मतदाता नामावली संकलन फेरि सुरु हुँदै

हिमाल प्रेस २२ चैत २०८२ ६:२४ | Sunday, April 5, 2026
14
SHARES
मतदाता नामावली संकलन फेरि सुरु हुँदै

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित मतदाता नामावली संकलन आजदेखि  सुरु गरिने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन स्थगन गरेको थियो। यही चैत १८ गत बसेको आयोगको बैठकले मतदाता नामावली संकलन सुरु गर्ने निर्णय गरेको हो।

स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ। आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ। आयोगले मतदाता नामावली संकलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

प्रकाशित: २२ चैत २०८२ ६:२४ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast