काठमाडौँ- एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्ने शैलीप्रति आपत्ति जनाएका छन्। आज (बुधबार) फेसबकमार्फत् धारणा सार्वजनिक गर्दै उनले सांसदहरूलाई दबाबमा राखेर दलको नेता छनोट गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई निर्विरोध चयन गरेको छ। सोही विषयमा आपत्ति जनाउँदै उनले लेखेका छन्, ‘केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन।’
दलको नेताका लागि इलामबाट निर्वाचित सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए। मनोनयनपत्र समेत लिइसकेका उनले प्रस्तावक समर्थक नपाएपछि बादल निर्विरोध निर्वाचित भएका हुन्। सुहाङले प्रस्तावक र समर्थक नपाउनुमा उनले नेतृत्वले सांसदलाई दबाबमा राखेर बादललाई निर्विरोध निर्वाचित गरेकोतर्फ संकेत गरेका हुन्।
उनले लेखेका छन्, ‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नुपर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको छ।’
फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले २५ सिट जितेको छ।





