फाइल तस्बिर : एएफपी/रासस
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सरकारले लगाएको फौजदारी अभियोग आधारहीन भएको प्रमाणित भएको बताएका छन्।
आज १३ दिनपछि रिहा भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ओलीले सरकारको कदमलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण भन्दै फौजदारी अभियोगसमेत आधारहीन भएको बताएका हुन्।
उनले लेखेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।’
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले भने, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल, नेता तथा सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु।’
त्यस्तै, उनले सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गरे। प्रहरी नियन्त्रणमा रहँदा प्राप्त व्यवहारप्रति पनि उनले धन्यवाद दिएका छन्। ‘प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु,’ उनले उल्लेख गरेका छन्।
रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा घाइते भएकाहरूप्रति चिन्ता व्यक्त गर्दै ओलीले राज्यलाई उपचार खर्च बेहोर्न आग्रह गरेका छन्। ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ,’ उनले भने।
यस्तो छ उनको भनाइ




