कहिले सेलाउलान् युद्धका घाउहरू?

सुस्मिता बजगाईं ६ मंसिर २०८० १९:०१ | Wednesday, November 22, 2023
कहिले सेलाउलान् युद्धका घाउहरू?

काठमाडौँ- मंसिर ५ गते नेपालमा विस्तृत शान्ति सम्झौता भएको पनि १७ वर्ष पूरा भयो। २०६३ मंसिर ५ मा नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो। सशस्त्र द्वन्द्वको अन्त्य गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।

तर १० वर्षसम्म नेपालमा भएको सशस्त्र द्वन्द्वका क्रममा विभिन्न घटनाबाट पीडित भएकाहरू अझै पनि न्यायकै आशामा भौँतारिरहेका छन्। संक्रमणकालीन न्यायको विषय अझै टुंगोमा नपुग्दा पीडितहरूको पीडा उस्तै छ। उनीहरूको घाउहरू कहिले सेलाउलान्? नाटक ‘युद्धका घाउहरू २.०’ ले यसै भनिरहेको छ।

यसै सन्दर्भमा सशस्त्र द्वन्द्वकालमा भएको विभिन्न घटनामा आधारित नाटक ‘युद्धका घाउहरू २.०’ बुधबार दिउँसो थापागाउँस्थित मण्डला नाटकघरमा पुनः मञ्चन गरिएको छ। नाटकको लेखन तथा निर्देशन अञ्जान प्रदीपले गरेका छन्।

उनीहरूका घाउहरू अझै पुरिएका छैनन् भन्ने नाटकले देखाउन खोजेको छ। नाटकमा युद्धलाई हावाहुरीसँग तुलना गरेर देखाउन खोजिएको छ। आँधीहुरीले घाँस काट्न जान नसकेर गाईवस्तु फुकाएर लखेटेको, एक्लै खेलिरहेकी बालिकाको अस्मिता लुटिएको, आरनमा हतियार बनाउँदै गरेको व्यक्ति र शिक्षकलाई दिएको यातनालगायतका दृश्यले दर्शकलाई भावुक बनाउँछ।

सशस्त्र द्वन्द्वकालमा भएको विभिन्न घटनामा आधारित नाटक मण्डला ड्रामा स्कुलबाट दीक्षित पहिलो ब्याचका विद्यार्थीहरूले तयार पारेका हुन्। नाटकमा आदित्य मिश्रा, आकाश नेपाली, अनिल कुर्मी, निरज बाबु, सञ्जय विश्वकर्मा, सरिता कठायत, सुमित्रा पहिम र सुस्मिता पोख्रेलको अभिनय छ।

यो नाटक २४ जुलाई २०२३ मा एकाडेमिक थेस्पियन्स थिएटर फेस्टिभल कोलम्बोमा समेत मञ्चन गरिएको थियो। नाटक यसअघि गत साउनमा मण्डलामै मञ्चन गरिएको थियो।

प्रकाशित: ६ मंसिर २०८० १९:०१ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast