भयानक पनि थियो। त्यसपछि गाउँ छाडेर सदरमुकामतर्फ लागेका गाउँलेहरूको बीचमा रहेकी बुधेकी फुपूलाई सम्झँदै लेखक लेख्छन्,‘कस्तो अचम्म! संसारको सबैभन्दा प्रेरणादायी अवस्था त बाध्यता पो हुनेरहेछ। बाध्यताले कुद्न लगाएको मान्छेले लामो समयको कुदाइपछि त थाक्न नै बिर्सिदोरहेछ।’
कथामा भनिएअनुसार बुधेकी फुपूले बाँचेको जीवनले हरकोहीलाई प्रेरित गर्छ। बुधेकी फुपूले काँडैकाँडाको जीवनमा फूल र सुवास मात्रै दिए पनि उनका लागि भने कसैले एउटा नामसम्म नदिएको कुरासमेत उधृृत गरिएको छ। ‘रित्तो भाँडो बोकेर हिँडेको भन्दैमा माग्ने हिँडेको नसम्झ, ऊ सबकुछ दिएर फर्किएको पनि हुनसक्छ,’ पुस्तकमा लेखकले आफैँलाई प्रश्न गरेका छन्, ‘जीवनभर नाम कमाउनु छ भनेर कुदाकुद हुने संसारमा नामै नभएका मानिस के कमाउन कुद्छन् होला?’ आख्यान वा गैरआख्यान कल्पनाको गहिराइमा डुबेर मात्रै लेखिनु हुँदैन भन्ने उक्त पुस्तकले सन्देश दिएको छ।
अनुभूतिको ज्ञान भन्दा भोगाइको ज्ञानको मापन उच्च हुने पुस्तक पढिसकेपछि निष्कर्ष निकाल्न सकिन्छ। लेखकले पुस्तकलाई कल्पनामा भन्दा पनि वास्तविक चित्रलाई लेखेर गैरआख्यान क्षेत्रमा एउटा इँटा थप्ने प्रयत्न गरेका छन्। उनले स्थानीय बिम्बको समेत प्रयोग र त्यहाँका पात्रहरूको भाषालाई नै समेटेर पुस्तक लेखेका छन्। जसकारण ती पात्रहरूले आफ्ना कथा आफैँले भनेको जस्तो, लेखेकोजस्तो अनुभूति गर्नसक्ने अनुमान लगाउन सकिन्छ। लेखकले कर्णालीका वास्तविक स्वरहरू लेखे पनि सुन्दर बिम्बहरूको प्रयोगका कारण पुस्तक जीवन्त बनेको छ।
लेखकले कर्णालीका आमाहरूको मात्रै होइन, बच्चाहरूको मात्रै होइन। देशभित्र गुणस्तरीय शिक्षा, चेतनाको विकास, भोकमरी अन्त्य, गरिबी अन्त्य, असमानता न्यूनीकरणजस्ता कुराको उठान गरेका छन्। जीवनमा स्वास्थ्य र शिक्षामा मानिसले ध्यान पुर्याएमा जीवन सहज र सरल हुने पनि पुस्तकमा भनिएको पाइन्छ।
बुधेकी ‘फुपूआमा’देखि सुरु भएको कथा ‘पुतली आमा’मा पुगेर टुंगिन्छ। पुस्तकको कभरमा उल्लेख भएजस्तै यो पुस्तकले सासको कथा, साहसको कथा र स्नेहको कथा भनेको छ। खासगरी सासको कथामा बाँच्नका लागि प्रेरित, साहसको कथामा कर्णालीको संघर्षको कथा र स्नेहको कथामा आमाको ममताको कथा भनिएको पाइन्छ। त्यसो त पुस्तकले विभेदरहित समाजको पनि कल्पना गरेको छ। पुस्तकमा लेखकले लेखेका छन्, ‘विभेदबिनाको समाज संसारको सबैभन्दा बलियो समाज हो। विभेद नभए समाज र राज्य एक हुन्छ, अनि बहुत बलियो हुन्छ।’ पुस्तककी पात्र नानीआमाले बाँच्नुभन्दा सुन्दर अरू कुनै कुरा नरहेको बताउँछिन्। जसले बाँच्नका लागि मानिसलाई प्रेरित गर्छ।
त्यसो त पुस्तकमा केही त्रुटि पनि रहेको पाइन्छ। पुस्तकको एक सय पृष्ठमा १६ वर्षीया गोमा चौधरीले एकएक किलोका जुम्ल्याहा सन्तान जन्माउँछिन्। करिब एक महिनाको अस्पताल बसाइपछि ती बच्चा डेढ किलोका हुन्छन्। एक सय पाँच पृष्ठमा पुग्दा भनिएको छ– जुम्ल्याहाकी आमा सानी थिइन्, बहुत सानी। १७ वर्षमै उनी आमा बनेकी थिइन्। त्यो पनि दुईदुई बच्चाकी। उनीजस्तै कति हुँदा हुन् नेपालमा, अनि कर्णालीमा। केही पृष्ठ अगाडि १६ वर्षकी ती पात्र केही समयमै कसरी १७ वर्ष पुगिन्? र, एक सय ६ पृष्ठमा पुग्दा गोमा चौधरी नाम गरेकी ती पात्र मीना चौधरी हुन्छिन्। यो टाइपिङमा गल्ती भएको हो कि, वा कपोकल्पित हो भन्ने पाठकलाई अन्योल हुने देखिन्छ।
त्यसो त पुस्तक लेख्नका लागि लामो र गहिरो अध्ययन पनि चाहिन्छ भन्ने पनि सन्देश दिइएको छ। पुस्तकले कर्णालीको एउटा तथ्यांक प्रस्तुत गरेको छ। जहाँ दुई किसिमका पढेका महिला रहेछन्। एक १० कक्षासम्म पढेका र अर्को कत्ति नपढेका। ‘१० सम्म पढेका आमाका पाँच वर्षमुनिका एक हजारमा १८ जना बच्चा मर्दा रहेछन्,’ तथ्यांकमा उल्लेख छ,‘अनि नपढेका आमाहरूका हजारमा ५८ जना, हरेक महिलालाई केवल १० कक्षासम्म पढाइ मात्र दिए यहाँ हजारमा ४० जना बच्चा जीवित हुने रहेछन्।’
उक्त तथ्यले पढ्नुपर्ने सन्देश दिएको छ। त्यसो त पुस्तकले जीवनमा जतिसुकै अन्धकार भए पनि बाँच्नका लागि जस्तोसुकै संघर्ष गर्नुपर्ने सन्देश दिएको छ। ‘जीवनमा जताततै अन्धकार देखिए फेरि हेर, यताउता हेरिराख, कतै तिमी आफैँ त प्रकाश होइनौँ, त्यो अन्धकार चिर्ने’, पुस्तकले जीवनलाई बाँच्नका निम्ति यसरी प्रेरित गरेको छ। समग्रमा यो पुस्तक एकै बसाइमा पढेर सकिन्छ। लेखक बुद्धिसागरले पुस्तकमा छोटो भूमिका लेख्दै भनेका छन्, ‘म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला।’
पुस्तक : शून्यको मूल्य (सास, साहस र स्नेहको कथा)
विधा : गैरआख्यान
लेखक : डा. नवराज केसी
प्रकाशक : सांग्रिला बुक्स
मूल्य : ४४८
पृष्ठ : २४३