अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प।
काठमाडौँ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा नाकाबान्दी गर्ने धम्की दिएका छन्।
पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने विषयमा भएको वार्ता असफल भएपछि ट्रम्पले अब अमेरिकाले स्ट्रेट अफ होर्मुजबाट आउने सबै जहाजको नाकाबन्दी गर्ने चेतावनी दिएका हुन्।
इस्लामाबादमा शनिबार अबेर रातिसम्म चलेको अमेरिका र इरानबीचको वार्ता विनानिष्कर्ष टुंगिएको थियो। आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भने,‘कुनै सम्झौता भएको छैन र हामी अमेरिका फर्कँदै छौँ।’
पाकिस्तानको आग्रहमा अमेरिका र इरान दुई हप्ताको युद्धविरामका लागि सहमत भएका थिए र दुवै देशका प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामाबाद पुगेका थिए।
राष्ट्रपति ट्रम्पले होर्मुजमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिर निस्कने हरेक जहाजलाई नाकाबन्दी सुरू गर्न लगाएको बताएका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा उनले लेखेका छन्,‘हामीले हाम्रो जलसेनालाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा टोल (शुल्क) तिर्ने हरेक जहाजलाई रोकेर खानतलासी गर्न निर्देशन दिएका छौँ।’
उनले अमेरिकी नौसेनाले स्ट्रेटमा इरानले ओछाएका ‘माइन’ नष्ट गर्ने बताएका छन्। उनले भनेका छन्,‘जसले अवैध शुल्क तिर्छ, उसलाई खुला समुद्रमा सुरक्षित बाटो भेटिने छैन। हाम्रो जहाजमाथि गोली चलाउने कुनै पनि इरानीलाई छोड्ने छेनौँ।’
अर्को एक पोस्टमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज खोल्ने वाचा गरेको तर जानाजानी त्यसो नगरेको आरोप लगाए। उनले भने,‘यसकारण विश्वभरका धेरै मानिस र देशहरूले चिन्ता, अव्यवस्था र कष्ट भोग्नुपरेको छ।’
इस्लामाबाद वार्ताको सन्दर्भमा उनले उपराष्ट्रपति जेडी भेन्स, विशेष दूत स्टिभ विटकफ र वार्ताकार जेरेड कुश्नरले आफूलाई पूर्ण जानकारी दिएको बताए। साथै उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र उनको टोलीको प्रशंसा गरेका छन्।




