आजदेखि आहा रारा पोखरा गोल्डकप, सहारा र थ्रि स्टार भिड्दै

हिमाल प्रेस ९ माघ २०८० १०:४३ | Tuesday, January 23, 2024
आजदेखि आहा रारा पोखरा गोल्डकप, सहारा र थ्रि स्टार भिड्दै

पोखरा- लामो समयको प्रतीक्षापछि २३ औँ आहा रारा पोखरा गोल्ड कप मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र थ्रि स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

माघ ९ देखि २० सम्म सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगितामा १२ टिमले भाग लिएका छन्।

जसमा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, मनाङ मर्स्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिम छन्।

क्लब महासचिव रामजीप्रसाद अधिकारीका अनुसार विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार जित्ने छन्। प्रिक्वाटर विजेता र पराजित दुवै टिमलाई २०-२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टिमलाई ३०-३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०-५० हजार रुपैयाँ प्रदान गरिनेछ। विधागततर्फ समेत पुरस्कार व्यवस्था छ।

क्लब अध्यक्ष केशवराज बरालले प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा खर्चिने भएकोले प्रतियोगिता सफल पार्न सबैसँग आग्रह गरे। प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो। प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गर्ने भएको छ। ५० हजार राशिको उक्त पुरस्कार उद्घाटन अवसरमा हस्तान्तरण गर्ने कार्यक्रम छ।

दिउँसो १ बजेपछि पोखरा महानगरका मेयर धनराज आचार्यले प्रतियोगिता उद्घाटन गर्ने क्लबले जनाएको छ।

प्रकाशित: ९ माघ २०८० १०:४३ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast