दक्षिण एसियाको व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेन सुरू

हिमाल प्रेस २२ पुष २०८० १५:२२
12
SHARES
दक्षिण एसियाको व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेन सुरू

काठमाडौँ– विश्व व्यापार संगठन (डब्लूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजनामा आजबाट दुई दिने ‘डब्लूसीपी नेपाल– एआईबी साउथ एसिया कन्फ्रेन्स, २०२४’ सुरू भएको छ।

विश्व व्यापारमा दक्षिण एसियाको अवस्था, प्रतिस्पर्धा, आपूर्ति श्रृंखला, वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एण्ड साउथ एसियाः कम्पिटेटिभनेस, भ्यालु चेन एण्ड ईएसजी) विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो।

सम्मेलनलाई सम्बोधन गर्दै काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार प्रा. अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेकाले फरक खालेका वाणिज्य नीति अवल्बन गरिनुपर्ने आवश्यकता औँल्याए। नेपालले विश्व बजारमा प्रतिस्पर्धाका लागि अग्र र पृष्ठपोषण सहितको वस्तु उत्पादनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ।

एआईबी–एसएसी एक्जुकेटिभ बोर्डका अध्यक्ष प्रा. एस रघुनाथले दक्षिण एसियाली मुलुकको वैदेशिक व्यापारसँग सम्बन्धित नीति निर्माणमा सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। सहज आपूर्ति श्रृंखला निर्माण गर्न विश्वव्यापी रूपमा एक अर्का देशबीच अन्तरनिर्भरता रहेको भन्दै उनले सबैको समान सहभागिता र योगदान आवश्यक रहने उल्लेख गरे। स्थानीयस्तरको उत्पादन प्रवद्र्धनमा नवप्रवर्तन तथा बौद्धिक अधिकारको अधिकतम प्रयोगमा उनको जोड थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिक व्यापारलाई सन्तुलित रूपमा अगाडि बढाउन देखिएको नीतिगत खाडललाई पुर्नका लागि अनुसन्धानकर्ता तथा अध्येताहरूबाट आउने सुझावलाई सरकारले सकारात्मक रूपमा लिने गरेको बताए। उनले भने, ‘आवश्यकताअनुसार ती सुझाव कार्यान्वयनका लागि पहलसमेत गरिएको छ।’ प्रभावकारी नीति निर्माणका लागि विभिन्न क्षेत्रको विज्ञता आवश्यक पर्ने उनको भनाइ छ।

संयुक्त राष्ट्रसंघको जेनेभास्थित स्थायी नियोगका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले वैदेशिक व्यापार विकास र समृद्धिको इन्जिन रहेको उल्लेख गरे। अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि पनि व्यापारका क्षेत्रमा अहिले पाइरहेका शून्य भन्सारलगायत सुविधा (ड्युटी फ्रि, कोटा फ्रि) को निरन्तरताका लागि संयुक्त राष्ट्र संघमा विभिन्न तहको छलफल भइरहेको उनको भनाइ छ।

विश्व व्यापार संगठन (डब्लूटीओ)का डेपुटी डाइरेक्टर जेनेरल सियाङचेन झाङले विश्व व्यापारमा सहजीकरणका लागि विभिन्न क्षेत्र र तहसँग क्षमता विकासका लागि काम भइरहेको बताए। पछिल्लोसमय विश्वव्यापारको परिदृश्यमा बदलाव भइरहेको सन्दर्भलाई जोड्दै उनले अतिकम विकसित मुलुकको व्यापारसँग सम्बन्धित सुविधाको निरन्तरताका लागि पहल गरिनेसमेत प्रतिवद्धता जनाए। जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनस्करणसँग सम्बन्धित मुद्दालाई विश्व समुदायले नै गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ।

काठमाडौँ विश्वविद्यालका उपकुलपति प्रा. डा. भोला थापाले क्षेत्रीयस्तर र विश्व बजारमा समेत व्यापारका आयाम परिवर्तन भइरहेको र त्यसले नेपालजस्ता आयातमा निर्भर, सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भइरहेको उल्लेख गरे। न्यून उत्पादनका कारण नेपालको निर्यात पक्ष निकै कमजोर रहेको तथा नेपालले डब्लूटीओका सुविधाको पर्याप्त लाभ लिन नसकेको थापाले बताए।

भारतीय विदेश व्यापार संस्थान, कोलकत्ता क्याम्पसका प्रमुख प्रा. के रंगराजनले दक्षिण एसिया क्षेत्रमा उच्च जनसांख्यकीय लाभ रहे पनि व्यापारका क्षेत्रमा उचित लाभ लिन नसकेको बताए। दक्षिण एसियाले क्षेत्रीय र वैश्विक व्यापारमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै नवीनतम् प्रविधिको उच्चतम प्रयोगबाट यस क्षेत्रका उत्पादनलाई विश्व बजारमा पु¥याउन सकिने सम्भावनालाई गम्भीरताका लागि लिनुपर्ने उनको भनाइ छ।

सम्मेलनमा सात देशका ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तिलगायतको सहभागिता छ। दुई दिने सम्मेलनमा क्षेत्रीय व्यापार, वाणिज्यलगायत विषयमा शोधपत्र प्रस्तुत हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =