संगीतमा वर्ष २०८२ : एआईको प्रभाव, लोकदोहोरी र फिल्मी गीत शीर्ष स्थानमा

सुस्मिता बजगाईं ३० चैत २०८२ १६:३३ | Monday, April 13, 2026
14
SHARES
संगीतमा वर्ष २०८२ : एआईको प्रभाव, लोकदोहोरी र फिल्मी गीत शीर्ष स्थानमा

काठमाडौँ- नेपाली संगीत क्षेत्रका लागि २०८२ साल निकै सक्रिय, विविधतापूर्ण र परिवर्तनशील रह्यो। लोकदोहोरी, आधुनिक, पप तथा संस्कृति झल्किने गीतहरूले दर्शक/श्रोतामाझ राम्रो प्रभाव छोड्न सफल भए।

एआईमार्फत गीत बनाउने नयाँ प्रविधिको विकासले गति लियो। साथै पुराना चर्चित गीतलाई एआई भर्सनमा सार्वजनिक गर्ने प्रवृत्ति मौलाइरहेको छ। यसैलाई कतिपय नेपालीले आम्दानीको स्रोत पनि बनाएका छन्।

गीतको भिडियोको गुणस्तरमा सुधार हुनुका साथै डिजिटल पहुँच टिकटकले गीतलाई छिटो लोकप्रिय बनाउन यस वर्ष पनि सघाएको देखिन्छ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि देशमा भएको सरकार परिवर्तन, प्रतिनिधिसभाको निर्वाचनले केही समय ‘गाउँ गाउँ बाट उठ’, ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’ जस्ता देशभक्ति गीतले चर्चा पाए। चुनाव थालनीसँगै पार्टी र व्यक्तिगत नाममा बनेका गीतले पनि केही स्थान पाए।

तथापि वर्षभरको तुलना गर्दा सामाजिक कथा, भावनात्मक सम्बन्ध, प्रेम र बिछोडका गीतहरूले श्रोताको मन जितेको छ। विशेषतः चर्चामा रहेको गीतहरू प्रायः लोकदोहोरी शैलीका छन्। फिल्मी गीतमा लोकदोहोरी प्रभाव बढेको छ, जुन गीत भ्युजका आधारमा चर्चित बनेका छन्। फिल्मकै तीन गीत छन् जो यस वर्ष शीर्ष १० मा पर्न सफल भएको छ।

समग्रमा यस वर्ष प्रशान्त शिवाकोटी, सुजन चापागाईं, अर्जुन सापकोटा, समीक्षा अधिकारी, प्रकाश दुतराज, सारिका घिमिरे, बालेन, कला लम्साल, आशीष अविरल, झुमा लिम्बूलगायत गायकगायिकाको गीतले अग्रता हासिल गरे।

टिकटक र युट्युबमा दैनिक दजनौँ गीत सार्वजनिक भइरहेका हुन्छन्। नयाँ वर्ष विशेषदेखि विभिन्न चाडपर्व र फिल्मी गीतसम्म वर्षमा हजारौँ गीत र म्युजिक भिडियो आउँछन् तर संख्यात्मक रूपमा यति नै भनेर मापन गर्ने तथ्यांक पाउन मुस्किल छ। तथापि भ्युजका आधारमा शीर्ष गीतहरूबारे केही आँकलन गर्न सकिन्छ।

अग्रस्थानमा ‘न्याउली बनैमा’, ‘काफ्ले’, ‘चाइनी जो जिन्दगानीमा’, ‘पुतली माया लाम्न हो’, ‘आन्टी लभर’, ‘छैन र माया’, ‘झलिको’ ‘जाने भए जाम माया’ बोलको गीत छन्।

यसबाहेक पनि ‘स्याउली बजारमा’, ‘गुन भुलेउ’, ‘पोखरा पृथ्वी चोकैमा’, ‘झ्याप्पै’, ‘अच्छा लेकिन लन्डनको’ जस्ता गीतले दुई करोडमाथि भ्युज कमाउन सफल भए। त्यस्तै ‘नत्र भने जिन्दगी व्यर्थ छ’, ‘मायालाई के दिउँ म बैना’ ‘बेला बितेसी’ ‘सुतेर उठेको पैसामा’, ‘म त नराउरी’, ‘राम साइली’ ‘लाउरेले लैन केरे’ लगायत गीतले करोड भ्युज पाए।

बालेन प्रधानमन्त्री भएपछिको दृश्य समेट्दै पुनः सार्वजनिक भएको गीत ‘जय महाकाली’ ले छोटो समयमै निकै चर्चा कमायो। त्यस्तै उनकै गीत ‘आम नेपाली बुबा’ ले पनि व्यापक चर्चा बटुल्यो तर १ करोड क्लबमा पुग्न सकेन।

गीतकाे  भ्युज र  कथावस्तुअनुसार वर्ष २०८२ का  शीर्ष १० गीत कस्ता छन् :

न्याउली बनैमा : यस वर्ष धेरै भ्युज कमाउन पहिलो गीत बनेको छ ‘न्याउली बनैमा’। यो गीतले ४ करोड ४७ लाख भ्युज कमाउन सफल भएको छ। गीत गत असोज ८ मा युट्युबमा सार्वजनिक भएको थियो।

लोकलयमा आधारित गीतमा प्रेम भाव व्यक्त गरिएको छ। गीतमा न्याउली चरालाई प्रतीक बनाएर प्रेमीप्रेमिकाको मनको भावना व्यक्त गरिएको छ। गीतमा ग्रामीण नेपाली जीवन, प्रकृति र प्रेमको गहिरो भावनालाई सरल शब्द प्रयोग गर्दै लोकलयमा प्रस्तुत गरिएको छ। जुन गीत दर्शकले अत्याधिक रुचाएका छन्।

गीत प्रशान्त शिवाकोटी र शान्तिश्री परियारले गाएका छन्। गीत गायक शिवाकोटीले नै लेखेका हुन् भने संगीत पनि उनकै छ।

यो गीत फिल्मको हो। फिल्म ‘वरिष्ठ बलराम’ मा समावेश गरिएको छ। गीतमा फिल्मका मुख्य कलाकार विजय बराल र नव कलाकार समृद्धि अर्यालको रोमान्टिक अभिनय छ। गीत वर्षभरिकै धेरै भ्युज कमाउनेको पहिलो नम्बरमा पर्यो तर फिल्मले भने अपेक्षाकृत व्यापार गर्न सकेन। फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन्।

काफ्ले : दोस्रो नम्बरमा ‘काफ्ले’ बोलको गीत परेको छ। गीतले ४ करोड ३८ लाख भ्युज बटुल्दै दोस्रो नम्बरमा परेको हो। यो गीत गत वैशाख २ गते युट्युबमा सार्वजनिक भएको थियो।

यो गीत पनि फिल्मको हो। गीत नवीन चौहानले निर्देशन गरेको फिल्म ‘ऊनको स्वीटर’ मा समावेश गरिएको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपीन कार्की र मिरुना मगरको अभिनय पनि दर्शकले निकै रुचाए। काफ्ले पात्रलाई केन्द्रमा राखेर गीतले उनीहरूको सम्बन्ध र माया र केही ठड्यौलीपनलाई प्रस्तुत गरेको छ।

गीतका गायकगायिका सुजन चापागाईं र झुमा लिम्बू हुन्। गीतबाट गायिका लिम्बू पनि चर्चाका आइन्। युवराज काप्लेको शब्द रहेको गीत गायिका लिम्बूले नै संगीत भरेकी हुन्।

चाइनी जो जिन्दगानीमा : यस वर्ष सर्वाधिक कमाउने गीतको तेस्रो नम्बरमा पनि फिल्मकै गीत परेको छ। ‘फिल्म ऊनको स्वीटर’ कै अर्को गीत ‘चाइनो जो जिन्दगानीमा’ तेस्रो स्थानमा छ। गीतले ३ करोड ६१ लाख भ्युज बटुलिसकेको छ।

यो गीत पनि लोकशैलीमा तयार पारिएको छ। गीतमा गायक सुजन चापागाईं र गायिका सलिना विकको स्वर छ। हर्क साउदको शब्द रहेको गीतमा सुजनले नै संगीत भरेका हुन्। गीतको भिडियोमा फिल्मका कलाकार एलेक्स पारस र अभिनेत्री परीक्षा लिम्बूको रोमान्टिक नृत्य प्रस्तुत गरिएको छ।

निर्माण टिमले फिल्म ‘दर्पण छाया’ फिल्मका जोडी दिलिप रायमाझी र निरुता सिंहलाई सर्मपित गर्दै गीतको भिडियो ल्याएको बताएको थियो। गीत फिल्म रिलिजपछि गत वैशाख २८ मा युट्युबमा सार्वजनिक गरिएको थियो। जुन गीत दर्शकले निकै रुचाएका थिए।

पुतली माया लाम्न हो : यस वर्ष सर्वाधिक हेरिने गीतको चौथो नम्बरमा ‘पुतली माया लाम्न हो’ परेको छ। गीतले ३ करोड ५७ लाख भ्युज बटुलिसकेको छ। गीत गत जेठ २३ गते युट्युबमा अपलोड गरिएको थियो। लोकलयमा आधारित संगीत र सरल शब्दका कारण गीत दर्शक/श्रोतालमाझ चर्चित बन्यो। गीतमा प्रेमी/प्रेमिकाबीचको आकर्षक र स्नेहलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ।

भिष्मराज फुलाराको शब्द रहेको गीतमा राजेन्द्र बजगाईंले संगीत भरेका छन्। गीत गायक तथा संगीतकार आशिष अविरल र गायिका एलिना चौहानले गाएका छन्। सुनिल विकले निर्देशन गरेको गीतको भिडियोमा प्रदीप लामा र जुना सुन्दासले अभिनय गरेका छन्। भिडियो सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्।

आन्टी लभर : रोमान्टिक गीत ‘आन्टी लभर’ यस वर्ष चर्चितको पाँचौं नम्बरमा छ। गीतले ३ करोड ४३ लाख भ्युज बटुल्दै पाँचौ नम्बरमा परेको हो। गीतले असामान्य प्रेम कथालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ। समाजमा फरक किसिमका सम्बन्ध र त्यसप्रतिको दृष्टिकोणलाई केही हास्य र रमाइलो मिश्रणमार्फत गीतले नयाँ शैली प्रदान गरेको छ। जसलाई दर्शकले निकै रुचाए। टिकटक र रिल्समा गीत निकै भाइरल पनि बन्यो।

गीत आशिष अविरल र कला लम्सालले गाएका छन्। रमेश परियारको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। मौसम हिमालीको निर्देशन र कोरियोग्राफीमा बनेको गीतको भिडियोमा गायिका लम्साल र मोडल बद्रीप्रसाद तिवारीले अभिनय गरेका छन्। यही गीतबाट गायिका लम्साल पनि चर्चामा आइन्। गीत कलाकै अफियिल युट्युब च्यानलबाट साउन ५ मा सार्वजनिक गरिएको थियो।

छैन र माया : गायक प्रकाश दुतराजको शब्दर संगीत रहेको गीत ‘छैन र माया’ यस वर्ष निकै चर्चामा रह्यो। गीत सर्वाधिक हेरिनेको छैटौं नम्बरमा परेको छ। यो गीत गत असोज ९ गते प्रकाशले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए।

गीतमा मुस्ताङको तेताङ गाउँमा बस्ने प्रेमी र प्रेमिकाबीचको प्रेम भाव प्रस्तुत गरेको छ। भिडियोमा भने उक्त गाउँमा आजभन्दा करिब ३० वर्ष पहिलेको जनजीवनलाई देखाइएको छ। उतिबेला त्याहाँका स्थानियहरूले आफूले उत्पादन गरेको स्याउ, आलु, फापर, ऊनलगायत सामग्रीहरू गाउँमै र तिब्बतमा व्यापार गर्ने गरेको दृश्य समेट्ने प्रयास गरिएको छ। उनीहरूको वेषभूषदेखि रहनसहन पनि उस्तै देखाउने प्रयास गरिएको छ। साथै मुस्ताङको विविध कला, संस्कृति, मनमोहक प्राकृतिक सौन्दर्यलाई सुन्दर रुपमा कैद गरिएको छ।

फिल्मी शैलीमा तयारी पारिएको गीतको भिडियो सार्वजनिकसँगै टिकटक र रिल्समार्फत गीत निकै चर्चित बन्यो। अहिलेसम्म ३ करोड १० लाख दर्शकले गीत हेरिसकेका छन्। गीतमा गायक प्रकाशसँगै गायिका मेलिना राईको स्वर छ। भिडियोमा भने प्रकाश र अञ्जली जिसीले अभिनय गरेका छन्। यस वर्ष प्रकाशले ‘राम साइली’ बोलको गीत पनि ल्याएका थिए। जुन गीतले १ करोडमाथि भ्युज कमाएको छ।

झलिको : गीत ‘झलिको’ यस वर्ष निकै चर्चामा रह्यो। गीत म्युजिकल फिल्म शैलीमा बनेको छ। घरपरिवार छोडेर विदेसिएका नेपालीहरू बाकसमा फर्किनुपरेको कथा गीतको भिडियोमा समेटिएको छ। यही कथालाई गीतमा प्रेमिल भावनासँग जोडेर प्रस्तुत गरिएको छ। गीतकोे विभिन्न टुक्कामा फेसबुक रिल्स, टिकटकमार्फत चर्चित बन्यो।

त्यसैले गीत चर्चितको सातौं नम्बरमा पर्न सफल बन्यो। यो गीत कात्तिक २५ मा युट्युबमा अपलोड गरिएको थियो। गीतले २ करोड ८८ लाख भ्युज बटुलेको छ।

यही गीतबाट लोकगायक अर्जुन सापकोटाले चर्चा कमाए। अर्जुन, समीक्षा अधिकारी र मेलिना राईको स्वर रहेको गीत सन्तोष सापकोटाले लेखेका हुन्। कृष्ण रेउलेको थेगो, प्रदीप रोदनको गजल रहेको गीतमा गायक सापकोटाले संगीत भरेका छन्। गीतको भिडियोमा पनि गायक सापकोटासहित कुमुम भण्डारी, शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटालगायतको अभिनय छ।

जाने भए जाम माया : यस वर्ष भाइरल बनेको अर्को गीत हो दुर्गेश थापाको ‘जाने भए जाम माया’। गीत निकै भाइरल बन्यो। गीत धान रोप्ने समयलाई लक्षित गर्दै २५ असारमा सार्वजनिक गरिएको थियो।भ्युजको आधारमा वर्षकै चर्चित ८ मा पर्न सफल बनेको छ। गीतले २ करोड ७९ लाख भ्युज बटुलिसकेको छ।

गीत दुर्गेश, सिसन बाँनिया र अल्लाजी गेरोले गाएका छन्। गीत दुर्गेशकै शब्द, संगीत र संगीत संयोजनमा बनेको छ। गीतमा दुर्गेश र सिसनसँगै गुराँस नानीको सहकार्यले निकै चर्चा पायो।

सिसन भ्लगर हुन् भने गुराँस नानी टिकटकी भाइरल। सामाजिक सञ्जालमा ट्रोल बन्दै आएकी गुराँसलाई दुर्गेशले गीतको भिडियो खेल्न प्रताव गरेसँगै गीतले चर्चा बटुलिरहेको थियो। गीतको भिडियोमा दुर्गेश, सिसन, गुराँस नानी, लासो पेमा र अल्हाजी गेरोले नृत्य गरेका छन्। गीतको भिडियो शिव विकको कोरियोग्राफी र निर्देशनमा बनेको छ।

डोको बुन्ने : फिल्म ‘कुमारी’ मा समावेश गीत ‘डोको बुन्ने’ पनि यस वर्ष निकै चर्चित बन्यो। गीत गत पुस १६ गते केन्द्र मोसन पिक्चर्सबाट युट्युबमा सार्वजनिक गरिएको थियो।
प्रेमिल भाव बोकेको गीतले चैत ३० सम्म २ करोड ६२ लाख भ्युज बटुलेको छ। योसँगै गीत चर्चित ९ मा परेको छ।

केहरसिंह लिम्बूको स्वर रहेको गीतमा सागर लामिछाने मगर र सुमन तामाङले लेखेका हुन्। गीतमा गायक लिम्बू र गीतकार सुमनले संगीत भरेका छन्। दिनेश राउतको निर्देशनमा बनेको फिल्मले व्यापारमा राम्रो कमाउन नसके पनि यो गीत निकै चर्चित बन्यो।

शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अविशेक खड्का र आकृतिराज भण्डारीले अभिनय गरेका छन्। उनीहरूकै प्रेम गीतको भिडियोमा प्रस्तुत गरिएको छ।

शिरमा शिरबन्दी : यस वर्ष सर्वाधिक भ्युज कमाउने गीतको दसौं नम्बरमा ‘शिरमा शिरबन्दी’ बोलको गीत परेको छ। गीतले २ करोड ५७ लाख भ्युज कमाइसकेको छ।

प्रेम कथामा बनेको गीतमा प्रेमीप्रेमिकाबीचको भावनात्मक सम्बन्ध र आकर्षकलाई सरल भाषामा प्रस्तुत गरिएको छ। गीतमा गायिका समीक्षा अधिकारी र गायक सुवास खत्रीको स्वर छ। सुजित खत्रीको शब्द र संगीत रहेको गीतमा आकाश नेपालीले संगीत संयोजन गरेका छन्।

विशाल घिमिरेको कथा र निर्देशनमा बनेको गीतको भिडियोमा गायिका समीक्षा र प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय छ। उनीहरू प्रेमीप्रेमिकाको भूमिकामा देखिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast