श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
काठमाडौँ- सरकारले वैदेशिक रोजगारीमा जानुअघिको तालिम अवधि र शुल्क बढाएर कामका लागि देश छाड्न लागेका युवालाई थप दु:ख दिएको टिप्पणी विज्ञहरूले गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ संशोधन (पहिलो) संशोधन गरेर अभिमुखीकरण तालिम अवधि र शुल्क बढाएको छ।
संशोधित कार्यविधिमा वैदेशिक रोजगारीमा जाने कामदारले अभिमुखीकरण तालिम र रोजगारसम्बन्धी अनलाइन परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ। रोजगारसम्बन्धी अनलाइन परीक्षामा ५० अंक ल्याउनुपर्ने उल्लेख छ।
साथै कामदारले अभिमुखीकरण तालिमको शुल्क २ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। अहिले वैदेशिक रोजगारीमा जाने कामदारले अभिमुखीकरण तालिमबापत ७ सय रुपैयाँ तिर्दै आएका छन्। साथै दुईदिने अभिमुखीकरण तालिम लिँदै आएका छन्। अब अभिमुखीकरण तालिम तीन दिन बनाइएको छ।
८० प्रतिशत कामदारले तालिम नलिने गरेको अवस्थामा संशोधित प्रावधान प्रभावकारी नहुने जानकारहरू बताउँछन्। वैदेशिक रोजगारीमा जाने ८० प्रतिशत कामदारले दुईदिने अभिमुखीकरण तालिम नलिने गरेको वैदेशिक रोजगार बोर्डको वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार यस्ता कामदारले अभिमुखीकरण तालिम केन्द्रमै नपुगी प्रमाणपत्र लिने गरेका छन्।
नौ घण्टा प्रारम्भिक भाषा कक्षा र प्रत्येक दिन तीन घण्टाका दरले नौ घण्टा वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरणसहित गन्तव्य देशको भूगोल, ट्राफिक व्यवस्था, रोजगारी, धर्म, संस्कृति र सम्बन्धित देशको सामाजिक मूल्यमान्यताबारे सामान्य जानकारी लिनुपर्ने बोर्डले जनाएको छ। उनीहरूलाई हवाईजहाजमा सिटबेल्ट बाँध्नेदेखि रोजगारदाता देशको भाषा, संस्कृति, रोजगारीको प्रक्रिया, सुरक्षा, प्रहरी नियम, मानसिक स्वास्थ्यको अवस्था, रोजगारदाता देशको हावापानी, कानुनी विषय, प्राथमिक उपचार र रोजगारसम्बन्धी सामान्य जानकारी हुनैपर्छ।
बोर्ड सचिवालयका प्रवक्ता टीकाराम ढकाल नयाँ व्यवस्थाअनुसार तालिम सञ्चालन अवधि दैनिक ६ कार्य घण्टाका दरले लगातार तीन दिन (१८) घण्टाको हुने बताउँछन्। यस्तो तालिम भिसा लागेपछि लिनुपर्नेछ। वैदेशिक रोजगार अभिमुखीकरण प्रदायक संस्थाले सात सय रुपैयाँले अभिमुखीकरण तालिम सञ्जालन गर्न नसकिने गुनासो गरेपछि शुल्क बढाएको ढकालले जानकारी दिए।
कामदारले तीन दिनको अभिमुखीकरण तालिम लिएपछि डिजिटल प्रणालीमार्फत परीक्षामा सहभागी हुनुपर्नेछ। अनलाइन परीक्षा अनिवार्य गरिएको छ। परीक्षामा कम्तीमा ५० अंक ल्याउनुपर्ने व्यवस्था रहेको ढकालले जानकारी दिए। परीक्षासम्बन्धी व्यवस्थापन विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध भई वैदेशिक रोजगार अभिमुखीकरण महासंघमार्फत व्यवस्थापन गरिनेछ।
एक सय ५० वटाभन्दा बढी अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारले तालिम लिँदै आएको बोर्डको तथ्यांक छ।
वैदेशिक रोजगारविज्ञ मधुविशाल पण्डित सरकारले हचुवाका भरमा कार्यविधि संशोधन गरेर कामदारलाई दु:ख दिन खोजेको आरोप लगाउँछन्। उनका अनुसार सरकारले बिनाअध्ययन कार्यविधि संशोधन गरेको हो। उनले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारले दुई दिनको तालिम पनि लिन नसकेका बेला मन्त्रालयले भने तालिम अवधि बढाएर तीन दिन पुर्याएको छ। यो कामदारलाई दु:ख दिनका लागि ल्याइएको प्रावधान हो।’
अभिमुखीकरण परीक्षा सञ्चालन गर्नुअघि तालिम केन्द्र, तालिम र कति कामदार तालिम लिएर जान्छन् भने अध्ययन गर्नुपर्ने उनको सुझाव छ। हाल वैदेशिक रोजगारीमा १ हजार ७ कामदार दैनिक गइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। विदेशी कामदारमध्ये दैनिक २ देखि ३ सयले मात्र अभिमुखीकरण तालिम लिने गरेको बोर्डकै वार्षिक प्रतिवेदनमा भनिएको छ। कामदारहरू भने अहिले दिइँदै आएको तालिम त्यति प्रभावकारी नभएको बताउँछन्। तालिमको विद्यमान प्रवाधानमा कामदारको चासो नरहेका बेला अनिवार्य रूपमा परीक्षा दिने व्यवस्था जबर्जस्ती गर्न खोजिएको टिप्पणी उनीहरूको छ।
वैदेशिक रोजगारीमा ९० प्रतिशत अदक्ष कामदार पठाउनुपर्ने बाध्यता रहेको म्यानपावर व्यवसायी बताउँछन्। सरकारी तथ्यांकमा भने १५ प्रतिशत दक्ष र ५ प्रतिशत उच्च दक्ष कामदार वैदेशिक रोजगारीमा गइरहेको उल्लेख छ।




