नमुना विद्यालयबारे शिक्षा मन्त्रालयले के भन्यो?

हिमाल प्रेस २० चैत २०८२ ६:३१ | Friday, April 3, 2026
48
SHARES
नमुना विद्यालयबारे शिक्षा मन्त्रालयले के भन्यो?

काठमाडौँ- ‘अटिजम र मानवता-हरेक जीवन मूल्यवान् छ’ भन्ने नारासहित मनाइएको विश्व अटिजम सचेतना दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सातवटै प्रदेशमा एक एक वटा अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ।

बिहीबार शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षता तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको उपस्थितिमा सम्पन्न कार्यक्रममा दुवै मन्त्रालयका सचिवहरू, सहरी विकास तथा भवन निर्माण विभागका पदाधिकारी, विज्ञ तथा अटिजम अभियन्ताहरूको सहभागिताबाट उक्त निर्णय गरिएको हो।

कार्यक्रममा अपाङ्गताको प्रकृति अनुसार सञ्चालन हुँदै आएका विशेष आवासीय विद्यालयहरूको प्रगति अवस्थाबारे प्रस्तुतीकरण गरिएको थियो भने बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि पूर्वाधारयुक्त विद्यालय निर्माणको अवस्थासमेत समीक्षा गरिएको थियो।

छलफलपछि आगामी आर्थिक वर्षभित्र सातै प्रदेशमा अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने निष्कर्ष निकालिएको छ। जसअनुसार भौतिक पूर्वाधार निर्माण सहरी विकास तथा भवन निर्माण विभागले गर्ने,सञ्चालन कार्यढाँचा शिक्षा मन्त्रालयले तयार गर्ने, स्वास्थ्य सेवा सहयोग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराउने र समन्वयको जिम्मेवारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लिनेछ।

कार्यक्रम कार्यान्वयनका लागि अवधारणा पत्र तयार गर्न प्राविधिक समिति गठन गरिएको छ। जसले अटिजम तथा अन्य अपाङ्गता भएका विद्यार्थीका लागि सञ्चालित कार्यक्रमलाई थप गुणस्तरीय बनाउँदै नमुना विद्यालय स्थापनालाई तीव्रता दिनेछ।

प्रकाशित: २० चैत २०८२ ६:३१ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast