इरानसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति भान्स पाकिस्तानमा

हिमाल प्रेस २८ चैत २०८२ १२:०६ | Saturday, April 11, 2026
8
SHARES
इरानसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति भान्स पाकिस्तानमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स। तस्बिर : एपी/रासस

काठमाडौँ- इरानसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन्। उनीसँगै स्टिभ विटकोफ र जारेड कुस्नरले इरानसँगको वार्तामा भाग लिन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

इस्लामाबादमा अमेरिका र इरानबीच हुन लागेको वार्तालाई लिएर सुरक्षा व्यवस्था उच्च तुल्याइएको छ। वार्ताका निम्ति इरानी प्रतिनिधिमण्डल यसअघि नै इस्लामाबाद पुगिसकेको छ। इरानपछि अमेरिकाका वार्ताकारहरू पनि पाकिस्तानको इस्लामाबाद पुगेका हुन्।

इरानी वार्ता टोलीका नेता मोहम्मद बाकर कलिबाफ छन्। पाकिस्तानले इस्लामाबादमा हुन लागेको शान्तिवार्तामा आफ्नो भूमिकालाई लिएर उत्सव मनाइरहेको छ। अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्दै शान्ति स्थापनामा सहयोग गर्न पाकिस्तानले दुई हप्ताको युद्धविरामका निम्ति मध्यस्थता गरेको थियो।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार उपराष्ट्रपति भान्सले केही घण्टाभित्र इस्लामाबादमा सुरु हुन लागेको वार्ता अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

वार्ता प्रक्रियासँग परिचित स्रोतका अनुसार युद्धविराम सुनिश्चित गर्न केही दिन वार्ता आवश्यक पर्ने आकलन गरिएको छ। साथै पाकिस्तानका अधिकारीहरू भान्सलाई अझ केही समय देशमै बस्न मनाउन सकिने आशावादी देखिएका छन्।

इरानी पक्षले भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफप्रति निकै कम विश्वास राख्छ। विटकोफले यसअघि इरानसँग भएका वार्ताका चरणहरूको नेतृत्व गरेका थिए। ती वार्ताहरू अमेरिकाले इरानमाथि आक्रमण गरेपछि छोट्याइएका थिए।

इरानका तर्फबाट वार्ताकार, विज्ञ, सञ्चारकर्मी तथा सुरक्षाकर्मीसहित ७१ जना सदस्य रहेको सरकारी सञ्चारमाध्यम तस्निम न्युज एजेन्सीले जनाएको छ। इरान र अमेरिकाबीचको वार्ता जटिल र अत्यन्त संवेदनशील भएकाले इरानी टोलीमा मुख्य वार्ताकार मात्र नभई आवश्यक परामर्शका लागि प्राविधिक तथा विशेषज्ञ समितिहरू पनि समावेश गरिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभए अझ तीव्र सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।

लेबनान र इजरायलका कूटनीतिज्ञहरू आगामी साता वासिङ्टन डीसीमा युद्धविरामबारे छलफल गर्न भेट्ने तयारीमा छन्। अमेरिका–इरान युद्धविरामको सुरुआती दिनहरू लेबनानका लागि अत्यन्त घातक बनेका छन्।

अमेरिकी गुप्तचर स्रोतहरूले चीनले इरानलाई नयाँ वायु रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरेको दाबी गरेका छन्। तर वासिङ्टनस्थित चिनियाँ दूतावासले यसलाई असत्य भनेको छ। युद्धका कारण इन्धनको मूल्य बढ्दा अमेरिकामा उपभोक्ता मूल्य वृद्धि तीव्र भएको छ। मुद्रास्फिति ट्रम्पको कार्यकालकै उच्च स्तरमा पुगेको बताइएको छ।

प्रकाशित: २८ चैत २०८२ १२:०६ | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast