शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन तयारी पूरा

हिमाल प्रेस ७ माघ २०८० १५:३५
18
SHARES
शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन तयारी पूरा

इटहरी- शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो।

उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख परशुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता डा. शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले संयुक्त रूपमा गर्ने प्रदेश सरकारको तयारी छ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको घोषणा गरेका थिए। अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बताइन्।

प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता कोइराला, मुख्यमन्त्री कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्कीलगायतले उक्त अस्पताल सञ्चालनका लागि गरिएको तयारीको आइतबार अनुगमन गरेका छन्।

उनीहरूले अस्पतालसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समेत अनुगमन गरेका हुन्। उक्त प्रयोगशालामा नै उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको आवश्यक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको हो। अनुगमनका क्रममा कांग्रेस नेता कोइरालालगायतका व्यक्तिहरूले जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण समेत गराएका थिए।

अनुगमनपछि कोइरालाले हृदय रोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र उपयुक्त भएको बताएका छन्। उनले यस अस्पतालले काठमाडौं बाहिर बिरामीहरूको हृदय रोगको उपचारको ढोका खुलेको बताएका हुन्।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका हृदय रोगका बिरामीहरूको उपचार संघीय सरकारको एक लाख र प्रदेश सरकारको एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताए।

 

प्रकाशित: ७ माघ २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast