आहारारामा एपीएफलाई पुलिसले हरायो

हिमाल प्रेस १२ माघ २०८० १९:१६
6
SHARES
आहारारामा एपीएफलाई पुलिसले हरायो

पोखरा- पोखरा रंगशालामा सर्वाधिक विजेता नेपाल प्रहरी क्लबले २३ औं आहा रारा पोखरा गोल्ड कपमा विजयी सुरुवात गरेको छ। शुक्रबार अन्तिम प्रिक्वाटरफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

सहारा क्लब पोखरा आयोजनामा जारी प्रतियोगिताको शुक्रबारको खेलमा पुलिसका लागि दुबै गोल मानबहादुर परियारले गरेका हुन्। खेलको १९ औं मिनेटमा प्रताप गुरुङको प्रहार सदुपयोग गर्दै हेडमार्फत गोलको खाता खोलेका हुन्।

पहिलो हाफ १–० मा सकिएकोमा ७१ औं मिनेटमा उनले हेडमार्फत नै गोल गर्दै गोल अन्तर दोब्बर पारे। रिबाउण्ड बलमा उनले कत्ति पनि गल्ती नगरी विपक्षी पोस्टको जाली चुमाएका हुन्।

२० औं संस्करणको उपाधि विजेता एपिएफको खेलमा फर्किने अनेक प्रयास विपक्षी गोलरक्षक शत्रुधन चौधरीले विफल पारे। दोस्रो हाफमा आक्रामक प्रस्तुत भएको एपिएफले विपक्षी टिमलाई दबाबमा राखे पनि गोल गर्न सकेन।

३३ औं मिनेटमा प्रदीप लामाको प्रहार क्रसबारमा लागेर फर्किंदा गोल गर्नबाट चुक्यो। कर्नर किकमा पाएको अर्को अवसरमा प्रदीपले हेडमार्फत गोल गर्ने प्रयास शत्रुधनले क्लियर गरिदिए। नेपाल पुलिस क्याराभानदेखि आहारारा पोखरा गोल्डकपमा सर्वाधिक ६ पटकसम्मको विजेता हो। उसले अब १६ माघमा चर्च ब्वाइजको सामना गर्नेछ।

शनिबारदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन्। पहिलो सेमिफाइनलमा पाहुना टोली भुटानको पारो एफसी नेपाली ए डिभिजनको क्लब थ्रिस्टारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। थ्रि स्टारले उद्घाटन खेलमा आयोजकलाई २–१ ले स्तब्ध पारेको थियो। भुटानी टोली पारोको लागि यो डेब्यु खेल हुनेछ।

प्रकाशित: १२ माघ २०८० १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =