को हुन् राष्ट्रियसभा अध्यक्ष दाहाल?

हिमाल प्रेस २९ फागुन २०८० १३:३४
140
SHARES
को हुन् राष्ट्रियसभा अध्यक्ष दाहाल? निर्वाचित भएका दाहाल । तस्बिर- दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनतर्फका उम्मेदवार दाहालले विपक्षी नेपाली कांग्रेसका युवराज शर्मालाई हराउँदै अध्यक्षमा चुनिएका हुन्। उनी राष्ट्रियसभाका पाँचौँ अध्यक्ष हुन्।

राष्ट्रियसभामा उपस्थित ५६ सदस्यमध्ये ३९ जनाले दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गर्ने प्रस्तावमा मत हालेका थिए। विपक्षी शर्माका पक्षमा १७ मत मात्र परेको थियो।

दाहाल उपस्थित संख्या ५६ निर्वाचित गरियोस् भन्ने पक्षमा ३९ यो मत संख्या नारायणप्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसअघि राष्ट्रियसभामा ३ अध्यक्ष चुनिएका थिए। डम्बरबहादुर सिंह पहिलो, बेनीबहादुर कार्की दोस्रो र तेस्रो (दुई कार्यकाल), मोहम्मद मोहसिन चौथो राष्ट्रियसभा अध्यक्ष हुन्।

को हुन् दाहाल?

दाहाल २०१२ साल फागुन १२ गते कास्कीको ढिकुरपोखरीमा कुलप्रसाद दाहाल र देउरुपा दाहालका पहिलो सन्तानका रूपमा जन्मिएका हुन्। २०१९ सालमा ७ वर्षको उमेरमै चितवन बसाइसराइँ गरी शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पूरा गरेका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भएका थिए।

२०२७ साल उनले कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनको सदस्यता लिए। माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियुमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा पढ्न थालेपछि नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिए।

सदस्यता लिएको केही समयपछि तीन जनाको स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बने। २०३६ सालमा डिप्लोमा पास गरेर पार्टी जीवनमा होमिएका दाहाल सोही समयमै एरिया पार्टी कमिटीको कोषाध्यक्ष भएका थिए। एरिया कमिटीमा १ वर्ष काम गरेका उनलाई नेकपा मसालका महासचिव मोहनविक्रम सिंह घरमै आएको बेला छलफल गरेर पार्टीमा सक्रियता बढाएका थिए।

त्यसबेला प्रचण्डको सल्लाहमा पूर्णकालीन सदस्य भई भारत प्रवासमा पार्टी काम गर्न पुगेका थिए। ‘२०३६ सालपछि पूर्णकालीन कम्युनिस्ट कार्यकर्ता भएर पार्टीमा काम गरेको छुँ,’ उम्मेदवारी दर्ता गर्दै दाहालले भनेका छन्, ‘सशस्त्र संघर्षमा पनि म सामेल थिएँ।’

संसदीय राजनीतिमा दाहाल

२०६२/०६३ को जनआन्दोलनले पुनःस्थापित प्रतिनिधिसभामा दाहाल माओवादीबाट सदस्य भए। माओवादीलाई चुनाव नलडेरै ८३ सांसद मनोनीत गर्न दिइयो। माओवादीका प्रचण्डले दाहाललाई मनोनीत सांसद बनाएका थिए।

२०६४ को पहिलो संविधानसभामा चितवन ३ बाट निर्वाचित भए। २०७० मा पनि उनले सोही क्षेत्रबाट टिकट पाएका थिए तर पराजित हुन पुगे। प्रचण्डले आफू प्रधानमन्त्री हुँदा उनैलाई प्रशासनिक सल्लाहकार बनाएका थिए। २०७८ चैत २४ गते मन्त्रिपरिषद्ले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

माओवादीका रामनारायण बिडारीको कोटामा दाहाललाई सदस्य बनाउने प्रस्ताव गरिएको थियो। त्यसको भोलिपल्ट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई सदस्यमा मनोनीत गरिन्। प्रचण्डले आफ्नो भाइलाई मनोनीत गरेको भन्दै आलोचना भएको थियो। राष्ट्रियसभामा दाहालको पदावधि चार वर्ष बाँकी छ।

भर्खरैको स्थायी कमिटी बैठकमा प्रचण्डले दाहाललाई बागमतीमा पुनः जिम्मेवारी दिने तयारी गरेका थिए। विवादका कारण उनी हुन सकेनन्। दाहाल राष्ट्रियसभा अध्यक्ष हुन योग्य व्यक्ति रहेको माओवादी उपमहासचिव हरिबोल गजुरेल बताउँछन्। ‘उहाँ (दाहाल) जनयुद्ध लडेको र प्रचण्डसँगै राजनीति थालेका व्यक्ति हुन्,’ उनी भन्छन्,‘उहाँले जनयुद्धकामा पनि कर्णाली क्षेत्रदेखि प्रवाससम्मको जिम्मेवारी पूरा गर्नुभएको छ।’

दाहालप्रति माओवादीमै असन्तुष्टि

माओवादीको कोटामा परेको राष्ट्रियसभा अध्यक्षमा प्रचण्डले दाहाललाई अघि सार्दा माओवादीभित्रै असन्तुष्टि बढेको छ। माओवादी नेताहरूले दाहाललाई अघि सार्दा अध्यक्ष पदको पदावधि घटेको बताइरहेका छन्। दाहालको पदावधि ४ वर्ष छ। यसपटक निर्वाचित सांसद पनि आकांक्षी थिए। प्रचण्डले नयाँलाई छाडेर दाहाललाई रोजे।

‘हाम्रो (माओवादी) को कोटामा रहेको दुई वर्ष घट्यो,’ माओवादी उपमहासचिव हरिबोल गजुरेल भन्छन्, ‘किन २ वर्ष कम भएको उम्मेदवारलाई अघि सारियो। यसबारे प्रस्ट हुन सकिएन।’

माओवादीबाट झक्कु सुवेदी राष्ट्रियसभा अध्यक्षको प्रवल दाबेदार थिए। सुवेदीको ६ बर्से कार्यकाल बाँकी थियो। प्रचण्डले सुवेदीलाई पन्छाउँदै दाहाललाई अघि सारे। ‘दाहाल (नारायण) अयोग्य हुँदै होइन। तर समयावधि घट्यो नि’, गजुरेलले भने।

प्रकाशित: २९ फागुन २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast