काठमाडौँ- नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बर्सेनि कृषि क्षेत्रको विकासका लागि नयाँनयाँ योजना ल्याउँछ। यस्ता योजनाको प्रभाव कृषि क्षेत्रमा देखिँदैन, न त किसानले योजनाबाट लाभ लिन सक्छन्। कतिपय योजना त धेरै वर्षदेखि दोहोरिँदै आएका छन्। विज्ञहरू यस्ता योजना ल्याएर नार्कले किसानलाई झुक्याइरहेको आरोप लगाउँछन्। साथै योजनाबारे कृषिमन्त्री नै अलमलमा पर्ने उनीहरूको भनाइ छ।
नार्कका कुनै योजनाले पनि पूर्णता नपाएको विज्ञहरूको आरोप छ। नार्कले एक दशकयता बाँझो एवं उपयोग नभएको जग्गालाई सदुपयोग गर्ने गरी परियोजना अघि सारे पनि यसले पूर्णता पाउन सकेको छैन। चालु वर्षका लागि लागू गरेको योजना खासै नयाँ नभएको कृषि विज्ञहरूको आरोप छ। उनीहरूका अनुसार नार्कले बाँझो जमिन एवं उपयोग नभएको जग्गालाई सदुपयोग गर्ने परियोजना एक दशकदेखि अघि सार्दै आएको छ।
कृषि वैज्ञानिक डा. कृष्णप्रसाद पौडेलले नार्क यस्ता योजनामा अहिलेसम्म एक दर्जन कृषिमन्त्री अलमलिएको बताए। नार्कले कृषिमा नयाँ-नयाँ प्रविधिको विकास गर्नु राम्रो पक्ष भए पनि योजना मात्र बनाएर किसान झुक्यिाउनु गलत भएको उनको टिप्पणी छ।
‘कृषि क्षेत्रमा देखा परेका मुख्य समस्या समाधान गर्ने परियोजना ल्याउनुपर्छ। नार्क र कृषि मन्त्रालयकै कारण गाउँघरका जमिन बाँझो भइरहेका छन्। यस्ता विषयमा अध्ययन भएको छैन’, उनले भने, ‘नेपालको कृषिमा दैनिक गिरावट आइरहेको छ। कृषिको जनशक्ति वैदेशिक रोजगारीमा जाँदैछ। सरकारले योजना मात्र ल्याएर किसानमा भ्रम छर्ने काम गरेको छ।’
एक दशकयता कृषि मन्त्रालयको नेतृत्वमा आएका मन्त्री पनि नार्कको परियोजना वरिपरि बसेर योजना ल्याउँछन्। कृषि समस्याको अध्ययन नगरी तिनैका आधारमा नयाँ भन्दै पुरानै कार्यक्रममा केन्द्रित हुने गरेको विज्ञ पौडलको आरोप छ।
खाद्यका लागि कृषि अभियानका उद्धव अधिकारी पनि नार्क आफ्ना मुख्य तीन जिम्मेवारीहरू अनुसन्धान, शिक्षा र प्रसारबाट विमुख भइसकेकाले यसबाट कृषि क्षेत्रको विकास सम्भव नभएको बताउँछन्। उनी भन्छन्, ‘नार्कले गरेका अनुसन्धान किसान तहमा लैजान संयन्त्र छैन। संघीयतापछि प्रसारको पाटो त समाप्त भएको छ।’
नार्कले अनुसन्धान गरे पनि विदेशी पोजेक्टलाई मात्रै प्राथमिकता दिइरहेको आरोप अधिकारीको छ। यसैगरी कृषि मन्त्रालयबाट हस्तक्षेप हुँदा नार्क कमजोर भइरहेको बताउँछन्। उनले भने, ‘नार्कलाई बलियो बनाउने त कृषि मन्त्रालयले हो तर मन्त्रालयबाट हस्तक्षेप हुँदै आएको छ। मन्त्री र दलका नेताको जोडबलमा नार्कमा आधाभन्दा बढी कर्मचारी गैरप्राविधिक छन्।’
नार्कभित्र दक्ष जनशक्ति नभएकाले पनि अनुसन्धान हुन नसकेको विज्ञहरूको बुझाइ छ। अनुसन्धान नहुँदा किसान बहुराष्ट्रिय निकायले अनुसन्धान गरेका बिउबिजनमा भर पर्नुपरेको अधिकारीले बताए। उनले भने, ‘जहाँ अनुसन्धान छैन, त्यो देशको कृषि क्षेत्र ओरालो झर्नु नौलो मानिँदैन। कृषिप्रधान देशका लागि यो ठूलो क्षति हो। बहुराष्ट्रिय निकायका बिउहरूले हाम्रो कृषि क्षेत्र धानिरहेको छ।’
नार्कका अधिकारीहरू भने नार्कले खाद्यान्न र तरकारीमा आत्मनिर्भर हुने गरी कार्यक्रम गरिरहेको दाबी गर्छन्। नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले भने, ‘आगामी वर्षमा नार्कको बृहत् बीउ उत्पादन कार्यक्रमबाट खाद्यान्न र तरकारीको आयात घटाउन सहयोग पुग्ने गरी परियोजना निर्माण गरेका छौँ।’
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि रुपान्तरणकारी परियोजनाअन्तर्गत बृहत् बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ। यसका लागि नार्कले कृषि क्षेत्रमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संघ–सस्थासँग पनि सहकार्य गर्ने उनले बताए।
‘धानचामलको आयात घटाउन चैते धानको क्षेत्र विस्तार गर्ने तथा अन्य धानका जात र बिउको उत्पादन पनि बढाउने मुख्य उद्देश्य हो। मकै र गहुँका उन्नत प्रविधि विकास र विस्तारको योजना लागू गरी आत्मनिर्भर अभियानमा नै चलाइनेछ’, भट्टराईले भने।
यस्ता छन् आगामी योजना
नार्कले आगामी वर्षका लागि स्याउ, सुन्तला र ओखरको सघन खेती प्रविधि विकास र विस्तार गरिने, धेरै उत्पादन र बिक्री हुने तरकारी गोलभेडा र काँक्रोका वर्णसंकर बिउ उत्पादन प्रविधिमार्फत गुणस्तरीय प्रजनन र मूल बिउको परिमाण बढाउने योजना लागू गरेको छ। यसैगरी नर्सरी व्यवस्थापन, जातीय विकास, गुणस्तरीय बेर्ना उत्पादन र नर्सरीसम्बन्धी तालिमका कार्यक्रम लागू गरिएको कार्यकारी निर्देशक डा. भट्टराईले बताए।
साथै नार्कले कागतीमा आत्मनिर्भर परियोजनासमेत लागू गर्ने भएको छ। यो योजना पाँच वर्षदेखि नार्कले दोर्याउँदै आएको छ।
बंगुर, स्याउ र अलैँचीको क्षेत्रमा कृषि मन्त्रालय र मातहतका निकायसँगको सहकार्यमा अनुसन्धान र विकासका परियोजना सञ्चालन गरी उत्पादन बढाउने, यसैको सहकार्यमा बोयर बाख्रा र पंगास माछाको उत्पादन बढाउने र ग्रामीण कृषि विकासका लागि तीनै तहको सरकारबीच सहकार्य गरिने नार्कको योजना छ। यी योजना नार्क र कृषि मन्त्रालयले हरेक वर्षको बजेट भाषणसँगै कृषि मन्त्रालयको वार्षिक योजनामा समेट्दै आएका छन्।
नार्कले आगामी आर्थिक वर्षदेखि अनुसन्धानकर्ताहरूका लागि कर्मचारी आवास गृह, डिजिटल सूचना प्रविधियुक्त र सुविधा सम्पन्न तालिम हलको समेत व्यवस्था भएको कृषि प्रविधि सूचना भवन निर्माणजस्ता पूर्वाधार विकासका योजना लागू गर्दैछ।
किसानसँग वैज्ञानिकको अवधारणाअनुसार किसानलाई प्रविधि सिकाउन आवासीय तालिमका लागि किसान गेस्ट हाउस सञ्चालन गर्दै पर्यटन विकासका लागि नयाँ योजना सुरु गर्नेसमेत घोषणा गरिएको छ।
पहाडी भेगमा यान्त्रीकरणको बृहत् अनुसन्धान परियोजनामार्फत पहाडका ससाना उपयुक्त यान्त्रिक प्रविधिको विकास र विस्तारका कार्यक्रम लागू गर्ने, नार्कका फार्म केन्द्रका बाँझो जमिनको उपयोग गर्न थाल्ने र बिस्तारै गाउँघरमा रहेका बाँझा जग्गाको उपयोगका लागि उपयुक्त प्रविधिको विकास र विस्तार गर्नेसमेत नार्कको योजना छ।
नार्कले जंगली जनावरबाट हुने बाली क्षति न्यूनीकरण गर्न उपयुक्त प्रविधिको विकास र विस्तार पनि गर्ने भएको छ। स्थानविशेषमा रहेका बाँदर, बँदेल, नीलगाई, सुगा, काग, जुरेलीलगायतका जीवजन्तुबाट हुने क्षति घटाउन उपयुक्त यन्त्र र प्रविधि विकास गर्ने लक्ष्य समेत अघि सरेको छ।