पुस्तक चर्चा

सांस्कृतिक सौन्दर्यको स्वर ‘शब्दथुम’

विवेक विवश रेग्मी २१ पुष २०८० १०:०१
140
SHARES
सांस्कृतिक सौन्दर्यको स्वर ‘शब्दथुम’

सांस्कृतिक चिन्तन, मातृभाषाप्रतिको प्रेम, सीमान्तकृतका आवाज, रैथाने बिम्बको प्रयोग, आफ्नै माटोको कथालगायतले निबन्धहरू ओजनदार बनेका छन्। -विवेक विवश रेग्मी

कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको पहिलो निबन्धसङ्ग्रह ‘शब्दथुम’ले नेपाली निबन्ध क्षेत्रमा अर्को इँटा थपेको छ। गत असोजमा सार्वजनिक उक्त निबन्ध तीन खण्डमा विभाजित छ। जसमा २४ वटा निबन्ध समावेश छन्। निबन्धभित्र लेखकले अनेकन प्रश्नहरू गरेका छन्। इतिहासदेखि वर्तमानसम्मका कुरा कोट्याएका छन्। आफ्नो भाषा, संस्कृति, पहिचानको व्याख्या गरेका छन्। नेपालभित्र सबै भाषा (मातृभाषा) मा लेखिएका साहित्य नेपाली साहित्य रहेको उनको सन्देश छ।

एकै बसाइमा निबन्ध ‘शब्दथुम’ पढ्न सकिनेरहेछ। किन पनि भने हामीले हिजोदेखि पढ्दै आएका र आजसम्म पढिरहेका, सुनिरहेका कविलेखकबारे थुपै्रपटक थाम्सुहाङले लेखेका रहेछन्। त्यसो त पूर्वी नेपालको इलाम र पाँचथरको कुरालाई बढी दोहो¥याइरहेका उनले काठमाडौँदेखि विदेशयात्रासम्मको कुरा निबन्धमा समेटेका छन्।

केही वर्षअघि कवि हेमन यात्रीले मिक्लाजुङमा एक कार्यक्रम आयोजना गरे। जहाँ राष्ट्रगानका रचियता व्याकुल माइलादेखि प्रकाश थाम्सुहाङसम्म उपस्थित थिए। पहिलो भेट मिक्लाजुङमै भएको थियो, प्रकाशसँग। उनको किताब ‘शब्दथुम’ पढ्दै गर्दा घरीघरी मिक्लाजुङको शिरमा चलिरहेको बतास सम्झिएँ। र सम्झिएँ प्रकाशको अनुहार। हेर्दा गम्भीर र शालीन उनले निबन्धमा पनि त्यस्तै गम्भीर कुराहरूको उठान गरेका छन्।

थाम्सुहाङले आफूले बाँचेको परिवेश, बालापनको चित्र, किशोर समयको स्मरण, बैँस उमेरको भोगाइ र वर्तमान समयको अनुभूति गहिरो ढंगबाट लेखेका छन्। रोचक पक्षचाहिँ निबन्धमा धेरैजसो कविताका कुरा गरेका छन्। पचासको दशकबाट साहित्य लेख्न सुरु गरेका थाम्सुहाङले आफ्नो कविता सङ्ग्रह ‘पालामको मूच्र्छना’ प्रकाशित भएको १७ वर्षपछि निबन्ध ‘शब्दथुम’ प्रकाशित गरेका हुन्। ‘अर्को सङ्ग्रह पढ्न १७ वर्ष नै कुर्नुपर्ला कि?’ भन्ने प्रश्नमा मुस्कुराउँदै थाम्सुहाङ जवाफ दिन्छन्, ‘त्यति त नपर्ला। अब छिट्टै अर्को सङ्ग्रह आउँछ कि? यसै भन्न सक्दिनँ।’

समाजलाई बस्न योग्य बनाउन शब्द र साहित्यको सम्मिश्रण आवश्यक पर्ने उनी बताउँछन्। ‘मैले लेख्न चाहेको मेरो संस्कृति हो। मलै मेरै संस्कृति लेख्दा र लेख्नका लागि सहज महसुस गर्छु,’ उनी आफ्नो जीवनजस्तै सरल उत्तर दिन्छन्, ‘सपना आफ्नै मातृभाषामै देख्छु। हुन त स्कुल पढ्दा नेपाली पढियो, कलेज पढ्दा अंग्रेजी। सानो उमेरदेखि नै मातृभाषाप्रति चासो थियो। यसरी भाषाको जिकज्याक भयो।’

७० को दशकपछि निबन्ध लेख्न सुरु गरेका थाम्सुहाङले निबन्धमार्फत राज्यमाथि गहिरो प्रश्न गरेका छन्। सरल रूपमा बगेका निबन्धमा थाम्सुहाङले विभिन्न लेखकका भनाइ पनि उधृत गरेका छन्। उनका निबन्धमा अध्ययनशील व्यक्तित्वको गहिरो छाप पाइन्छ।

पहिलो खण्ड ‘व्यक्तिविम्ब’ मा १३ वटा निबन्ध छन्। जहाँ कविहरूबारे लेखिएको छ। बैरागी काइँलाका कुरा पटकपटक आइरहन्छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदा काइँलाले नेपाली साहित्यमा मुन्धुमको प्रयोग गर्नका निम्ति प्रोत्साहित गरेको कुरा निबन्धमा समावेश छन्। समाजको संस्कृति र विभेदको स्वरलाई निबन्धमा चित्रण गरिएको छ।

लेखकले ‘रुचाल दाइ’ शीर्षकको निबन्धमा समाजको व्याख्या गरेका छन्। रुचाल दाइ, जसले समाजमा बिहे, कार्जेलगायतमा मात्रै पेटभरि खाना खान पाउँछन्। उनी भरिया हुन्। तर पछि मोटरबाटो पुगेपछि उनको त्यो काम पनि टिक्दैन। यसरी काम खोसिन्छ। त्यसो त गाउँलेले उनीसँग जीवनभर सहभोजको आयोजना गरेनन्। उनीमाथि भएको विभेदविरुद्व लेखकले सरल ढंगबाट समाजको चित्रण गरेका छन्।

‘शीतयुद्धपछिको विश्वमा अब हतियारले युद्ध लडिँदैन। अबको युद्ध एक संस्कृति र अर्को संस्कृति, धर्म-धर्म र सभ्यता-सभ्यताबीच हुनेछ’, अमेरिकी चिन्तक स्यामुअल पी हन्टिङ्टनको उदाहरण दिँदै लेखक थाम्सुहाङले सुन्दर समाजको खातिर सबै भाषा, संस्कृति र पहिचानको सम्मान हुनुपर्ने बताएका छन्।

उनले ‘चिन्ता-चिन्तन’ खण्डको ‘सीमान्त संस्कृतिको दुःख’ शीर्षकको निबन्धमा भारतको एक उदाहरण प्रस्तुत गर्दै राज्यले समाज र नागरिकप्रति गर्ने व्यवहारलाई उदांगो पारेका छन्। उनी लेख्छन्, ‘केहीअघि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दलित बस्ती भ्रमण गर्ने भएछन्। भ्रमणअघि बस्तीमा साबुन बाँडिएछ। कारण दलितहरू फोहोरी हुन्छन् भन्ने सोचको उपज थियो। यहाँ भाषाका कारण, जातिका कारण, रङका कारण, सांस्कृतिक पहिरनका कारण भेदभाव हुने गर्छ। तितो सत्यचाहिँ दुनियाँमा पहिरनले पीडक र पीडितको दुवैथरी भाष्य बोकेको हुँदोरहेछ। तथाकथित सर्वोच्चता सबैतिर उस्तरी नै भाइरसझैँ फैलिएको रहेछ।’

लेखकले दलितमाथि भइरहेको विभेदको स्वरको चित्रण गरे पनि समग्रमा उत्पीडनमाथिको आवाज बोलेका छन्। उत्पीडनको कुरा जोड्दै उनले सबैको भाषा, संस्कृति र विचारलाई सम्मान गर्नुपर्ने तर्क राखेका छन्। ‘विचार भनेको इतिहास’ रहेको समेत उनको निबन्धमा उल्लेख छ।

विभिन्न जातिको पहिचान आआफ्नै रहे पनि नेपालमा भने पहिचान भन्नेबित्तिकै राजनीतिक रङले हेरिने थाम्सुहाङको तर्क छ। भारतीय लेखक निर्मल बर्माको उदाहरण दिँदै उनले लेखेका छन्, ‘भाषा, मिथक र स्मृतिका अन्तरसम्बन्धले नै कुनै पनि समुदायको सामूहिक अस्मितालाई एकत्रित गर्छ।’ पहिचानको क्षेत्र व्यापक रहेको र त्यसलालाई केलाउनुपर्ने आवश्यकता रहेको थाम्सुहाङले उधृत गरेका छन्।

शब्दथुममा प्राकृतिक र सांस्कृतिक चिन्तन, रैथाने दर्शन र पहिचानको सौन्दर्य पाइन्छ। उनले निबन्धमार्फत विगतमा लेखिएका कविता, वर्तमानमा लेखिइरहेका कविताबारे चिन्तन गरेका छन्। आफू कवि भएकै कारण र नेपाली साहित्यमा कविका रूपमा चिनिएका थाम्सुहाङले कविताको चिन्तन गर्नु अस्वाभाविक होइन। कविताको व्याख्या थप रहस्यमयी बन्दै गइरहेको उनको टिप्पणी छ।

उनी भन्छन्, ‘जीवनबारे धेरै कविता लेखियो। अब मान्छेले जीवनलाई कसरी बाँच्छ, त्यो लेखिनुपर्छ। मान्छेको जीवन बाँच्ने शैली संस्कृति हो। अब त्यही बहुसंस्कृतिलाई समातेर लेखिनुपर्छ।’

उनले प्रविधिको विकास भएसँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रसंग पनि जोडेका छन्। ‘एआईले कविता लेख्न थालेपछि कविको अस्तित्व के होला? अबको कविता के प्रविधिले लेख्ला?’ उनको प्रश्न छ।

अघिल्लो साता धरानस्थित नेपाली विभाग (महेन्द्र बहुमुखी क्याम्पस) ले आयोजना गरेको शब्दथुमाथिको चर्चामा यो प्रश्नलाई खण्डन गर्दै वक्ता, उपप्राध्यापक डा. अस्मिता विष्टले भनिन्, ‘एआईले कवि, लेखकको आवाज लेख्न सक्दैन। किनभने लेखकले दुखाइ, पोलाइका कारण आफ्नो अनुभूति लेख्छन्। मैले कसैको निबन्ध चारवटा पढेँ भने पाँचौँ निबन्धको शैली थाहा पाउँछु। एआईले त्यो व्यक्त गर्न सक्दैन।’

प्रविधिको विकाससँगै स्थापित एआईले शब्द लेखे पनि मानिसको आवाज लेख्न सक्दैन। यो सत्य हो। कताकता लेखकले यी प्रश्न गर्दा भावनामा बगेका हुन् कि? हुन त समाजमा अहिले कविता लेखिरहेका कविप्रतिको चिन्तन पनि हुनसक्छ।

लेखक थाम्सुहाङले ‘आत्ममन्थन’ खण्डमा ‘आत्महत्याको सौन्दर्य’ शीर्षकको निबन्धमा भयानक प्रश्न छाडेका छन्। ‘मृत्यु छ र त जीवन छ’ शब्दबाट निबन्ध सुरु गरेका उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे आलोचना गरेका छन्। निबन्धको अन्त्यमा उनले राज्यलाई प्रश्न गरेका छन्, ‘आमनागरिकले सामूहिक आत्मदाह गरे शासकहरू के गर्थे होलान्?’

अहिलेको नैराश्य र राजनीतिक कारणलाई उनले ‘आत्महत्याको सौन्दर्य’ मार्फत प्रश्न गरेका छन्। अधिकांश निबन्धमा उनले चोटिलो प्रश्नसँगै व्यक्तिबारे प्रशंसासमेत गरेका छन्। बैरागी काइँला, कृष्णभूषण बल, गणेश रसिक, अम्बर नेम्वाङ, धर्मेन्द्र नेम्वाङ, गोविन्द वर्तमान, ईश्वर बल्लभ, याम थुलुङ, मनु मञ्जिल, उपेन्द्र सुब्बा, हाङयुङ अज्ञात, राजन मुकारुङ, चन्द्र गुरुङ, देवान किराती, सुन्दर कुरुप, दीपक सापकोटा, हेमन यात्री, कविता राई गाउँलेलगायत थुप्रै कवि, लेखक, चिन्तकहरूबारे उनले प्रसंग जोडेका छन्।

लेखकले ‘व्यक्तिबिम्ब’ खण्डमा लुङ्माहिम साइँलाको मेटामोर्फोसिस, जन्मले मृत्युलाई हरपल जितोस्, काइँलाले यो के गरेको, बल दाइ, यात्री र काठमाडौँ, एउटा शालीन मानिसको अवसान, सुम्हालुङ कवि, भुइँकुहिरोभित्र एक साधक, हरियो साइकलको सवारी, बराल दाइको लीला, एक भाइरल कवि, शान्त नदी, रिफ्युजी कथा र रुचाल दाइ शीर्षकमा निबन्ध लेखेका छन्।

यसैगरी ‘चिन्ता-चिन्तन’ खण्डमा सीमान्त संस्कृतिका दुःख, साहित्यमा पहिचानका लागि तीन आन्दोलन, निखुरोन्मुख कविता, सालिक र साहित्य विमर्श, म कहाँनिर उभिएको छु? असीको कविता शीर्षकका निबन्ध समावेश छन्। अन्तिम खण्ड ‘आत्ममन्थन’मा कफी हाउसमा फकिर चिन्तन, आत्महत्याको सौन्दर्य, रेडकार्डको रेकर्ड, दाइसँग बाजी र एक्लै भएको कथा बुनेका छन्।

सांस्कृतिक चिन्तन, मातृभाषाप्रतिको प्रेम, सीमान्तकृतका आवाज, रैथाने बिम्बको प्रयोग, आफ्नै माटोको कथालगायतले निबन्धहरू ओजनदार बनेका छन्। त्यसो त निबन्धमा केही कमजोरी पनि छन्। कतिपय ठाउँमा विभिनन व्यक्तिहरूका कुरा पटकपटक दोहोरिएका छन्। कतैकतै लेखक बढी भावनात्मक बनेका छन् त कति निबन्धमा उनले अंग्रेजी अक्षरलाई प्रयोग गरेका छन्। केहीकेही ठाउँमा भाषाको अशुद्धता छन् भने पुस्तक लेआइट गर्ने क्रममा अक्षरहरू एकै लाइनमा (अक्षरहरू लाइनबद्ध नभई तल्लो लाइनमा झरेका) छन्। दोस्रो संस्करणमा यी सामान्य त्रुटिहरू सच्चिने आशासहित लेखकलाई बधाई!

पुस्तक : शब्दथुम
लेखक : प्रकाश थाम्सुहाङ
पृष्ठ : १४०
मूल्य : ३५०
प्रकाशक : इन्डिगो इन्क

प्रकाशित: २१ पुष २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast