समयको माग र प्रविधिको विकाससँगसँगै मानवीय आवश्यकता बढिरहेका छन्। त्यसैले भनिन्छ आवश्यकता नै आविष्काररको जननी हो। साँच्चै आज संसारमा जति नयाँ नयाँ प्रविधिको आविष्कार भएका छन् त्यति नै जटिलता थपिएका छन्। प्रविधिले मानिसलाई दिनानुदिन आधुनिकतातिर मोडिरहेकाले मानिसको जीवनशैलीमा हेरफेर आइरहेको छ।
हामी मानिस साथै सम्पूर्ण जीवजन्तु प्रकृतिका सन्तान हौँ। हाम्रो शरीर अग्नि, वायु, आकाश, पृथ्वी, जल आदि पाँच तत्त्वबाट निर्मित छ। जतिसुकै विज्ञानले फड्को मारे पनि हाम्रो शरीर त्यही पञ्चतत्त्वमा आश्रित हुनाले प्रकृतिले प्रदत्त गरेका कुरालाई चटक्कै त्यागेर आधुनिकतातिर मात्रै हिँड्न सकिँदैन। विज्ञानका यी आविष्कारहरूले मानव जीवनमा सकारात्मक र नकारात्मक दुवै असर पारिरहेका छन्।विज्ञानको चमत्कारी परिवर्तनको होडबाजीले विलासिता बढाएको छ भने अर्कोतिर नयाँनयाँ मेसिन नयाँनयाँ औषधि त्यही अनुपातमा डाक्टरहरूको विकास तीव्र गतिमा गरिरहेको देखिन्छ तथापि फेरि त्यही अनुपातमा नयाँनयाँ रोग पनि देखा परिरहेका छन्।
आज प्रत्येक घरघरमा प्रत्येक सदस्यहरू कुनै न कुनै रोगबाट ग्रसित र पीडित छन्। शारीरिक होस् या मानसिक जुनसुकै रूपबाट ग्रसित छन्। प्रकृतिले दिएको शरीरमा सानोतिनो गडबडी आउनेबित्तिकै हामीलाई असजिलो हुनु, बेचैन हुनु, विचलित हुनु, कतै दुख्नु, छटपटी हुनु सबै रोग हुन्। वैज्ञानिक चिकित्सा पद्धतिले सबै प्रकारका रोगका औषधिको आविष्कार त गरेको छ तर पनि ती औषधि एकातिर हाम्रो शरीरको बनावट र प्राकृतिक तत्त्वभन्दा चिल्ला, राम्रा र शरीरलाई प्रतिकूल असर पुर्याउने खालका छन् भने अर्कोतिर हाम्रो आर्थिक क्षमता र हैसियतभन्दा माथिका छन्।
निमुखा र गरिबले औषधि उपचार अभावमा जीवन गुमाउनुपरेको छ।उपचार अभावमा पूरा बाँच्न वञ्चित भई पृथ्वीकै गर्भमा विलीन हुनुपर्ने बाध्यात्मक अवस्था छ।
मर्नु त एक दिन पर्छ नै तर रोगले छटपटिँदै मृत्युवरण गर्नु ज्यादै दुःखदायी छ। मानव स्वस्थ र सबल भएमात्र प्रविधिसँग हातेमालो गर्न सक्छ। रोगले ग्रसित मान्छे सबै कुराबाट वञ्चित हुनुपर्छ। यस्तो अवस्थामा थोरै सजगता र सावधानी अपनाउन सकियो भने सानातिना अप्ठ्यारा र सानातिना रोगबाट बच्न सकिन्छ। रोग लाग्नुभन्दा अगाडि सचेत हुनुपर्ने र रोग लागिसकेपछि पनि समयमै सही उपचार गर्न जानेमा जीवन सहज हुनेछ।
समस्यैसमस्याले जेलिएको हाम्रो दिनचर्यामा केही सुधार गर्न सके र हाम्रो आचरणमा केही फेरबदल गर्न सके अवश्य स्वस्थ जीवन जिउन मद्दत पुग्नेछ। बिहानको समयमा योग गर्ने, सन्तुलित आहार गर्ने, प्रशस्त पानी पिउने, कम्तीमा छ घण्टा सुत्ने, घाम ताप्ने गर्न स्वस्थ भई बाँच्ने चाहना धेरै हदसम्म पूरा हुनेछ।
सानातिना शारीरिक समस्या रुघाखोकी, पिनास, अपच, दुखाइ, रक्तचाप जस्ता रोगबाट ग्रसित भएर आफ्नो दैनिकीमा निरस भई डिप्रेसन, एनजाइटिक जस्ता मानसिक रोगबाट मुक्त हुन नियमित योगाभ्यास गर्नुपर्छ। भान्सा घरमा उपयोग गर्ने साधारण मसला जस्तै- ज्वानो, मेथी, लसुन, अदुवा, बेसार, खुर्सानी, टिम्बुरजस्ता चिजबिजलाई सही रुपमा प्रयोग गर्न जान्यौँ भने धेरै थरीका रोगबाट उन्मुक्ति पाइने कुरा हाम्रा शास्त्रमा अध्ययन गर्न पाइन्छ। त्यस्तै आयुर्वेदिक चिकित्सा पद्धतिमा र सन्त योगी साधकहरुका लेखरचनामा पनि यस्ता कुरा पढ्न पाइन्छ।
हेर्दा सामान्य लाग्ने रोगहरुले मानिसको दिनचर्यामा जटिलता थपिरहेको हुन्छ। यस्ता सामान्य भनिने रोगहरु हेलचेक्र्याइँकै कारण मानिसको मृत्युको कारण बन्न सक्छ। त्यसैले रोगलाई सानो ठूलो सामान्य या जटिल नभनी बेलैमा उपचारको व्यवस्था गर्नु बुद्धिमानी हुन्छ। हाम्रो दैनिक जीवनमा भान्सामा प्रयोग गर्दै आएका कतिपय वस्तु औषधीय गुणले भरिपूर्ण छन् मात्र ती वस्तुलाई कसरी प्रयोगमा ल्याउँछौँ भन्ने मात्र हो।
प्रकृतिले हाम्रो भान्सा घरलाई औषधिकै खजानाले भरिदिएको छ। जसलाई हामीले सही रूपमा प्रयोग गरेर आफू र आफ्ना परिवारलाई स्वस्थ राख्न सक्छौँ। परिवारको राम्रो हेरचाह र उपचार गर्न हाम्रो भान्सामा उपलब्ध हुने अन्न ,गेडागुडी, दाल, सागसब्जी, फलफुल आदि मरमसला जुन हामी कतिपय स्वादका लागि खान्छौँ, जुन आफैँमा केही न केही औषधीय गुण र पौष्टिक तत्त्वले भरिएका छन्। यस्ता घरेलु चिजबिजलाई सही रुपमा प्रयोग गर्न जान्यौँ भने यसबाट हामीलाई धेरै नै फाइदा पुग्छ।
भान्सामा पाइने यिनै खजानामध्येका दुई चार वटा वस्तु जो औषधीय गुणले भरिपूर्ण छन् ती वस्तुको प्रयोग कस्ता रोगका लागि कसरी र कति मात्रामा प्रयोग गर्ने सम्बन्धमा छोटकरीमा केही उल्लेख गर्ने प्रयास गरेकी छु-
ज्वानो : ज्वानो शुष्क प्रकृतिको तथा पाचक शक्तिले भरीपूर्ण अति उपयोगी मसलाको प्रजाति हो। अलिकति काँचो ज्वानो मुखमा हाली चपाएर मसिनो पारी तातो पानीले निल्नाले खसखस गरी घाँटी खसखसाएर लाग्ने खोकी ठिक हुन्छ। एक ग्राम नुन र दुई ग्राम ज्वानो तातो पानीसँग खानाले पेटमा हुने सबै किसिमका दुखाइ कम हुन्छ र पाचन क्रिया पनि बलियो हुन्छ।
छ ग्राम जति कालो नुनमा ज्वानो मिसाएर तातो पानीसँग खानाले पेटमा भरिएको ग्यास कम हुन्छ। ज्वानो अत्यन्तै प्रभावकारी छ। यस्ता औषधीय गुणले भरिपूर्ण ज्वानो हाम्रा सुत्केरी महिलाका लागि त झन् अति नै उत्तम औषधि भएको कुरा सर्वविदितै छ।
मरिच : मरिच औषधीय गुणले युक्त मसला हो। यसको प्रयोगले विभिन्न रोगमा लाभ हुन्छ। चिया-कफीमा मरिचको प्रयोगले स्वाद मिठो हुनुका साथै औषधिको पनि काम गर्छ। सुख्खा खोकी लागेमा मरिच र मिश्री मुखमा राखेर चुसिरहनाले घाँटी खुली आराम पाइन्छ। त्यस्तै तीस ग्राम नौनी घिउमा सातआठ ओटा मरिच र सख्खर मिसाई नित्य चाट्नाले स्मरण शक्ति बढ्नुको साथै शरीरको कमजोरी पनि टाढा भाग्छ।
दसवटा जति मरिचको दानामा पन्ध्र सोह्रवटा जति तुलसीको पात पिसेर महसँग फिटेर नित्य दुई तीन पटक चाट्नाले घाँटीमा जम्मा भएको कफ बाहिर निस्कन्छ र घाँटी सफा हुन्छ। एक ग्राम जति मरिच पिसेर दही वा मोहीसँग खानाले पेटमा भएका जुका मर्छ। रुघाखोकी लाग्दा तातोपानीमा मरिचको धुलो मिसाएर पिउनाले लाभ हुन्छ।
बेसार : बेसार हाम्रो भान्साको अभिन्न तत्त्व हो। जतिसुकै मिठो तरकारी पकाए पनि बेसार हालेको छैन भने राम्रो देखिँदैन। बेसारमा रङमात्र होइन हाम्रो शरीरका लागि चाहिने औषधि धेरै पाइन्छ।
शरीरमा कतै चोटपटक लागेमा एक चम्चा बेसारमा तातो दूध मिसाई पिउनाले तत्काल दुखाइ कम हुन्छ। शरीरमा टुटफुट भई दुखेमा पनि यसले सन्चो गर्छ। कतै घाउचोट लागेर रगत बगेको छ भने त्यो ठाउँमा बेसारको लेप लगाइदिएमा रगत बग्न रोकिन्छ। दाँत दुखेको ठाउँमा बेसार र हिङ पिसेर जरामा लगाइदिनाले दाँत दुखेको ठिक हुन्छ। रुघाखोकी लागेका बेला बेसारपानी पकाएर खाने हाम्रो पुरानो चलन छ। बेसार, अदुवा र तुलसीको पात मज्जाले पकाएर पिउनाले रुघाखोकी कम हुन्छ।
आलस : प्रायजसो सबैको भान्सामा पाइने औषधीय गुणले भरिपूर्ण आलस हाम्रो जीवनमा धेरै उपयोगी सिद्ध भएको छ। हामी धेरैजसोलाई कब्जियतको समस्या छ। श्वासप्रश्वासको समस्या र कब्जियतको समस्याले अन्य धेरै किसिमका रोग उत्पन्न हुने गर्दछन्।हामीले फेर्ने सासमा पनि धेरै रोगको उपचार लुकेको छ। ठिक तरिकाले सास लिने छोड्ने गर्नाले भित्रको विकार निस्कन मद्दत पुग्छ।
त्यस्तै कब्जियत हुँदा पनि टाउको दुख्ने, पेट फुल्ने, जिउ भारी हुने जस्ता अनेक रोगले सताउने गर्दछ। त्यसैले यी सबै समस्याको समाधान गर्न पहिला कब्जियतको उपचार गर्नुपर्दछ। कब्जियत हटाउनका लागि सरल औषधि आलस हो।
आलसलाई राम्रोसँग केलाएर सुकाउनुपर्छ। आलसलाई पिसेर धुलो पार्छुपर्छ। बिहान खाली पेटमा एक चम्चा धुलो आलस मन तातो पानीसँग नियमित खाने हो भने कब्जियतबाट सजिलै छुटकारा पाउन सकिन्छ।आलसको धुलो अचारका लागि पनि उपयुक्त हुन्छ।
करेला : करेला प्रायः सबैको भान्सामा पाक्ने औषधीय गुणले भरिपूर्ण तरकारी हो। करेला धेरैलाई मन पर्छ भने कतिपयलाई मन नपर्न पनि सक्छ। तर करेलामा धेरै गुणकारी तत्त्व पाइन्छ। त्यसैले यसलाई दैनिक सेवन गर्नु लाभदायी हुन्छ। करेलालाई सुकाएर धुलो बनाएर पनि खान सकिन्छ। करेलालाई मज्जाले सुकाउने अनि कुटेर धुलो बनाई मन तातो पानीसँग दिनको एक चम्चाका दरले नियमित पिउने हो भने आउँ, अतिसार, रक्त विकार, महिनावारी गडबडी, उच्च रक्तचाप मोटोपना, मधुमेह र छालासम्बन्धी धेरै रोग निको हुन्छ। साथै हरियो करेलाको जुस पनि खान सकिन्छ। करेलाको जुसले रगत शुद्ध बनाउने काम गर्छ।
[बराल जीवन विज्ञान प्रशिक्षक हुन्।]