जनकपुर- ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत मधेश प्रदेशका महोत्तरी र धनुषाका दलित तथा सीमान्तकृत वस्तीमा ‘छोरी शिक्षा बिमा जागरुक सचेतना कार्यक्रम’आयोजना गरिएको छ।
सामाजिक विकास मन्त्रालयले युरोपियन युनियन र युनिसेफको साझेदारीमा मधेश प्रदेशको आठवटै जिल्लामा सचेतनाका कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयालले पुरुषको तुलनामा छोरीको शिक्षामा पहुँच नपुग्नुका साथै कम उमेरमै परिवारले बिहे गरेर पठाउनाले शारीरिक र मानसिक समस्या झेल्नु परेको बताए। उनले यही कारण सरकारले कार्यक्रम ल्याएको बताए।
‘यो अभियानले छोरीको शिक्षामा पहुँच बढाउँदै उनीहरूलाई आर्थिकरूपमा आत्मनिर्भर बन्न मद्दत पुर्याउँछ,’ निर्देशक फुयालले बताए। बालविवाह रोक्न पनि यो अभियानले भूमिका खेल्ने उनको विश्वास छ।
कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमबारे जानकारी दिनुका साथै, कसरी फाराम भर्ने, फाराम भर्दा चाहिने आवश्यक कागजात र फाराम भर्न समस्या भएको खण्डमा वडा कार्यालयले सहयोग गर्नेबारे पनि जानकारी दिइएको थियो।
‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको निरन्तरता स्वरूप मधेश प्रदेश सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ आए सँगै कार्यविधिले निर्देशन गरे अनरुप २०७८ माघ १ गते देखि जन्म भएका छोरीलाई लक्षित गरी ‘छोरी शिक्षा बिमा र मुद्दती बचत कार्यक्रम ल्याएको हो।
यो कार्यक्रमअन्तर्गत बिमा गर्ने बित्तिकै ३७ हजार ५५७ बालिकाको खातामा जम्मा गरिनेछ। र २० वर्ष उमेर पुगेपछि बिमित बालिकाले ३ लाख रूपैयाँ पाउनेछन्। तर यो रकम पाउनका लागि भने केही शर्त पूरा गुर्नुपर्ने हुन्छ।
बीमित बालिकाले एसईई पास गरेको र २० वर्ष सम्म बिहे नगरेको हुनुपर्छ। बीमित बालिकाको अकालमै मृत्यु भएको खण्डमा भने सबै कानुनी प्रक्रिया पुगेपछि मृत्यु भएको साल जति रकम जम्मा भएको छ त्यति रकम बीमितको परिवारले पाउने छन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

