‘प्रिमियर लिगमा साना क्लबका प्रशिक्षकको कुरा सुनिँदैन’

हिमाल प्रेस २५ कार्तिक २०८० १६:३५
4
SHARES
‘प्रिमियर लिगमा साना क्लबका प्रशिक्षकको कुरा सुनिँदैन’

काठमाडौँ- वेस्टह्याम युनाइटेडका प्रशिक्षक डेभिड मोयसले इंग्लिस प्रिमियर लिगमा भीएआरको आलोचना गर्ने वातावरण नभएको गुनासो गरेका छन्। भीएआरको आलोचना वास्ता नगरिने, वास्ता गरिए प्रशिक्षकलाई जरिबाना गरिने उनको भनाइ छ।

गत साता आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भीएआरको आलोचना गरेका थिए। न्युकासल युनाइटेडका एन्थोनी गोर्डनले गरेको गोललाई मान्यता दिएर भीएआरले गल्ती गरेको आर्टेटाको जिकिर थियो।

मोयस भने आर्टेटा जस्ता ठूला क्लबका प्रशिक्षकहरुले गरेको आलोचनाले मात्र स्थान पाउने बताउँछन्। ठूला चार वा ६ क्लबबाहेकका प्रशिक्षकको भने कुरै विरलै सुनिने उनको अनुभव छ।
‘भीएआरका कैयौँ पक्षबारे हाम्रो असन्तुष्टि छ। तर हामी यो विवादमुक्त रहोस् भन्ने चाहन्छौँ,’ मोयसले भनेका छन्, ‘यो सिजन दिइएका धेरै निर्णय चित्तबुझ्दो छैनन्। तर मेरो एकल असन्तुष्टि वा आलोचनाले केही हुनेवाला छैन।’

‘धेरैलाई लाग्छ भीएआरको खराब निर्णयका कारण ठूला क्लबलाई मात्र घाटा भएको छ। हामी जस्तो क्लबलाई पनि असर गरेको छ भनेर सोचिँदैन। त्यसकारण विवादित निर्णय साना क्लबको खेलमा भए वा साना क्लबको विपक्षमा भए, खासै चर्चा हुँदैन। चर्चा नभएको देख्दा हामी निरास छौँ। यसकारण अब त टिप्पणी पनि गर्न मन लाग्दैन,’ मोयसले थपे।

उता न्युकासलका प्रशिक्षक एडी हाउले आफ्नो टिमले गत शुक्रबारको हासिल गरेको जित भीएआरको निर्णयका कारण छायाँमा परेको बताए। सेन्ट जेम्स पार्कमा न्युकासल आर्सनललाई हराउँदै प्रिमियर लिगको छैटौँ स्थानमा उक्लिएको थियो।

‘त्यो खेलमा मुख्य हाइलाइट मेरो टिमले गरेको गोल थियो। मेरा लागि गोल नै महत्त्वपूर्ण हो। एउटा खेलाडीले गोल गरेपछि खुसीयाली पनि डराउँदै गर्नुपर्छ। कतै गोलले मान्यता नपाउने हो कि भन्ने त्रास हुन्छ,’ हाउ भन्छन्, ‘म के भन्छु भने जुनै खेल सकिएपछि चर्चा गोलको हुनुपर्छ। जित हारको हुनुपर्छ। तर यहाँ त चर्चा भीएआरको भइरहेको छ। प्रिमियर लिगमा यस्तो नराम्रो अभ्यास भइरहेको छ।’

प्रकाशित: २५ कार्तिक २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast