काठमाडौँ- यही चैत १९ देखि २३ सम्म हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ। निफका लागि विदेशी अतिथिहरू आउने क्रम चलिरहेको अध्यक्ष केपी पाठकले बताए।
अध्यक्ष पाठकका अनुसार निफको उद्घाटन समारोहका विशेष अतिथि बलिउडका प्रसिद्ध निर्देशक रमेश सिप्पी १८ गते साँझ ६ बजे नेपाल आइपुग्ने छन्। उनीसहित कलाकार किरण जुनेजा र नेपाली मुलका भारतीय फिल्म निर्माता निलकण्ठ रेग्मी पनि निफमा सहभागी हुनेछन्।
यसपटक ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ महोत्सव ‘फ्युचर फर्वाड’ थिममा हुने जनाइएको छ।
चैत १९ गते सिभिल मलमा हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत उपस्थित हुनेछिन्।
निफको दोस्रो दिन २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक रमेश सिप्पी र महानायक राजेश हमालबीच संवाद कार्यक्रम हुनेछ। ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवादमा उनीहरूले आफ्नो व्यक्तिगत अनुभव, फिल्म क्षेत्रको यात्रा र फिल्मको भविष्य केन्द्रित कुराकानी गर्नेछन्।

त्यस्तै, युवा मेकरहरूलाई लक्षित गरी पाँच दिने एआई फिल्म वर्कसप पनि राखिएको छ। निफ अवधिभर यो जारी रहनेछ। निफका संयोजक शिव पुरी भन्छन्, ‘यो फिल्म निर्माणमा एआईको प्रयोगबारे वर्कसप हो।’
यस वर्कसपमा नेपाली विज्ञहरूले एआई/डिजिटल कन्टेन्टबारे कानुनी जटिलता र प्रतिलिपि अधिकारबारे पनि वर्कसप दिनेछन्। संयोजक पुरीले भने, ‘एआई प्रयोग गरी बनाएका सामाग्रीको कानुनी पाटोबारे पनि वर्कसपमा छलफल हुनेछ।’
त्यस्तै, निर्माताका खोजीमा रहेका लेखकहरूलाई उनीहरूको पहुँचमा पुर्याउने उद्देश्यले ‘फिचर पिच’ कार्यक्रम पनि राखिएको छ। जहाँ लेखकहरूले निर्मातालाई आफ्नो कथा सुनाउन पाउनेछन्।
यस संस्करणमा ४० देशका ८८ फिल्मले प्रतिस्पर्धामा छ। ६ वटा चिनियाँ र ४ वटा रुसी प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ।

रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिनेछ। अन्य दिन पनि रसियन हाउसमा प्रदर्शन हुने फिल्महरू निःशुल्क हेर्न पाइनेछ।
यसपटक निफमा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ। जस अन्तर्गत ६ वटा चिनियाँ फिल्म र वृत्तचित्र प्रदर्शन गरिनेछ। ती फिल्महरू पर्यटन बोर्ड र छाया सेन्टरमा निःशुल्क हेर्न पाइनेछ।
प्रतिस्पर्धमा रहेका मध्येका फिल्महरू सिभिल मल र छाया सेन्टरमा भने सःशुल्क प्रदर्शन हुनेछ। निफअन्तर्गत १० वटा छलफल कार्यकम राखिएको छ। जसमा विभिन्न देशका मेकरहरूले आफ्नो अनुभव सेयर गर्नेछन्।




