जनकपुरधाम- धनुषाको जनकपुरधाम-८ स्थित याज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप) ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ। मधेश प्रदेशमै संस्कृत महाविद्यालयका रूपमा स्थापित ज्ञानकूपमा सशस्त्र द्वन्द्वका बेला भने पठनपाठन करिब ठप्प भयो।
ऐतिहासिक महत्त्वको यो विद्यालय पुरानै अवस्थामा फर्किएला भनेर धेरैले अनुमान गरेका थिएनन् तर सशस्त्र द्वन्द्व सकिएको केही वर्षमै विद्यालयले पुरानै लक्ष्यका साथ पठनपाठन सुरु गर्यो।
‘द्वन्द्वले संस्कृत शिक्षा संकटमा थियो। धेरै जना संस्कृत पढ्नसमेत डराउँथे। त्यसैले २०६६ मा फेरि पठनपाठन सुरु गर्दा घरघर गएर खोज्दा पनि करिब २५-२६ जना विद्यार्थीमात्रै पाएका थियौँ। सबैको मेहनतका कारण हरेक वर्ष विद्यार्थी थपिँदै गए। अहिले हामीले विद्यार्थी खोज्न जानु नपर्ने अवस्था बनाएका छौँ’, प्रधानाध्यापक सञ्जयकुमार झाले भने।
उनले सशस्त्र द्वन्द्वका कारण निसानामा परेको संस्कृत शिक्षा प्रदान गर्ने विद्यालयमा काम गर्नु पनि चुनौतीपूर्ण अवस्थामा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीले हिम्मत गरेर पुरानै साख फर्काउन थालेको अभियानले २०७३ सालपछि मात्रै सार्थकता पाउन थालेको स्मरण गरे।
‘ऋषि यज्ञवल्क्यको पालादेखि चलेको हाम्रो विद्यालयलाई संस्कृत शिक्षाको हबमात्रै होइन, आधुनिक प्राविधिक शिक्षासँग पनि जोड्नुपर्छ भनेर २०७३ सालमा प्राविधिक विषय पनि सुरु गर्यौँ। त्यसो गर्दा पनि एक सय २३ विद्यार्थीमात्रै हामीसँग थिए’, झाले भने, ‘अविचलित रूपमा गुणस्तरीय शिक्षा दिन सबै जिम्मेवार भएर लाग्यौँ। हाम्रो लगाव, अभिभावक र सम्बद्ध निकायको सद्भावले त्यो संख्या दुई हजार पाँच सय पुगेको छ।’
१९६६ सालमा याज्ञवल्क्य संस्कृत प्रधान पाठशालाबाट औपचारिक रूपमा संस्कृत शिक्षा दिन थालेको सो विद्यालयले थुप्रै सिद्धहस्त विद्वान्हरू जन्माएको छ। ज्ञानकूपको नामले परिचित यस विद्यालयले संस्कृत शिक्षा पठनपाठनको संस्कृति ओझेलमा परिरहेको समयमा नयाँ पुस्तामा ‘संस्कृत ज्ञान’ को दीप जलाउन निरन्तर ‘ज्ञानकूप’ को काम गरिहेको सहायक प्रधानाध्यापक सोमनाथ भट्टराई बताउँछन्।
‘मैले यस विद्यालयमा २०७१ सालमा अध्यापन सुरु गर्दा ७५-७६ जना विद्यार्थी थिए। पछि वैदिक शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यले २०७३ सालमा प्राविधिक विषय (कम्प्युटर) थप्यौँ। त्यो सन्देश घरघरमा गएर भन्यौँ, त्यसपछि भने विद्यार्थी संख्या निरन्तर बढ्दो छ’, भट्टराईले भने।
अहिले कक्षा १ देखि ५ सम्म एक सय अङ्कको संस्कृत, ६ देखि ८ कक्षासम्म भाषा र व्याकरण गरी दुई सय पूर्णांक तथा ९ देखि १२ कक्षासम्म प्राविधिक, संस्कृत र साधारण शिक्षाको सुविधा रहेको उनले बताए। त्रेतायुगमा जनकपुत्री सीताले शिक्षा-दीक्षा लिएको र यहीँ बसेर याज्ञवल्क्यले शुक्लयजुर्वेदको मध्यन्दिनीय शाखा लेखेको विश्वास स्थानीयमा छ।
विद्यालयमा अहिले करिब दुई हजार पाँच सय विद्यार्थी छन्। अबको केही वर्षमै त्यो सङ्ख्या पाँच हजार पुर्याउने लक्ष्यसहित काम भइरहेको छ। यहाँ कक्षा ९ देखि १२ सम्म प्राविधिक, संस्कृत र साधारण गरी तीन संकायमा पठनपाठन भइरहेको छ। प्राविधिकतर्फ कम्प्युटर र साधारणतर्फ व्यवस्थापन तथा विज्ञान संकायको पठनपाठन हुने गरेको छ तर त्यसका लागि आवश्यक भौतिक पूर्वाधार, कक्षाकोठा, शिक्षक-शिक्षिका र लगानीको अभाव रहेको प्रधानाध्यापक झा बताउँछन्।
प्रधानाध्यापक झाले कक्षा ६ देखि १० सम्म एक सय विद्यार्थी हुँदाको दरबन्दी र वेदविद्यातर्फ १९६६ सालकै दरबन्दीअनुसार पढाउनु परेकाले धेरै समस्या भइरहेको बताए। उनले भने,’निजी स्रोत, काजसहितका ३२ जना शिक्षक-शिक्षिका छौँ। विद्यार्थीको चाप बढेपछि बिहान र दिउँसो गरी दुई चरणमा अध्ययन-अध्यापन भइरहेको छ।’ रासस