रुकुममा सुन्तला बिक्री नभएपछि जुस बनाइँदै

हिमाल प्रेस १३ पुष २०७९ १४:५६ | Wednesday, December 28, 2022
रुकुममा सुन्तला बिक्री नभएपछि जुस बनाइँदै

रुकुम– रुकुम (पूर्व) को सिस्ने गाउँपालिका- ७ र ८ सँगै पुथा उत्तरगंगा गाउँपालिकाको-८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ। यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ। यहाँ मौसममा सुन्तला प्रशस्त पाइए पनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन्।

रुकुममा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ। यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन्। ती सुन्तला टिपेर राख्न शीत भण्डार छैन्। यत्तिकै राख्दा कुहिने डर र बजारमा पनि बिक्री नहुँदा रुखमै छन्।

मेहनत गरेर लगाएको सुन्तलाको बोटमा लोभलाग्दो तरिकाले दाना लाग्दा पनि खपत हुने बजार नपाउँदा विगतदेखि नै यहाँका किसान मर्कामा छन्। लुम्बिनी प्रदेशको एक मात्र अर्गानिक जिल्ला घोषणा भएको रुकुम(पूर्व) मा उत्पादित सुन्तलालाई खेर जान नदिन स्थानीयस्तरमै जुस बनाउन थालिएको छ।

बाहिरबाट प्रशिक्षक ल्याएर सुन्तला उत्पादन गरिरहेका किसानलाई जुस बनाउने तालिम प्रदान गरेपछि किसानले खेर जाने सुन्तलाबाट जुस उत्पादन गरिरहेका छन्। एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व) ले किसानलाई ३ दिनसम्म जुस बनाउने तालिम प्रदान गरेको थियो।

तालिमका प्रशिक्षक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरेन्द्रनगर सुर्खेतका वरिष्ठ खाद्य संक्षण अधिकृत भेषबहादुर थापाले तीन प्रकारको जुस बनाउन सिकाइएको बताए। उनका अनुसार किसानलाई ‘नेक्टर जुस’ बनाउन सिकाइएको छ।

यसमा केमिकल केही नमिसाएको र शुद्ध भएकाले धेरै राख्न नमिल्ने भन्दै जुस तयार पारेको एक दिनभित्रै प्रयोग गरिसक्नुपर्ने उनको भनाइ छ। अर्को ‘स्क्वास जुस’ बनाउन सिकाइएको छ।

अर्को सामान्य जुस बनाउन सिकाइएको छ। यसमा चिनी, पानी, खाद्य रङलगायत प्रयोग गरिएको उनको भनाइ छ। ‘स्क्वास र जुसलाई नौ महिनाको लेबलिङ गरिएको छ। जुसको २५ र स्क्वासको एक सय ८० रुपैयाँ बोतल मूल्य पर्छ।’ तालिमले सुन्तलाको जुस निर्माणमा किसानको उत्साह देखिए पनि भौगोलिक विकटता र आवश्यक स्रोतसाधनको अभावले चुनौती भने रहेको उनको भनाइ छ।

तालिम पाएपछि सुन्तला किसान गणेश रावलले ठूला दाना बजारमा लगेर बिक्री गर्ने र सानो खालको दानाको जुस तयार पारेर बजारमा बिक्री गर्ने बताए। यसअघि मसिनो दाना र बजारमा बिक्री नभएको सुन्तला चाम्रिएर, कुहिएर खेर जाने गरेको बताउँदै अब हातमा सिप भएकाले खेर जाने सुन्तलाको जुस बनाइ त्यसबाट आम्दानी गर्न सकिने उनले बताए। -रासस

प्रकाशित: १३ पुष २०७९ १४:५६ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast