‘बाँच्नै जान्दैनन् मान्छेहरू, बाँच्दाबाँच्दै सिलसिला टुटाउँछन्
खै, केकेसँग साट्छन् शर्महरू र बेशर्म जुटाउँछन्
आफैं नागिन्छिन् मान्छेहरू र नांगिएको थाहै पाउँदैनन्
र, ऐनाले नांगो देखायो भनेर ऐना फुटाउँछन्।’
‘नथिया’ उपन्यासकी स्रष्टा सरस्वती प्रतीक्षाले यसरी मुक्तक सुनाउँदा हलमा खचाखच दर्शकले वान्स मोर भने।
अर्का साहित्यकार दीपक समीपले सुनाएको मुक्तकमा पनि त्यस्तै हुटिङ आयो–
‘यहाँ आफ्नो जगेडा राखेर अर्कैको ताक्नेहरू छन्,
पिरतीको नाममा सम्बन्ध राखेर स्वाद चाख्नेहरू छन्,
पत्ता लगाउने यन्त्र भएको भए सजिलै पत्ता लाग्थ्यो होला
यहाँ सिउँदो एउटा, मनमा अर्कैलाई राख्नेहरू छन्।’
काठमाडौंका विश्वबिमोहन श्रेष्ठ ४५ वर्षको टिकटमा मुक्तक कार्यक्रमको स्मरण गरे।
‘जण्ड, उदण्ड जे भने पनि प्रचण्ड घाम त अस्त हुन्छ
हिउँदको यो भारी हिमपात पनि पग्लेर पानीपानी हुन्छ
प्रेममा जो मरे उसको नाममा ताजमहल बन्छ
देखेनौं हिटलर अचेल म्यूजिमको अँध्यारो कुनामा सुकसुक्याउँदै हिंड्छ।’
२०३५ साल माघ २० मा पोखरा उद्योग वाणिज्य संघमा पहिलो पल्ट भएको टिकटमा मुक्तक कार्यक्रमका उनैले प्रमुख अतिथि हरिभक्त कटुवाललाई साथै लिएर पोखरा आएका थिए। सिर्जनाको पनि मूल्य हुन्छ भनी पञ्चायतकालीन बेलामा पनि पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको उक्त दिनको स्मरणमा सोही हलमा शनिबार यस्तै कार्यक्रम दोहो¥यायो। मुक्तककार श्रेष्ठले सम्झे, ‘यसैगरी हल खचाखच भरिएको थियो। बाटोभरि काव्यपान, रसपान गर्दै पोखराबाट काठमाडौं फर्किंदा एक साता लागेको थियो।’
अग्रज र अनुज मुक्तककारका चोटिला मुक्तक सुन्न दर्शक खचाखच भरिएका थिए। जसमा २९ मुक्तककारले आफ्ना ३/३ वटा मुक्तक सुनाए।
पोखरा माइती भएको भन्दै साहित्यकार उषा शेरचनले भनिन्–
‘पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने पनि बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु, जिन्दगी अचेल
मान्छेको हुलमा बसुँ भने झन् मान्छेले नै खाला कि भन्ने डर।’
भैरहवाका साहित्यकार बुँद रानाले भने–
‘जन्मिँदा दाम लाग्छ र मर्दा पनि दाम लाग्छ
भुइँमान्छेको आङमा कहिलो पो घाम लाग्छ
रगत मासु सिद्धियो त के भो ?
हात जोगाएर राख्नु, हतियार बनाउन त्यो पक्कै पनि काम लाग्छ।’
काठमाडौंका रामकाजी कोनेले पनि नेताको कार्यशैलीको मुक्तकमार्फत व्यङ्ग्य गरे–
‘अनौठो खबर पत्रिकामा पढ्न पाए कसो होला
दुःखद यौटा उदाहरण देख्न पाए कस्तो होला
असफल प्रेमीहरू झैं देश बिग्रिएको झोंकमा
आत्महत्या ग¥यो रे नेताले सुन्न पाए कस्तो होला ?’
गौरी तमुले नयाँ र पुराना गरी ३ मुक्तक सुनाइन्। मायाप्रेमले भरिएको उनको एक मुक्तक यस्तो थियो–
‘कहिले तिम्रो मायाले मजबुद बनाउँछ
खै कसरी कहिले फेरि भावुक बनाउँछ
मै हुँ मर्द भन्नेहरू डुबी हेर त पिरतीमा
कठोर त्यो दिल तिम्रो कति नाजुक बनाउँछ।’
मुक्तकिलो साँझमा अन्तिम मुक्तक सुनाउनए, सरुभक्त। उनले विगतको स्मरण गर्दै पोखरामा मुक्तकको अध्याय थपिएको बताउँदै मुक्तक यसरी सुनाए,
‘मानवता कुनै धातु हैन, त्यसलाई केहीले गाल्न सकिन्न
खङग्रङ्ग सुकेको मनलाई सलाई काँटीले बाल्न सकिन्न
ए कट्टरताको राग अलापी पशु बन्ने मान्छेहरू हो
बुद्धको मूर्तिलाई ढाले पनि बुद्धत्वलाई ढाल्न सकिन्न।’
करिब २ घण्टा चलेको कार्यक्रममा रुद्र ज्ञवाली, रमेश श्रेष्ठ, डा. ईश्वरमणि अधिकारी, दीपक समीम, सुरेश रानाभाट, सरस्वती श्रेष्ठ सरु, मन क्षत्री, लक्ष्मण थापा, गौरी तमु, शिव त्रिपाठी, डा. भूमिराज बस्ताकोटी, जीवनसागर भण्डारी, सरला लामिछाने ‘सरु’, प्राञ्जल, कपिल शर्मा, रुपिन्द्र प्रभावी ‘कटु’, सावित्री गिरी, कृष्ण सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, सञ्जीव पौडेल, श्रीराम अधिकारी ‘गोर्जे’, अमृता पोख्रेललगायतले मुक्तक सुनाउन मञ्च उक्लिए।
आयोजक संस्था पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल विश्वव्यापी रूपमा मुक्तक लेखन र सशुल्क कविता कार्यक्रममा आएको गतिको पृष्ठभूमि २०३५ सालको टिकटमा मुक्तक कार्यक्रमको ठोस योगदान रहेको दाबी गर्छन्।
विगतमा २ रुपैयाँ टिकटमा मुक्तक कार्यक्रम भएको त्यसबेला मुक्तक सुनाएका मुक्तककारले स्मरण गरे। साहित्यको श्रीवृद्धिका लागि आफूहरूले यो कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष पौडेलले बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेको कार्यक्रमको संचालन संस्था उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन्।