शान्तिप्रक्रियाका हर्ताकर्ता नयाँ संविधानपछि संसद् छिर्ने तरखरमा

विवेक विवश रेग्मी २४ पुष २०८० १७:०५
108
SHARES
शान्तिप्रक्रियाका हर्ताकर्ता नयाँ संविधानपछि संसद् छिर्ने तरखरमा तस्बिर : हिमालप्रेस

इटहरी– हेर्दा शालीन। सधैँजसो मुस्कुराइरहने अनुहार। कसैलाई बिझाउने गरी नबोल्ने। अनुहारले बताउँछ कि, उनको भद्रता। तर उनी राजनीतिका भने ‘नामुद’ खेलाडी हुन्।

कृष्णप्रसाद सिटौला (७७) गत वर्षको मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित बने पनि आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका उनी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन्। उनले सोमबार विराटनगरमा राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिए।

उम्मेदवारी दिएपछि पत्रकारसँग कुराकानी गर्दै सिटौलाले भने, ‘नेपालको राजनीतिक विकासक्रममा संसद्बाट नयाँ ढंगले अगाडि जानु आवश्यक छ। सबै दलहरूको बीचमा नयाँ समझदारी निर्माण गरेर मुलुकसामु उपस्थित चुनौतीको सामना गर्न नीतिगत तबरबाट संयुक्त भएर जानुपर्छ।’ उनले राष्ट्रियसभामा आफू पुगेपछि चुनौतीसामु जनताको हितमा काम गर्न र साझा दृष्टिकोण लिएर अगाडि बढ्ने दाबी गरे।

सिटौलाले हिंसात्मक राजनीतिमा सक्रिय माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने प्रमुख भूमिका खेलेका कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका थिए। २०६० सालपछि माओवादीसँग वार्ता गर्दा कोइरालाले सिटौलालाई विश्वास पात्रका रूपमा लिएका थिए।

२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएर फोनदेखि सबै कुरा प्रतिबन्ध लगाएका थिए। त्यतिबेला सिटौलाले भारतमा तीन महिना बसेर शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाका लागि काम गरेको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँ बताउँछन्।

करिब ११ वर्ष भूमिगत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायत शीर्ष नेता सिटौलाकै अगुवाइ र उपस्थितिमा सार्वजनिक भएका थिए। माओवादी शान्तिप्रक्रियामा आएपछि भएको पहिलो संविधानसभाको निर्वाचन गृहमन्त्रीका हैसियतले सिटौलाले नै शान्तिपूर्णरूपमा गराएका थिए।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदा गृहमन्त्री भएका उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा छोटो समय उपप्रधानमन्त्रीसमेत भएका थिए। झापाबाट २०४८ सालयता सातपटक निर्वाचन लडेका सिटौला नतिजा भने मिश्रित रहँदै आएको छ। सिटौला २०४८ सालमा झापाबाट एमाले नेता द्रोणाचार्य क्षेत्रीसँग पराजित बनेका थिए। २०५१ सालमा भएको मध्यावधि निर्वाचन एमालेका उम्मेदवार लीला उदासीलाई पराजित गर्दै सिटौलाको संसद् प्रवेश भयो।

२०५६ मा भएको निर्वाचनमा एमालेका पुष्प पोखरेललाई पराजित गर्दै सिटौला दोस्रोपटक सांसद निर्वाचित भए। पहिलो संविधानसभा निर्वाचन २०६४ बेला सिटौला गृहमन्त्री थिए। उनी त्यतिबेला माओवादी नेता पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए। गृहमन्त्रीले चुनाव हारेको भनेर त्यति बेला उनको चर्चा भएको थियो।

दोस्रो संविधानसभा निर्वाचन (२०७०) मा भएको निर्वाचनमा सिटौला निर्वाचित भए। उनले त्यसबेला राप्रपाका राजेन्द्र लिङ्देनलाई पराजित गरेका थिए। नयाँ संविधानपछिका दुई निर्वाचन भने सिटौलाका लागि फलिफाप भएनन्। २०७४ र २०७९ को निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट सिटौला उनै लिङ्देनसँग पराजित भए।

यतिबेला सिटौला राष्ट्रियसभा सदस्य हुँदै अध्यक्ष बन्ने तयारीमा रहेको कांग्रेस नेताहरू बताउँछन्। यसका लागि उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वचन दिइसकेको उनी निकटहरूको भनाइ छ। देउवाले सिटौलालाई राष्ट्रियसभा सदस्यको टिकट दिएपछि कांग्रेस वृत्तमा देउवासँग जो नजिक भइरहन्छ, ऊ कतै न कतै ‘सेटल’ भइहाल्छ भन्ने चर्चाको विषय बन्न थालेको छ। उनीहरू रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुलाई उदाहरणका रूपमा लिन्छन्।

पौडेलले कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति नउठेर देउवालाई सहयोग गरेका थिए। त्यतिबेला देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने वचन दिएको नेताहरू बताउँछन्। उनीहरूका अनुसार यसपटक पनि सिटौलालाई देउवाले राष्ट्रियसभाको अध्यक्ष बनाउने वचन दिएका छन्। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सकारात्मक छन्। सिटौलालाई राष्ट्रियसभामा ल्याउन माओवादीको पनि जोडबल रहेको कांग्रेस नेताहरूले नै बताउँदै आएका छन्।

बीबीसी नेपाली सेवासँग सोमबार साँझको कुराकानीमा महामन्त्री गगनकुमार थापाले कोशीमा कांग्रेस उम्मेदवार जिताउन माओवादी र जसपाको साथ चाहिने र माओवादीले सिटौलालाई भए सघाउने प्रस्ताव गरेपछि पार्टीले सोहीअनुसार निर्णय गरेको बताए। थापाले भने, ‘हामीले मत लिनुपर्ने माओवादीबाट औपचारिक रूपमा कृष्ण सिटौलाले उम्मेदवार बन्नुपर्ने अडान रहेकाले पनि सिटौलालाई अघि सारिएको हो।’

सिटौला समूह नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट तेस्रो धारका रूपमा उदाएको थियो। बिस्तारै सिटौला समूह सभापति देउवा नेतृत्वको समूहको उपसमूहजस्तो बन्न पुग्यो। सोही कारण १४औँ महाधिवेशनमा सिटौला समूहले महामन्त्रीको भाग पाएको थियो। १४औँ महाधिवेशअघि गगनकुमार थापाले सिटौला समूहबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए। तर पछि थापाले सिटौला समूह छाडे। १४ औँ महाधिवेशनमा सिटौलाले महामन्त्रीमा अघि सारेका प्रदीप पौडेल पराजित भएपछि त्यो समूहको अस्तित्व पार्टीमा निकै कमजोर भएको थियो। देउवाले सिटौलालाई राष्ट्रियसभा सदस्यको निटक दिएपछि त्यो समूहको अस्तित्व नामेट भएको कांग्रेस नेताहरू बताउँछन्। अब सिटौला कांग्रेस राजनीतिमा प्रत्यक्ष संलग्न हुने सम्भावना अत्यन्त न्यून छ। किनभने राष्ट्रिय सभाको अध्यक्ष बने भने स्वभाविकरूपमा ६ वर्ष पार्टी राजनीतिबाट अलग हुनुपर्छ। त्यसपछि उनको उमेर, पार्टीको समीकरणलगायत कारण सक्रिय राजनीति उनका लागि सहज हुनेछैन।

समन्वयकारी सिटौला

पञ्चायतकालमा नेपाली कांग्रेस झापाको उपसभापति भएका सिटौला २०४६ को संयुक्त जनआन्दोलनको बेला कमान्डर थिए। तत्कालीन पार्टी सभापति रामबाबु प्रसाईँ पक्राउ परेपछि उनले नेतृत्व सम्हाल्न परेको थियो। सिटौला २०४८ देखि ५६ सम्म कांग्रेसको झापा जिल्ला सभापति बनेका थिए। पछि केन्द्रीय सदस्य हुँदै महामन्त्रीसमेत बने।

‘पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि हामीले झापामा आन्दोलन बढाउन सकेनौँ। त्यसबेला सेनाको दबाबले बस्न दिएन। हामीले हरेक गतिविधि भारतबाट गर्‍यौँ,’ कांग्रेस झापाका सचिव हुमागाईँ भन्छन्, ‘नेपालका छापाखानामा राजतन्त्रविरुद्ध र गणतन्त्रका पक्षमा केही पनि छाप्न पाइँदैन्थ्यो। हामीले भारतमा बसेर गणतन्त्रका पक्षमा वकालत गर्ने उदेश्यका सामाग्री छापेर भूमिगत रूपमा नेपाल पठाउँथ्यौँ।’

उनका अनुसार सिटौलासहितका केही नेताहरू भारतको सिलगढीमा बसेका थिए। दिल्लीमा हुने बैठकमा सहभागी हुन सिटौला आउजाउ गरिरहन्थे। नेपालमा गणतन्त्र स्थापनाका निम्ति गिरिजाप्रसाद कोइरालालाई ‘कन्भिन्स’ गर्ने उनै सिटौला रहेको हुमागाईँ बताउँछन्। ‘उहाँ (सिटौला) विचारमा प्रस्ट हुनुहुन्छ। प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा अडिग हुनुहुन्छ,’ हुमागाईँ भन्छन्, ‘नम्र र सरल स्वभावको उहाँ सादगी नेता हो भन्नेमा दुईमत छैन।’

वार्ता र संवादबाट मात्रै समस्या समाधान हुने सोच राख्ने सिटौला संविधान मस्यौदा समितिको सभापतिसमेत भए। वार्ता र संवादबाट अन्तरपार्टी सम्बन्ध सुधार गर्नका निम्ति पनि सिटौला सिपालु मानिन्छन्। ‘गहिरो अध्ययन गरेर समस्यालाई सहजतापूर्वक समन्वयकारी सुल्झाउन सक्ने क्षमतावान् नेता हो, कुशल नेतृत्वकर्ता रहाँ सरल ढंगबाटै समस्या सुल्झाउन सक्ने नेता हो,’ हुमागाईँले भने।

यस्तो छ अंकगणित

राष्ट्रियसभाका लागि कोशी प्रदेशका ९३ सांसद र प्रदेशभर रहेका एक सय ३७ पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगको गणनाअनुसार कोशीमा सत्ता गठबन्धनसँग ५ हजार ४३६ मत छ भने एमालेसँग ४ हजार २ सय ४८ मतभार रहेको छ।

कांग्रेस एक्लैको ३ हजार ६ सय ८४, माओवादी केन्द्रको १ हजार २ सय ७८, नेकपा एकीकृत समाजवादीको ३ सय ४५ र जसपाको १ सय २९ मतभार छ। सत्ता गठबन्धन र एमालेसँग पनि नरहेको राप्रपासँग ३ सय ९४ मतभार छ। राप्रपाले भने उद्धव पौडेललाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै ५७ मत स्वतन्त्रहरूको छ। यो अंकगणित हेर्दा कोशीबाट सिटौलाको जित निश्चित देखिन्छ।

नेपाली कांग्रेस कोशी प्रदेशको ‘अन्य क्लस्टर’बाट सिटौला राष्ट्रियसभा उम्मेदवार बनेका हुन्। आगामी २० फागुनमा वर्तमान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाको कार्यकाल सकिँदैछ। राजनीतिमा यही गठबन्धन रहिरहे र फेरबदल नभए अध्यक्ष पदमा सिटौला जाने निश्चितजस्तै छ।

प्रकाशित: २४ पुष २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast